ब्लग
टिनिनिन्न.....
कार्यालयमा आइपुगेको मात्र थिएँ, मोबाइलको घण्टी बजिहाल्यो ।
“आउँदैनस् तँ, दसैँ आउन लागिसक्यो । टहरो टालटुल नपार्ने हो भने कहाँ राख्ने जमरा ?,” फोन गर्ने बुबा हुनुहुन्थ्यो ।
“नौरथा लाग्नुभन्दा १०–१५ दिनअगाडि आउँछु, त्यसपछि बनाउँला, नआत्तिनुस् न,” मैले सम्झाउन खोजेँ ।
“अँ... आइहालिस् नि ! पोहोर पनि यसै भन्थिस्, सप्तमीको दिनतिर हल्लिँदै आइपुगिस् । यस्ता बोलीको ठेगान नहुनेले कसरी पत्रकारिता गर्दो हो ! मानिस भेट्ने समय कसरी मिलाउँदो हो ?” बाले दुखेसो पोख्न छाड्नुभएन ।
र, मेरो कुरा नसुनी फोन राखिदिनुभयो ।
भूकम्पको डेढ वर्ष बित्दा पनि हामीले घर बनाउन सकेका थिएनौँ । न सरकारले दिने भनेको अनुदान नै हाम्रो खातामा जम्मा भएको थियो । पैसा नभएपछि कसरी बन्थ्यो र घर !
पत्रकारिता वास्तवमै दुःख बेसाउने पेशा हो । दिनहुँको घटना–दुर्घटना र राजनीतिक उतारचढावले घरव्यहार हेर्ने फुर्सदै मिलेको हुँदैन । कमाइको त झन् कुरै नगरौँ !
आर्थिक बिट हेर्ने पत्रकारहरू कहिलेकाहीँ ठट्टा गर्छन्– दिनभरि अर्ब र खर्बको हिसाब गर्यो, बेलुका २० रुपैयाँको चाउचाउमा छाक टार्यो !
गत वर्ष वैशाख १२ गतेको भूकम्पले सिन्धुपाल्चोकको घर भग्नावशेषमा परिणत गराइदियो । मानवीय क्षति त भएन, तर वस्तुभाउ र अन्नपात एकै झड्काका स्वाहा भए ।
भूकम्पको दुई–तीन महिनापछि जेनतेन टहरा त उभ्याउन सकियो, तर ढलेको घरको ढुंगामाटोसमेत पन्छाउन नसक्दा बुबालाई दुःख लाग्नु स्वाभाविकै थियो ।
० ० ०
केही दिनअघि रिपोर्टिङको सिलसिलामा सिन्धुपाल्चोककै गिरानचौरको धुर्मुस–सुन्तली एकीकृत नमुना बस्ती पुगेको थिएँ । त्यहाँ हास्यकलाकार सीताराम कट्टेल ‘धुर्मुस’ तीन महिनादेखि घामपानी नभनी खटिरहेका छन् । धुर्मुस र उनकी पत्नी कुञ्जना घिमिरे सुन्तलीको धुर्मुस–सुन्तली फाउन्डेसनले गिरानचौरमा एकसाथ ६५ घर निर्माण गरिरहेको छ ।
उनी घरपरिवारबाट टाढा त छन् नै, कलाकारिता कर्म पनि केही समयका लागि थाँती राखेका छन् ।
भनिन्छ, ‘वस्तुभाउ तह लगाउनु पछि लागेर, मानिस तह लगाउनु अघि लागेर ।’ यस्तै गरिरहेका छन् धुर्मुस, कार्यक्षेत्रमा आफैँ निरन्तर खटिएर ।
छड, गिट्टी बालुवामात्रै होइन, ब्लकसमेत उनी गनेर मात्रै बुझ्दा रहेछन् । भन्छन्, “नगनी बुझ्ने र लापरबाही गर्ने हो भने तोकिएको पाँच करोड पैसाले कहाँ पुग्छ र ! इस्टिमेट गरिएको भन्दा एउटा बढी ब्लकमा पैसा खर्च हुनु पनि भ्रष्टाचार हो ।”
निर्माणाधीन संरचनाहरूमा पनि उनी बडो चनाखो छन् । रातदिन नसुती दृष्टि लगाउँदा रहेछन्, “म पढेर होइन, परेर इन्जिनियर भएँ, गाह्रोको घण्टी आधा इन्च पनि दायाँबायाँ भयो भने जस्ता मिल्दैन । धुर्मुसले कस्तो घर बनाएछ, कतै भ्रष्टाचार भयो कि भनेर प्रश्न उठ्न सक्छ ।”
पहाडको ठाउँ, भनेजस्तो मिस्त्री पाइँदैन । बलियाबांगा युवा सबै विदेश, अलिअलि पढेका सहतिर, गाउँमा बूढाखाडामात्रै ! काठमाडौँसँग साँध जोडिए पनि निकै विकट ठाउँ हो त्यो । पूर्वाधारको विकासबिना नगरपालिका घोषणा गरिएको राम्रो उदाहरण पनि । पानीको उस्तै दुःख !
त्यहाँ पुग्ने जोकसैका पनि शरीरका रौँ ठाडा हुनसक्छन्– धुर्मुस–सुन्तली दम्पतिको आँटलाई मान्नैपर्छ ।
मेरो घर त्यहाँबाट एक घण्टाको दूरीमा पर्छ । हाम्रो बुबाआमा भन्नुहुन्थ्यो, “सबै ठाउँमा छोरीचेली परून् तर गिरानचौरमा चाहिँ नपरून् । पानी बोक्नमात्रै एक बिहान लाग्छ !” त्यस्तो ठाउँमा पुगेर धुर्मुस–सुन्तलीले काम थाल्नु आफैँमा निकै चुनौतीको कुरा हो । त्यस्तै असुविधा छ बाटोघाटोको पनि । धुर्मुस ठट्टा गर्छन्, “यहाँको हिलोमा खुट्टा गाडियो भने त झिक्न महाभारत पर्छ । गाडिएको खुट्टा निकाल्न क्रेन नै ल्याउनु पर्ने हुनसक्छ ! गाडीबाट मालसामान ढुवानी गर्न कस्तो होला ?”
उनले एक महिना लगाएर बस्तीसम्म बाटो पनि सम्याए । सडकमा ढुंगा, गिट्टी बिछ्याए । बस्ती बनाउन अर्को चुनौती थियो– एकीकृत बस्ती बनाउन टोल कसरी एकीकृृत गर्ने ?
एउटाको घर सात कान्लामाथि छ, अर्कोको घर दश कान्ला तल ! ती सबैलाई एउटै बाटोले जोड्न, खाली ठाउँसहितको घर बनाउन कत्ति गाह्रो होला, आफैँ अनुमान गर्नुस् ।
तर, उनले गाउँका मानिस एकीकृत बस्ती बनाउन राजी नहोउन्जेल र कागजपत्र तयार नपारुन्जेल काम गर्छु भनेर बचन नै दिएनन् ।
एकीकृत बस्ती नहुँदा भूकम्पबाट सिन्धुपाल्चोकमा मानवीय क्षति ज्यादा भयो । एउटा घरबाट अर्को घर पुग्न पाँच मिनेट लाग्ने, कान्ला काटेर चार हात जग्गामा ठिङ्ग उभिएको, बतासले पनि उडाउलाजस्ता घर !
हाम्रोजस्तो मुलुकको विकासका पहिलो सर्त हो एकीकृत बस्ती । सरकारले घर निर्माण गर्दा पर्यावरणीय सन्तुलनमा ध्यान पुर्याउने योजना अघि सारेको छ ।
तर, घरसँगै गोठ जोडेर बनाउने परिपाटीले पहाडमा नराम्रोसँग गाँजेको छ । धुर्मुस् भन्छन्, “यो एकीकृत नमुना बस्तीमा चौपाया पालिने छैनन् । त्यसका लागि बस्तीभन्दा निकै पर टहरा कटेराहरूको व्यवस्था गरिनेछ ।”
हाम्रा संरचनाहरू अपांगतामैत्री छैनन् । प्रत्येक घरमा बालबच्चा छन्, तर भौतिक संरचना त्योअनुसारका भेटिँदैनन् । बाल उद्यान हेर्न, भृकुटीमण्डप र एकाध खुलेका फनपार्कहरूमै पुग्नुपर्छ । ती संरचनासहितका घरहरू कतै भेटिन्छन् भने सरकारी कागजमा मात्रै ।
त्यसलाई चिर्दै धुर्मुस–सुन्तलीले गिरानचौरलाई पर्यावरण, अपांगता र बालमैत्री बस्ती बनाउन लागेका छन् । तीन मापदण्ड पुगेको गिरानचौर पहिलो बस्ती हुनेछ ।
राजनीतिक–आर्थिक वृत्तमा सुनिने अर्को कर्कशलाग्दो भाषण हो– हामीकहाँ पर्यटनको अथाह सम्भावना छ । तर, प्रकृतिले प्रदान गरेका बाहेक देखाउन हुने अरु सम्पदा छैनन् । भूकम्पले क्षतविक्षत बनाएका धार्मिक, पुरातात्विक र ऐतिहासिक महत्वका सम्पदा डेढ वर्षसम्ममा पनि बनाउने सुरसार नहुँदा सरकार त्यसप्रति कति संवेदनशील छ भन्न छर्लङ्ग हुन्छ ।
जता हेर्यो, त्यतै हरियाली । प्रकृतिको अनुपम छटा ! त्यो हिसाबले होमस्टे यहाँको पर्यटनको अर्को स्रोत हो । केही ठाउँमा सञ्चालनमा आए पनि त्यसको प्रभावकारिता अभिवृद्धि हुन सकेको छैन । त्यसैले गिरानचौरलाई होमस्टेको केन्द्र बनाउने लक्ष्य धुर्मुस–सुन्तलीको लक्ष्य छ । “देशकै नमुना होमस्टेसहितको बस्ती बनाउँछौँ,’ धुर्मुस सुनाउँछन् ।
भरिलो राष्ट्रवाद कि खोक्रो राष्ट्रवाद भन्ने बहस पनि उस्तै पेचिलो बनेको छ अहिले । धुर्मुस–सुन्तलीले गिरानचौरमा बस्ती निर्माण पनि बिहान राष्ट्रिय गान बजाएर सुरु गर्छन् । घर निर्माण भइसकेपछि रंगरोगन पनि सेतो, रातो र निलो रंगबाट गर्ने उनीहरूको योजना छ । “राष्ट्रियता साहित्यमा होइन, संरचनामा पनि झल्किनुपर्छ,” धुर्मुस बताउँछन् ।
० ० ०
हरेक मानिसले अर्को मानिससँग नसिक्ने हो भने समाज अरस्तुको पालाभन्दा पछाडि हुन्थ्यो । पछिल्लो समय अरुसँग सिक्ने भन्दा पनि अरुको हुर्मत लिने परिपाटी ज्यादा भयो । धुर्मुस–सुन्तलीले नयाँ केही गरेका छैनन् । बरु, त्यही काम फरक र नयाँ तरिकाले गरेका छन् । र त उनीहरूसँग सबैले सिक्न जरुरी छ ।
दाताले सरकारलाई विश्वास नगरिरहेको र दिएको अनुदानसमेत ‘फिर्ता लैजान्छौँ’ भनेर घुर्क्याइरहेको बखत देशविदेशका सहयोगी हातहरूलाई विश्वासमा लिएर बस्ती निर्माण गर्नु चानचुने कुरा होइन । नेपथ्यमा बसेर कुरा काट्नेहरू त भन्दै होलान्– करोडौँ पैसा उठेको छ, किन नबनोस् त बस्ती ?
तर, पैसा कमाउन भन्दा गाह्रो छ विश्वास आर्जन गर्न । नत्र सायदै पूरा हुन्थ्यो धुर्मुस–सुन्तलीको सपना । र त धुर्मस भन्छन्– “हामीलाई ढलेको गिरानचौर ठड्याउन जति चिन्ता छ, त्यत्तिकै चिन्ता छ दाताहरूको विश्वास जोगाउन ।
राष्ट्रिय/अन्तर्राष्ट्रिय गैरसरकारी संघ–संस्थाले सिन्धुपाल्चोकमा मात्रै ४७ अर्ब रुपैयाँ भन्दा बढी पैसा सके । त्यत्रा पैसा सकिँदा पनि उनीहरूले देखिने काम गर्न सकेनन् । तर, धुर्मुस–सुन्तलीले सामान्य फाउन्डेसनमार्फत बस्ती नै उभ्याउनु सामान्य कुरा होइन । उनीहरूले ठूला बजेट भएका र पुनर्निर्माण गरिरहेका छौँ भनेर ठूलो गफ गर्नेहरूलाई ‘साइज’मा ल्याइदिएका छन् ।
र, उनीहरूले विकासको अवधारणामा नै परिवर्तन ल्याइदिएका छन् । दाता सम्मेलनमा भारतबाट १ खर्ब, चीनबाट ७७ अर्ब, जापानबाट २६ अर्ब, अमेरिकाबाट १३ अर्ब, ईयूबाट ११ अर्ब, नर्वेबाट ३ अर्ब र एडीबीबाट ६० अर्ब तथा विश्व बैंकबाट ५० अर्ब सहयोग (ऋण तथा अनुदान) को आश्वासन पाएको थियो । तर, विश्वास देखाउन नसक्दा घोषणा बराबरको सहयोग सरकारले प्राप्त गर्न सकेको छैन ।
त्यतिमात्र होइन, यसभन्दा अघिको सरकारले ‘हाम्रो धरहरा हामी बनाउँछौँ’ अभियान सञ्चालन गरे पनि अपेक्षाकृत रकम जम्मा भएन । तर, धुर्मुस–सुन्तलीको सामान्य आह्वानमा बस्ती बन्ने पैसा त उठ्यो नै, ‘बस्ती बनाउन पुग्यो, अब पैसा लिँदैनौँ’ भनेर सहयोग फिर्ता नै गर्नुपर्यो ।
यसबाट पनि पुष्टि हुन्छ– सरकारप्रति दातृ निकायमात्र होइन, नागरिक स्वयंको पनि विश्वास कम छ ।
प्रधानमन्त्री पुष्पकमल दाहालले प्रधानमन्त्रीमा निर्वाचित भएलगत्तै ४५ दिनभित्रमा सम्पूर्ण भूकम्पपीडितको खातामा पहिलो किस्ता रकम पठाइसक्ने उद्घोष गरेका थिए ।
मन्त्रिमण्डल गठन भएको करिब एक महिनामा सरकारले बिहीबार बेलुकासम्म पहिचान भएका ५ लाख ३१ हजार ९ सय ९५ परिवारमध्ये दुई लाख ५३ हजार ५ सय ६३ घरधनीको खातामा पहिलो किस्ताबापतको ५० हजार रुपैयाँ पैसा पठाएको छ । अझ लाजमर्दो कुरा त के छ भने सिंहदरबार रहेकै जिल्ला काठमाडौं र साँध जोडिएको भक्तपुर र ललितपुरका भूकम्पपीडित परिवारको पहिचान हुन सकेको छैन ।
तर, धुर्मुस–सुन्तलीले यसबीचमा दुइटा बस्ती उठाउन भ्याइसकेका छन् । यसर्थ उनीहरू विकासका रोलमोडल हुन् । राज्यले उनीहरूको सम्मानमात्र होइन, अनुसरण पनि गर्नुपर्छ ।
र, मेरो अठोट
पछिल्लो समय हामी ज्यादा परजिवी भयौँ । सक्ने कुरामा पनि सहायता खोज्नुपर्ने ‘रोग’ नै लागेको छ हामीलाई । भूकम्प प्रभावित क्षेत्रमा त्यसले अझै व्यापकता पाएको छ ।
दसैँ नजिकिएको छ । यसर्थ मेरो अठोट छ, अब गाउँ जान्छु र ढलेको घर उठाउँछु । सरकारको मात्रै भर नपरेर आफ्नै स्रोतसाधनमा आफ्नो घर आफैँ ठड्याउँछु ।
मलाई विश्वास छ– पर्खिनेहरु होइन, हिँड्नेहरु नै गन्तव्यमा पुग्छन् । र, बुबालाई भन्नेछु– पत्रकारले शब्दमात्रै होइन, भत्किएको सँघार पनि जोड्न सक्छ ।
प्रकाशित मिति: शुक्रबार, भदौ १७, २०७३ १२:२९
प्रतिक्रिया दिनुहोस्