योगी वा भिक्षुबाहेक अरूले समृद्धिको चाहना गर्नु अपराध वा पाप हैन । झन्, अचेल त सबैतिर समृद्धिकै चर्चा हुन्छ । राजनीति गर्नेहरू समृद्धिको रट लगाएर थाक्तैनन् । नीति निर्माताको ध्यान पनि समृद्धि हासिल गर्नैमा केन्द्रित हुन्छ । सोझै समृद्धिको कुरा नगर्नेले पनि गरिबी निवारणलाई ’गायत्री मन्त्र’ बनाएका हुन्छन् । समृद्धिको सपना विश्वव्यापी बनेको छ ।
भारत र चीनको राजनीतिक नेतृत्व अहिले समृद्धिको अभियानमा लागेको छ । चीनका बारेमा उति थाहा हुँदैन । भारतकै बारेमा पनि अब मूलधारका भनिने सञ्चार माध्यममा सरकार र अझ प्रधानमन्त्री नरेन्द्र मोदीका विरुद्ध लेख्न बोल्न बन्द भएको छ रे ।
वैकल्पिक माध्यम र एकाध पत्रिकाहरू भने अझै ओझेलमा परेका समाचार देखाउँदै, सुनाउँदै र छाप्तै छन् । त्यस्तै एउटा समाचार केही दिन यता निकै चर्चामा छ । नेपालका लागि शिक्षा र चेतावनी हुनसक्ने त्यो समाचार बैंक ठगीको हो ।
भारतको पन्जाब नेसनल बैंकबाट निरव मोदी र मेहुल चोक्सी नामका दुई अर्बपति व्यापारीले लिएको ११ हजार ३०० करोड ऋण नउठेपछि सेन्ट्रल ब्युरो अफ इन्भेटिगेसन (सीबीआई)ले छानबिन थालेको छ । उनलाई पक्राउ पुर्जी जारी गरिएको छ । तर, ऋण नतिर्ने व्यापारी निरव मोदी भने प्रधानमन्त्री नरेन्द्र मोदीको डाभोस, स्विटजरल्यान्ड भ्रमणमा सँगै छन् । डाभोसमा खिचिएको सामूहिक तस्बिरमा निरव मोदी पनि देखिएका छन् ।
भारतीय पत्रकार रवीशकुमारले प्राइम टाइम नामको टेलिभिजन कार्यक्रममा निरव मोदीको कथासँगै जोडेर उत्तरप्रदेशको महमुदावादका एकजना किसान ज्ञानचन्दको व्यथाको पनि वर्णन गरेका छन् । ज्ञानचन्दले एउटा वित्तीय संस्थाबाट ट्य्राक्टर किन्न लिएको ऋणको किस्ता चुक्ता गर्न नसक्ता ज्यानै गुमाउनु परेको समाचार केही समय पहिले सञ्चार माध्यममा आएको थियो ।
ज्ञानचन्दले लिएको ऋणमध्ये ९० हजार रुपियाँ तिर्न बाँकी रहेछ । वित्तीय संस्थाका कर्मचारीले ट्य्राक्टर खोसेर लैजान खोजेपछि ज्ञानचन्दले विरोध गरेछन् । त्यही क्रममा ट्य्राक्टरले कुल्चेर ज्ञानचन्दको हत्या गरियो । रवीशकुमारका अनुसार फाइनान्स कम्पनीका कर्मचारीलाई कुनै कारबाही भएको छैन ।
अर्को उदाहरण रवीशले दिएका छन् पन्जाबको शाहीबागका ३६ वर्षीय जसवन्त सिंहको दिएका छन् । यी किसानले बैंकबाट लिएको १० लाख रुपियाँ ऋण तिर्न नसकेपछि ५ वर्षीय बालक छोरालाई सँगै लिई नहरमा हाम्फालेर आत्महत्या गरे ।
यस प्रकारका घटनालाई शासक र व्यवसायीले हेर्ने दृष्टिकोण समाजका अरू सामान्य सदस्यसँग मिल्दैन । भारदार (शासक) र साहुजीहरू ( व्यवसायी)का आँखामा ज्ञानचन्द र जसवन्तहरू मारिनु वा मर्नु सामान्य हुन्छ भने निरव मोदी ११ हजार ३०० करोड नतिर्नु पनि उत्तिकै सामान्य मानिन्छ ।
भारतमा मात्र यस्तो हुने हैन । नेपालका सबैजसो ठूला भनिएका व्यापारी घरानाले (कर्पोरेट सायद भन्न नमिल्ला कि ?) बैंकहरूलाई ठूलो रकम तिर्न बाँकी रहेको खासखुस सुनिन्छ । एकाधको त पूरै वा आंशिक ऋण माफी गराउन प्रधानमन्त्रीकै तहबाट हस्तक्षेपसमेत हुनेगरेको छ । यस्तै, नेपाली अलि जीवट भएकाले आत्महत्यै त सितिमिति गर्दैनन् तर उठीवास भने धेरै गरिबको भएको छ ।
भ्याटको नक्कली बनाउने करचोरहरूलाई कारबाही गर्नुको साटो संसद्मा पुर्याउन कुनै पनि ठूला दलले हिचकिचाएनन् । यस्तै, कृषि विकास बैंकले निकाल्ने लिलामी सूचनामात्र हेर्ने हो भने पनि साना किसान कसरी बैंकको धरापमा पर्छन् भन्ने स्पष्टै हुन्छ । ऋण लिएर नतिरेपछि कारबाही हुनु अस्वाभाविक हैन । तर, सम्पत्ति भएर पनि नतिर्ने ठूला ठगलाई केही कारबाही नगर्ने परन्तु बेइमानीभन्दा प्राकृतिक वा अन्य दुर्भाग्यका कारण रिन तिर्न नसक्ने गरिबको ने उठीवास लगाउने अभ्यासलाई न्यायोचित भन्न त पक्कै सकिँदैन ।
भूमिगत कालो धनलाई बाहिर निस्कने मौका दिनुपर्छ भनेर प्रधानमन्त्री नियुक्त नहुँदै केपी शर्मा ओलीले काला धनका मालिकहरूको हौसला बढाएका छन् । त्यही बाटामा उनी अगाडि बढे भने आउने दिनमा पनि ठूला व्यापारीको ऋण माफी हुने र साना किसान वा व्यवसायीको उठीवास लाग्ने क्रम रोकिनेछैन ।
नेपाल कम्युनिस्ट पार्टी (एमाले)को एकल सरकार लामो समयपछि बन्दैछ । विसं २०५१ सालमा एमालेको अल्पमतको एकल सरकार बनेको थियो । त्यतिबेला एउटा घोटाला भएको थियो एलसी काण्ड नामको । धनी व्यापारीले गरिबहरूको नाम राखेर बैंक ठगेका थिए । एमाले निकट केही व्यापारी जेल पनि परेका थिए । नक्कली भ्याट बिल प्रकरण पनि एमालले नेता भरतमोहन अधिकारी अर्थमन्त्री हुँदा नै सामसुम पारिएको थियो । यसैले कतै यता पनि निरव मोदीहरू निस्कलान् कि भन्ने डर हो । सम्पत्ति शुद्धीकरण गर्नुपर्छ भनेर सल्लाह दिनेहरूकै कुरा अब पनि सुने प्रधानमन्त्री ओलीले भने हुने पनि त्यही हो ।
आशा गरौँ, थोरै धनीलाई पोस्न धेरै गरिबलाई ठग्ने अहिलेको अभ्यास अब दोहोरिनेछैन । भारतका प्रधानमन्त्री नरेन्द्र मोदीसँग भावभंगीमा (केमेस्ट्री) मिल्यो भन्दैमा नेपालका प्रधानमन्त्री ओली पनि मोदीपथमै लाग्नुपर्छ भन्ने त छैन नि !
एउटा टेलिभिजन कार्यक्रममा सुनेको - पैसा घरमा राखौँ नरेन्द्र मोदीको डर, बैंकमा राखौँ निरव मोदीको डर !