site stats
बाह्रखरी :: Baahrakhari
खेल
Global Ime bankGlobal Ime bank
पन्छाउन सक्ला नेपालले क्यानडालाई ?

काठमाडौं । आईसीसी विश्व क्रिकेट लिग डिभिजन टु अन्तर्गत लिग चरणको अन्तिम खेलले नेपालको भविष्य निर्धारण गर्दैछ । नेपालको अगाडिको ढोका खोल्नका लागि लिग चरणको अन्तिम खेलमा क्यानडालाई जित्नैपर्ने हुन्छ ।

नामिवियामा जारी डिभिजन टु को अन्तिम खेल नेपालका लागि फाइनलभन्दा बढी महत्वपूर्ण छ । किनभने बुधबार हुने खेलमा क्यानडालाई हराए नेपाल डिभिजन टु को फाइनलमा मात्रै होइन, विश्वकप छनोटमा पनि प्रवेश गर्नेछ । यदि क्यानडासँग पराजित भए नेपाली क्रिकेट फेरि पछि धकेलिन सक्छ । त्यसैले नेपालसामु क्यानडालाई पराजित गर्दै अघि बढ्ने सुनौलो अवसरको साथै चुनौती पनि छ ।

ब्याटिङ सुधार्न आवश्यक
नेपाली क्रिकेट टिमले नामिविया प्रस्थान गर्दासम्म पनि सोचेको थिएन, नेपालको ब्याटिङ यसरी खस्किन्छ । जारी डिभिजन टु मा नेपालले लिग चरणको ४ खेल खेलिसकेको छ, जसमा ३ खेलमा जित र १ खेलमा हार ब्यहोरेको छ । 

जारी प्रतियोगितामा बलिङ उत्कृष्ट भइरहेको बेला ब्याटिङ भने बिर्सनलायक बनेको छ । पहिलो खेलमा नेपालले आयोजक नामिवियासँग खेल खेलेको थियो, जुन खेलमा नामिवियाले दिएको १३९ रनको झिनो चुनौती पूरा गर्न पनि नेपालले आफ्नो ९ विकेट गुमाएको थियो ।

दोस्रो खेलमा नेपालले कमजोर मानिएको ओमनसँग नसोचेको ६ विकेटको हार ब्यहोर्नुपर्यो । १३८ रनमै अलआउट भएको नेपाल आफ्नो दोस्रो खेलमा ब्याटिङकै कारण ओमनको सिकार बन्यो ।

तेस्रो खेलमा बलियो प्रतिद्वन्दी मानिएको युएईसँग नेपालको भेट भयो । बलिङ निकै किफायती गरेको नेपालको ब्याटिङ पनि सुध्रिएन । तर, खेल भने नेपालले ४ विकेटले युएईलाई हराउन सफल भयो । यो खेलमा भने कप्तान पारस खड्काले अर्धशतकीय पारी खेले ।

चौथो खेल नेपालको केन्यासँग थियो, जुन खेलमा विगतकै ब्याटिङ लाइन हुने त होइन ? नेपाली खेलाडी पनि चिन्तित बनेका थिए । १७८ रनको चुनौति पछ्याउँदै ब्याटिङ गरेको नेपालले ७ विकेटको क्षतिमा लक्ष्य पूरा गर्यो । यो खेलमा पनि नेपालका कप्तान पारस बाहेक अन्य अग्रपंक्तिका ब्याट्सम्यान सस्तैमा आउट भए । कुनै समय हार नजिक रहेको नेपालको इनिङ्स युवा खेलाडी आरिफ शेख र यही प्रतियोगिताबाट डेब्यु गरेका रोहित कुमार पोडेलले सम्हाल्दै जित दिलाए ।

लगातार चार खेलमा निराशाजनक ब्याटिङ गरेको नेपालले क्यानडा विरुद्ध पनि यस्तै प्रदर्शन त गर्ने होइन ? 

नेपाली क्रिकेट टिमका पूर्व कप्तान तथा यु–१९ का मुख्य प्रशिक्षक विनोद दास नामिवियाको विकेट कन्डिसन फरक भएका कारण नेपाली ब्याट्सम्यान चल्न नसकेको बताउँछन् । विनोद भन्छन्, “हामी सबैलाई ब्याटिङ राम्रो भएन भन्ने लाग्छ । तर, त्यहाँको विकेट तथा मौसम कन्डिसन फरक छ । त्यसैले गर्दा नेपालमात्रै हैन, अरु टिमले पनि राम्रो ब्याटिङ गर्न सकेको छैन । हुन सक्छ त्यहाँको कन्डिसनले गर्दा पनि रन बनाउन सकेको होला । तर, हामी ४ वटा खेलमा ३ खेलमा जित हात पारेको छौं ।”

नेपालको अगाडिको यात्रा क्यानडासँगको खेलले निर्धारण गर्नेछ । क्यानडालाई पराजित गर्न नेपाली ब्याट्सम्यान चल्नैपर्छ । यसमा पूर्वकप्तान विनोद पनि सहमत छन् ।
उनी भन्छन्, “नेपाल कुनै पनि टिमलाई हराउने क्षमता राख्छ । नेपाल डिभिजन वानको टिम हो । हामी आफ्नो क्षमता अनुसार खेल्यौं भने क्यानडालाई हराउन सक्छौं । त्यसका लागि हामीले ब्याटिङ सुधार्नैपर्छ ।”

हारे के हुन्छ ?
जारी डिभिजन टु को शीर्ष स्थानमा क्यानडा रहेको छ । क्यानडाको ४ खेलबाट ३ खेलमा जित र एक खेलमा हारसहित ६ अंक रहेको छ भने नेपालले पनि समान खेलबाट ३ मा जित र एक खेलमा हार ब्यहोर्दै ६ अंक नै छ ।

बुधबार हुने यी दुई टिमको विजेता डिभिजन टु को फाइनलमा प्रवेश गर्दै विश्वकप छनोटमा पुग्नेछ भने पराजित टोली डिभिजन टु मै रहने निश्चित जस्तै छ । लिग चरणको अन्तिम अन्य खेलमा नामिवियाले युएईको सामना गर्दैछ । यो खेलले पनि डिभिजन टु को फाइनलमा पुग्ने टिमको छिनोफानो गर्नेछ ।

जारी प्रतियोगितामा नेपालको नेट रनरेट –०.१५८ रहेको छ । यद्यपि युएईको समान ४ खेलबाट २ खेलमा जित र २ खेलमा पराजितसहित ४ अंक छ । युएईको नेट रनरेट नेपालको भन्दा राम्रो छ । युएईको १.२२१ रहेको छ । यता, आयोजक नामिवियाको पनि नेट रनरेट नेपालको भन्दा राम्रो छ । त्यसैले क्यानडासँग नेपाल पराजित भए डिभिजन टु को शीर्ष दुईभित्र पर्दै विश्वकपमा पुग्ने सम्भावना यहीँ अन्त्य हुने सम्भावना उतिकै छ ।

पूर्वकप्तान दास क्यानडा विरुद्ध सबै खेलाडीले राम्रो प्रदर्शन गर्नुपर्ने बताउँछन् । “नेपालको हरेक खेलमा केही खेलाडीले राम्रो गरेका छन्, चाहे त्यो सोमपाल होस्, या पारस, या सन्दीप लामिछाने नै किन नहुन् । सोमबार केन्या विरुद्धको खेलमा दुई युवा खेलाडी रोहित र आरिफले राम्रो ब्याटिङ गरे,” विनोद भन्छन् । 

उनले थपे, “सबै खेलाडीले आफ्नो रोलहरू विस्तारै प्ले गर्दैछन्, यो प्रतियोगितामा । क्यानडा विरुद्ध पनि नयाँ हिरोहरू देख्न पाइएला । अहिलेसम्म ज्ञानेन्द्रको ब्याटबाट रन देख्न पाइएको छैन । शरदले पनि ठूलो इनिङ्स खेलेका छैनन् ।”

नेपाल भर्सेस क्यानडा
क्यानडा र नेपाल अहिलेसम्म २ पटक आमनेसामने भएका छन् । दुई खेलमध्ये क्यानडाले पहिलो खेलमा जित हात पारेको छ भने एउटामा नेपालले बाजी मारेको छ । 
सन् २०१४ मा विश्वकप छनोटमा नेपाल क्यानडासँग १२ रनले पराजित भएको थियो । जित नजिक पुगेर पनि पराजित भएको नेपाल क्यानडासँगको पहिलो भेटमा नै त्यतिबेला निरिह बनेको थियो ।

तर, सन् २०१५ मा नामिवियामै सम्पन्न आईसीसी विश्व क्रिकेट लिग डिभिजन टु मा नेपालले क्यानडालाई ७ विकेटले पराजित गर्दै पहिलो भेटमा पराजित भएको बदला पनि लिएको थियो । टस जितेर पहिले ब्याटिङ गरेको क्यानडाले ४९.२ ओभरमा सबै विकेटको क्षतिमा ११४ रनमात्रै बनाएको थियो । नेपालका लागि त्यसबेला करण केसीले उत्कृष्ट बलिङ गरेका थिए । करणले १० ओभर बलिङ गर्दै २ मेडन राखेर २६ रन खर्चेर ५ विकेट लिएका थिए । सोमपाल कामीले पनि त्यसबेला क्यानडालाई सस्तैमा समेट्ने क्रममा २ विकेट लिएका थिए ।

त्यसबेला नेपाललाई जित दिलाउन कप्तान पारस खड्काले उत्कृष्ट ब्याटिङ गरेका थिए । कप्तान खड्काले ७७ रन बनाएका थिए । त्यस्तै, ज्ञानेन्द्र मल्लले अविजित ३२ रन बनाएसँगै नेपालले क्यानडामाथि शानदार जित हात पारेको थियो । विगतको प्रदर्शन हेरेर क्यानेडीयन खेलाडी पनि कप्तान पारस र ज्ञानेन्द्रबाट सजग भएको हुनुपर्छ । 

यो पटक क्यानडालाई ठूलो अवसर छ विश्वकप छनोटमा प्रवेश गर्ने । त्यो मौका गुमाउन कुनै पनि हालतमा चाहँदैन । तर, नेपाल पनि क्यानडालाई रोक्न तयार छ ।

पूर्वकप्तान विनोद नेपालले जित्नेमा विश्वस्त छन् । भन्छन्, “क्यानडाले रन बनाइरहेको छ भने रन खाइरहेको पनि छ । कुनै पनि खेल ठूलो अन्तरले जितेको छैन । सत्य के हो भने, कुनै खेल सजिलो भएको छैन यो प्रतियोगितामा । हुन सक्ला, क्यानडाले खेलेको मैदानमा विकेट अलिक राम्रो थियो ।”

उनी थप्छन्, “क्यानडाले राम्रो खेलेको छ । उनीहरू अलिक बलियो देखिएका छन् । तर, सोमबार जुन नामिविया विरुद्ध खेलेको छ, त्यति राम्रो प्रदर्शन छैन । नेपाली ब्याट्सम्यान भन्दा राम्रो देखिएका छन्, क्यानडाका खेलाडीहरू । तर उनीहरूले जुन विकेटमा खेलेका छन्, त्यो नेपालसँग खेल्दा एउटै हुन नसक्ला ।”

क्यानडालाई पराजित गर्दै डिभिजन टु को शीर्ष दुईमा परे नेपालले इतिहास कोर्नेछ तर, क्यानडासँग पराजित भए डिभिजन टुमै सीमित रहनेछ ।

प्रकाशित मिति: मंगलबार, फागुन १, २०७४  १५:५५
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Nepal Life Insurance banner adNepal Life Insurance banner ad
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
Hamro patroHamro patro