काठमाडौं । आफ्नो दाइसहित १३ जना नेपाली कामदारलाई साउदीको एउटा कम्पनीले २ महिनादेखि दैनिक १४ घण्टा काममा लगाएर तलब पनि नदिएको र खान पनि नदिएको भन्दै काभ्रेका सोनम लामाले वैदेशिक रोजगार विभागमा उजुरी दिए । १३ जनाले नै कम्पनीबाट उद्धार गरिदिनुपर्यो भन्दै उनलाई फोन गरेको उनले बाह्रखरीलाई सुनाए ।
सोनमसँगै रहेका अर्का एकजनाले साउदीमा रहेका अन्य केही साथीलाई पुरुष कामदारलाई कोठामै थुनेर राखेको तथा महिला कामदारलाई यौन शोषण गरेको गुनासो आएको समेत बताए ।
यस्तैगरी साउदीमा काम गरेपनि तलब नपाएको, साहुले दुव्र्यवहार गरेको, काम गर्ने कम्पनी बन्द भएर अलपत्र परेको, तोकेभन्दा धेरै काम गर्नुपरेको आदि समस्या र गुनासोहरु धेरै छन् । कतिपय कामदारलाई भेडासँगै थुनेर राख्ने गरेको गुनासोसम्म विभागमा भेटिएको छ ।
पछिल्लो समय साउदी अरबमा आर्थिक संकट बढ्दै जाँदा नेपाली कामदारले पनि समस्या भोग्दै गएका छन् । साउदी अरबमा गएका नेपाली कामदार समस्यामा परेको भन्दै वैदेशिक रोजगार विभागको कार्यालयमा उद्धारका लागि निवेदन पर्ने गरेको विभागका प्रवक्ताले बताएका छन् ।
साउदीमा रोजगारी गुम्दै
नेपाली कामदारका लागि पहिले मलेसियापछि राम्रो गन्तव्य मानिएको साउदी अरबको रोजगारी संकटमा पर्ने अवस्था आएको छ । साउदी सरकारले विकास निर्माणको बजेट कटौतीसहितको भिजन २०३० सार्वजनिक गरेसँगै साउदीमा रोजगारीको अवसर कम हुँदै गएको छ । गत आर्थिक वर्षकै आँकडालाई हेर्ने भने पनि साउदी अरेबिया जाने नेपाली कामदारको संख्या मलेसिया र कतारको तुलनामा धेरै पछाडि रहेको छ । गत आर्थिक बर्षमा कतारमा १ लाख १३ हजार ६ सय ९६, मलेसियामा ९४ हजार ४ सय २६ जना गएका छन् भने साउदीमा जम्मा ७१ हजार ९ सय ४८ जना गएका छन् । केही वर्षपहिले दोश्रो र अघिल्लो वर्ष तेश्रो नम्बरमा पुगेको साउदी अरेबिया अहिले चौथोमा झरेको छ ।
त्यस्तै यो आर्थिक वर्षको ६ महिनाको संस्थागततर्फको तथ्याङ्क मात्रै हेर्ने हो भने पनि साउदी अरब जाने नेपाली कामदारको संख्या निरन्तर घट्दै गएको देखिन्छ । यो अवधिमा साउदी अरेबीया जाने नेपालीको संख्य २२ हजार ३ सय ५५ मात्रै रहेको छ । जबकी यही अवधिमा यूएई जाने २६ हजार ८ सय १८, कतार जाने ४५ हजार ६५ तथा मलेसीया जाने ५८ हजार ६ सय ५९ रहेका छन् ।
साउदीमा रोजगारी घट्नुका कारण
साउदी सरकारले २०३० भित्र देशको १२ प्रतिशत बेरोजगारीलाई पाँच प्रतिशतमा झार्ने निर्णय गरेसँगै विदेशी कामदारमा त्यसको प्रत्यक्ष प्रभाव पर्न गएको छ । पछिल्लो समय साउदीमा सञ्चालित बहुराष्ट्रिय कम्पनीले विदेशी कामदार कटौती गरिरहेको वैदेशिक रोजगार विभागका प्रवक्ता मोहन अधिकारीले बताए । साउदी सरकारले पछिल्लो समयमा लामो समयदेखि सञ्चालन भइरहेका विकास निर्माणसम्बन्धि बहुराष्ट्रिय कम्पनी धमाधम बन्द गरेका कारण पनि रोजगारी गुम्न पुगेको उनी बताउँछन् ।
प्रवक्ता अधिकारीले भने, “साउदीमा धेरै उद्योगहरु बन्द हुँदै गर्दा माग घट्नु तथा मलेसियामा पुनः आकर्षण बढ्नुले साउदी जानेको संख्या निरन्तर घट्दै गएको हो ।” त्यस्तै कामदार घट्नुको अर्को कारण साउदीमा विदेशि कामदारले भोग्नुपरेको समस्या पनि हो । “विभागमा अहिले सबैभन्दा धेरै गुनासो साउदीका समस्या छन । खान नदिएको, कामबाट निकालेको, कोठामा थुनेर राखेको, दुव्र्यवहार गरेको लगायतका गुनासोहरु दिनहुँ आइरहन्छन् जसका कारण पनि त्यहाँ जानेको संख्या घट्दै गएको छ ,” प्रवक्ता अधिकारीले भने ।
त्यस्तै साउदी सरकारले आफ्नो देशका युवाको बेरोजगारी घटाउन हरेक क्षेत्रका काममा अनिवार्य रूपमा १० प्रतिशत कामदार आफुनै देशको हुनुपर्ने नियम लागू गरेका कारण पनि त्यहाँ विदेशी कामदारको माग बिस्तारै घट्न गएको पाइन्छ ।
पछिल्लो समय साउदी सरकारले केहि क्षेत्रमा विदेशी कामदारका लागि प्रतिबन्ध लगाएपछि झनै रोजगारी कम भएको देखिन्छ । त्यस्तै सबै कम्पनीहरुमा म्यानेजर, एकाउन्टेन्ट तथा रिसेप्सनिस्ट पनि साउदीकै हुनुपर्ने नियमका कारणले पनि नेपाली श्रमिकले पाएका सहज कामहरु समेत गुम्न पुगेका हुन् । साथै नेपालले रोजगारदाता कम्पनीसँग सहमति नगरीकनै फ्री भिसा तथा टिकटको निर्णय गरेकाले पनि साउदीको रोजगारी संकटमा परेको मेनपावर व्यवसायीको भनाइ छ ।