site stats
बाह्रखरी :: Baahrakhari
विशेष
Global Ime bankGlobal Ime bank
Nabil Bank Banner adNabil Bank Banner ad
गीत गाउने अवसर हो तिज
Tiktok banner adTiktok banner ad
लोकदोहोरी गायिका देवी घर्तीमगरले गीत गाउन थालेको १२ वर्ष भयो । गीत रेकर्ड नगरेको दिन उनका लागि कमै होलान् । उनले पाँच हजार गीत गाइसकेकी छन् । कला–संस्कृतिलाई असर गर्ने गीत आफूले नगाएको दाबी गर्ने घर्ती आफूलाई चित्त नबुझे नराम्रा गीत नगाउन पनि कलाकार स्वतन्त्र रहेको बताउँछिन् । गायिका घर्तीसँग तिजको सेरोफेरोमा केन्द्रित रहेर गरिएको कुराकानीः   
तिजमा कतिको व्यस्त हुनुहुन्छ ? 
व्यस्त नै छु । कार्यक्रमहरु भइरहेका छन् । बोलाउनुभएको ठाउँमा भ्याएसम्म गइरहेको छु । भर्खरैमात्र चितवनको कार्यक्रम सकेर आएको छु । 
यो वर्ष तिजका गीत कतिवटा गाउनुभयो ? 
आफ्नो र अरुको गरेर २० वटा गाएँ । 
आफ्नोचाहिँ कति वटा गाउनुभयो ?
आफ्नो त एउटामात्रै हो । राजु ढकाल र मेरो नाममा ‘माइतीले नौगेडी लाइदिए’ बोलको गीत हो । एकनारायण भण्डारीको शब्द र लय संकलनमा तयार पारिएको गीत हो । सबैले मन पराइरहनु भएको छ । 
पछिल्ला वर्षहरुमा आफ्नोभन्दा अरुको गीत गाउने प्रचलन बढेर गयो नि, किन ?
आफ्नो पनि गाइरहेका हुन्छौं । हामी व्यावसायिक कलाकार हो । माग भएपछि हामीले गाउनुपर्छ । व्यवसाय नै गाउने भएपछि गाउनु त पर्छ नै । त्यसमा पनि नयाँ भाइबहिनीहरुले आफ्नो एल्बममा हाम्रो पनि स्वर रहेको गीत राख्न चाहनुहुन्छ । त्यही भएर पनि होला, आफ्नोभन्दा अरुका गीत बढी गाइएको हो । हाम्रो पेशा नै यही भएपछि अरुको गीत गाउँदिनँ भन्ने कुरा पनि भएन । 
तपाईंहरु अरुका गीत गाउँदा जस्तो शब्द र लय छ, त्यस्तै गाइदिनुहुन्छ हैन ? यो बाध्यता हो ?
बाध्यता पनि हो, तर शब्द र लय कामै नलाग्ने खालको रहेछ भने त्यसलाई केही तलमाथि भने गर्न सकिन्छ । त्यस्तो भएको पनि छ । कैयौं त्यस्ता गीतहरुमा हामीले शब्द परिवर्तन गरेर पनि गाएका छौं । कसैले अफर गरिहाल्यो भनेर गाउनैपर्छ भन्ने पनि छैन । नगाउन पनि सकिन्छ, त्यो त हाम्रो इच्छा हो । 
तिजका गीत भड्किला भए भन्दा अग्रज कलाकारहरू नै अरुका गीत गाउनैपर्ने बाध्यता छ भन्नुहुन्छ, त्यसो भए त्यो गलत हो ?
अरुका गीत गाउनैपर्छ भन्ने बाध्यता छैन । नराम्रो भयो भने नगाउन पनि हामी सबै स्वतन्त्र छौं । दोस्रो कुरा, गायन हाम्रो पेशा भएकाले पनि केहीले सम्झौता गर्नुभएको हो कि जस्तो पनि लाग्छ । तर, व्यक्तिगत रूपमा भन्नुपर्दा मलै त्यस्ता नराम्रा गीत गाएको छैन । फिल्टर गरेर नै गाउँछु । 
तपाईंले व्यवसायिकताको कुरा गर्नुभयो । तिज त हाम्रो संस्कार, संस्कृति र सभ्यता हो । यसलाई किन व्यावसायिक बनाउनुपर्यो ?
यो त गम्भीर प्रश्न हो । हरेक कुराको सिजन हुन्छ । विभिन्न चाडवर्पजस्तै यो पनि हाम्रा लागि गीत गाउने अवसर हो । गायन पेशा भइसकेपछि हामीले तिजमा गीत नगाउने भन्ने त भएन । 
३६२ दिनलाई व्यावसायिक बनाएर तीन दिन गाइने तिजका गीतलाई संस्कृतिसँग मात्रै जोड्दा हुँदैन ? 
हुन्छ, त्यसका लागि हामी तयार पनि छौं । तर, संस्कृतिलाई ध्यान दिने र व्यवसायलाई छोड्ने हो भने राज्यले कलाकारलाई तलब दिनुपर्यो । राज्यले यस्तो व्यवस्था गर्न सक्छ र तयार छ भने हामी पनि संस्कृतिसँग मात्रै सम्बन्धित गीत गाउन तयार छौं । कलाकारको पनि परिवार हुन्छ । उनीहरुले पनि बाँच्नुपर्छ भन्ने यथार्थलाई त भुल्न हुँदैन कसैले पनि । गीतसंगीतमा लगानी गर्नेले पनि आफ्नो लगानी त गुमाउन चाहँदैन नि ।
त्यसो भए राज्यका गहना भनिने कलाकारको केही जिम्मेवारी छैन संस्कृति रक्षाका लागि ? 
मैले त्यसो भन्न खोजेको होइन । हाम्रो पनि दायित्व हुन्छ र निभाई पनि रहेका छौं । मेरो गुनासो कतिमात्रै हो भने तिजका गीतमा लगानी हुन्छ भने त्यस्ता गीत केही व्यावसायिक पनि हुन्छन् भन्ने हो । यसको मतलब संस्कार र संस्कृतिलाई नै भुलेर अगाडि बढ्नुपर्छ भन्ने होइन । मैले अघि पनि भनिसकें, मैले त्यस्ता गीत गाएको पनि छैन । संस्कृति बोकेको गीतलाई नराम्रो बनाउन पाइँदैन, तर राम्रोलाई त व्यावसायिक रूपमा अगाडि बढाउन पाइयो नि होइन र ?
तपाईं त अग्रज गायिका, नयाँ आउनेहरुलाई परम्परालाई नै चुनौती दिने गीत गाउनु हुँदैन भन्नुहुन्न ?
मेरो साथीसर्कलमा हुनेलाई भन्छु । तर, सबैले हामीले भनेको मान्छन् भन्ने पनि छैन । यत्रो ठूलो भीड छ । हामीले हाम्रो टाउकोमा आएको जिम्मेवारीलाई निभाएका छौं । रेडियो÷टेलिभिजनमा आएपछिमात्रै थाहा हुन्छ धेरैजसो त । 
हाम्रो प्रतिष्ठान र संगठनमा आबद्ध नहुनेहरु पनि धेरै हुनुहुन्छ, जसले गीत गाउनुहुन्छ । उहाँहरुले आफ्नै हिसाबले जस्ता पनि गीत गाउनुहुन्छ । अहिले धेरै विरोध भइरहेको उहाँहरुकै कारण पनि हो । शब्द तथा लयबारे सेन्सर गर्ने कुनै आधिकारिक निकाय पनि छैन । 
गीतसंगीतलाई सभ्य बनाउन सेन्सर बोर्डको आवश्यकता औंल्याउनुभएको हो ?
कतिले यस्तो धारणालाई विरोध पनि गर्नुहोला, तर विकृति भित्रिन नदिने हो भने सेन्सर बोर्डको आवश्यकता पर्नेरहेछ । सेन्सर बोर्ड भन्नाले स्वतन्त्रतामाथि हस्तक्षेप नै गर्ने खालको भने होइन । त्यसले छाडापन र चरित्रलाई भने रोक्न सक्छ ।  
सेन्सर बोर्ड खडा गर्ने हो भने त्यसको विरोध त सबैभन्दा पहिला कलाकारले नै गर्ने होलान् नि फेरि ?
जस्ता गीतलाई पनि लोकगीत भन्न त पाइएन नि, होइन र ? हरेक गीतको आ–आफ्नै लय हुन्छ । गीत नगाउनुस् भनेको होइन, इन्टरटेन्मेन्टको हिसाबले गाए हुन्छ । 
तिजका गीतमा चेली र माइतीका कुरा हुन छाडे, होइन ?
केही हदसम्म तपाईंले भनेको सत्य हो । समय परिवर्तन हुँदै गयो । पहिलेको जस्ता समस्या गाउँघरमा अहिले छैनन् भनेर पनि होला, मायाँप्रेमका कुरा बढी तिज गीतमा समेटिएको । कुन राम्रा छन्, कुन गीत नराम्रा हुन्, समाज र संस्कृति कुन गीतले बोलेको छ र कुनले त्यसलाई लत्याएको छ, त्यो स्रोता/दर्शकले छुट्याएर सुनिदिनुभयो भने पनि केही हदसम्म हामीले छलफल गरेको विषयको समाधान आफैं हुन्छ । 
महिनौंदेखि तिजको माहोल हुन्छ नि आजकाल, यो सही हो कि गलत ?
यो त मलाई त्यति धेरै नराम्रो लाग्दैन । हामीले व्यावसायिक रूपमा गीत गाउने भएपछि रेकर्डिङ अगाडि हुने नै भयो । गीत गाएपछि प्रचारप्रसार पनि गर्नुपर्छ । विज्ञापन गर्ने यो एउटा माध्यम पनि हो । विदेशमा बस्ने नेपालीलाई पनि यो चाड मनाउन मन लाग्छ । उहाँहरुले मनाउन त पहिला नै मनाउनुपर्छ कलाकारसँग मनाउने हो भने । तडकभडक गर्नुभएन तर, सभ्यता र संस्कृतिभित्र बसेर मनाउन पाइन्छ जस्तो लाग्छ । 
यो सालको तीजमा कता–कता छन् यहाँका कार्यक्रम ? 
नवलपरासी र चितवनको कार्यक्रम सकेर आएँ । अब काठमाडौंमै चार/पाँच वटा कार्यक्रम छन् । त्यसपछि फेरि चितवन जाँदैछु । अरु पनि छन् स्टेज शो । यो वर्ष नेपालबाहिरका कार्यक्रम भने छैनन् । 
अहिलेसम्म कति गीत गाइसक्नुभयो ?
१२ वर्ष भयो लगातार गीत गाएको । बिरलैमात्रै हुन्छ, गीत रेकर्ड नगरेको दिन । पाँच हजारभन्दा बढी गाइसकें । त्यसमा तिजका पनि सयौं छन् ।  
 
  
NIBLNIBL
प्रकाशित मिति: आइतबार, भदौ १९, २०७३  ११:१५
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
national life insurance newnational life insurance new
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
Hamro patroHamro patro