
स्निग्ध भै भक्तिको रागमा छल्किँदा
मुग्ध भै कृष्णको प्रेममा पल्किँदा
जिस्किँदा जिस्किँदै कुण्डमा चोपिएँ
मोहिनी हो कि खै प्यारले छोपिएँ ।१।
गोकुलै गुन्जिए राधिका के कुरा
लाजले रात्तिए बैंसका कन्तुरा
बाँसुरी तालमा लोभिँदै झन् झन्
आउ हे कृष्णजी अर्पिएँ यो मन ।२।
चाहमा, राहमा, होसमा, जोसमा
श्याम छौ सर्बदा स्नेहिला कोषमा
बाहुमा राधिका बेरिँदा मन् त यो
लौन हे कृष्णजी के भयो के भयो ।३।
त्यो जुनी सक्किगो यै जुनी बित्नुछ
आरती, अर्चना, भक्तिले जित्नुछ
बिर्सियौ काँ गयौ पर्खुं वा जाउँ म
मथ्थुरै छौ भने कि त्यतै आउँ म ।४।
गोपिनी भन्दछन् शून्य भो गोकुल
संझिँदै कल्पिँदै कृष्णका चुल्बुल
अन्त कै छौ कि के बोल हे गाजले
सोध्दछन् लोकले मर्नु भो लाजले ।५।
मैं उडी आउँला द्वारका छौ भने
पाउमा अर्पिंदा बिर्सिएँ नभने
जे बुझें सत्य हो, झूट हो वासना
कृष्णकै बाँसुरी कृष्णकै चाहना ।६।
रूपका चाँदले, बैंसले कुर्लिंदा
लुक्नु के भाग्नु के येमुना उर्लिंदा
नित्य ती प्रेमका सम्झना, साधना
पाउँ लौ दर्शनै मात्र यो प्रार्थना ।७।
वस्त्र नैं काँ गयो इज्जतै दाउमा
घोप्टिएँ अन्ततः कृष्णको पाउमा
कुन्नि के मोहनी रूपले पट्टिएँ
जे बुझें त्यत्तिकै प्यारमा लठ्ठिएँ ।८।
मत्लबी दुनियाँ कंश नैं कंश छन्
वा भनौं, जाँसुकै कंशकै बंश छन्
धर्म नै मासियो त्रास नै त्रास भो
मृत्यु वा जिन्दगी– कृष्णकै आस भो ।९।
घाटमा दन्दनी अग्निले नासिँदा
कृष्णकै सासमा टाँसिँदा, गाँसिँदा
राधिका–कृष्णजी यादमा आउलान्
कृष्ण नैं हुन् भनी बल्ल चाल् पाउलान् ।१०।
(स्रग्विणी छन्द – र र र र गण)