.jpeg)
धनगढी । प्रदेश नम्बर ७ मा नेपाली कांग्रेस संसदीय दलको नेताका लागि ६ जना प्रदेशसभा सदस्य आकांक्षी देखिएका छन् । वाम गठवन्धनले संसदीय दलको नेताको रुपमा त्रिलोचन भट्टलाई मुख्यमन्त्री बनाउने लगभग निश्चित भए पनि कांग्रेसले दलको नेता चयन गर्न सकेको छैन ।
प्रदेश सभा सदस्यमध्ये डाक्टर रणवहादुर रावल, भरत खड्का, कर्ण मल्ल, गोविन्द बोहोरालाई मुख्य दावेदारका रुपमा हेरिएको छ । त्यसबाहेक डिल्लीराज पन्त र यज्ञराज पाठक पनि दलको नेताका लागि प्रयासरत छन् ।
कतिपय नेताले दलको नेताका लागि सहयोग गर्न आग्रह गर्दै प्रधानमन्त्री तथा पार्टी सभापति शेरबहादुर देउवा पत्नी आरजु राणा देउवालाई पनि भेट गरिसकेका छन् । आरजुले पनि आफू निकटका व्यक्तिलाई दलको नेता बनाउन केन्द्रीय प्रतिनिधिलाई दबाब दिएको बताइएको छ ।
खड्का आफु ४४ वर्षदेखि राजनीतिमा अनवरत रुपमा लागेकोले संसदीय दलको नेता आफु हुनुपर्ने बताउँछन । “रहर र ईच्छाभन्दा पनि राम्रो काम ईमान्दारीपूर्वक गर्नका लागि मैले दावी गरेको हुँ,” उनले भने, “यसअघिको अनुभव भएको र सशक्त प्रतिपक्षको भुमिका निर्वाह गर्न सक्ने क्षमता मसँग छ । सवैले मलाई संसदीय दलको नेता बनाउनेछन् भन्ने आशा छ ।”
डा. रावल पनि आफ्नो नाममा सहमति जुट्नेमा विश्वस्त देखिन्छन् ।
“कसैले पनि विरोध गर्ने छैनन् । सबै सदस्यहरुले त्यही प्रतिवद्धता जनाउनुभएको छ,” रावलले भने, “यसमा सवै साथीहरुले अप्रत्यक्ष रुपमा मलाई नै सहयोग गर्ने भनेका छन । म नै संसदीय दलको नेता हुन्छु भन्नेमा ढुक्क छु ।”
डडेल्धुरा जिल्ला सभापति मल्ल पनि जिल्ला हाँकेका कारण आफु संसदीय दलको नेता हुने बताउँछन । “मैले दुई कार्यकाल जिल्ला हाँकेको अनुभव छ । सवैले मेरो नेतृत्व हेरेका छन र पत्याएका छन्,”उनले भने, “प्रदेश सभाका सबै सदस्यमध्ये जिल्ला सभापति म एक्लै भएकोले मलाई नै संसदीय दलको नेता बनाउँछन । यो सवैको सहमतिमै हुन्छ ।”
डडेल्धुराका प्रदेशसभा सदस्य गोविन्द बोहरासँगै कैलालीका प्रदेशसभा सदस्य डिल्लीराज पन्त र कञ्चनपुरका प्रदेशसभा सदस्य यज्ञराज पाठकले पनि संसदीय दलको नेतामा आफ्नो दाबी गरिरहेका छन ।
१४ जना प्रदेश सभा सदस्य रहेको प्रदेश नम्बर ७ कांग्रेसमा संसदीय दलको नेता चयनका लागि कांग्रेसले केन्द्रीय सदस्य एनपी सावदलाई प्रतिनिधि खटाएको छ ।