site stats
बाह्रखरी :: Baahrakhari
साहित्य
आमाको सन्दुस र रोमाञ्चित जीवन

रोमाञ्चित जीवन
(आत्मकथा : लोकराज बराल)
त्रिभुवन विश्वविद्यालयमा साढे तीन दशकभन्दा बढी प्राध्यापन गरेका डा. लोकराज बरालको आत्मकथा ‘रोमाञ्चित जीवन’को दोस्रो संस्करण केही समयअघि छापिएको छ । उनका यसअघि २२ पुस्तक प्रकाशित छ ।

भारतका लागि पूर्वराजदूत रहिसकेका कृतिकार बरालले दोस्रो संस्करणको विशेषतामा लेखेका छन्, “पहिलो संस्करणमा मेरा जीवनका धेरै महत्त्वपूर्ण पक्ष परिसकेका छन् । तर, एक दशकको अन्तरालमा केही नयाँ घटना पनि थपिएका र अघि समावेश नभएका पुराना सम्झना र अनुभव पनि रोचक र मननीय भएकाले समावेश गरिएको छ । गणतन्त्र र राजतन्त्रबीचको भेद, नेपालको राजनीतिका उतारचढावका विषय अवश्य पढ्न योग्य ठानी यस नयाँ संस्करणमा राखिएको छ । ... ।”

पुस्तकको भूमिकामा राजनीतिज्ञ नरहरि आचार्यले लेखेका छन्, “डा. बरालले आफ्नो जीवन–यात्रालाई जति नै चुनौतीपूर्ण र बेलाबखत कठिनाइले भरिएको अनुभव गरे पनि त्यसलाई सम्पूर्णतः सकारात्मकताका साथ ग्रहण गर्नुभएको छ । यो ज्यादै नै महत्त्वपूर्ण र उच्चस्तरको अनुभूति हो ।”

यो कृतिभित्र डा. बरालले ५० शीर्षकमा आफ्नो जीवनमा आयामलाई प्रस्तुत गरेका छन् ।

ओरिएन्टल पब्लिकेसनद्वारा प्रकाशित २८४ पृष्ठको यो आत्मकथाको मूल्य ५७५/– रुपैयाँ राखिएको छ ।

०००

अनाहक प्रश्नहरू
(कविता : राजीव श्रेष्ठ)
शिक्षण पेसामा लामो समयदेखि संलग्न रहेका राजीव श्रेष्ठको हालै प्रकाशित कविताकृति हो, ‘अनाहक प्रश्नहरू’ । फुटकर रूपमा आलेख लेख्दै आएका श्रेष्ठको एउटा अर्को पुस्तक पनि प्रकाशित छ ।

यो कृतिभित्र अग्रज कवि तोया गुरुङको शुभकामना सन्देशसहित कवि श्रेष्ठले लेखेका ३२ कविता पढ्न सकिन्छ ।

माया पब्लिकेसनद्वारा प्रकाशित ७० पृष्ठको यो कविताकृतिको मूल्य २७५/– रुपैयाँ राखिएको छ ।

०००

जीवन एक बिम्ब अनेक
(मुक्तक : दीर्घबहादुर शाही ‘डोक्काघरे’)
काव्य विधामा कलम चलाउँदै आएका दीर्घबहादुर शाही ‘डोक्काघरे’को मुक्तककृति हो, ‘जीवन एक बिम्ब अनेक’ । उनले यसअघि एउटा लेखसंग्रह र दुई गीति एल्बम बजारमा ल्याइसकेका छन् । उनी अरू केही कृति प्रकाशनको तयारीमा छन् ।

कवि डोक्काघरेले स्वलेखनमा लेखेका छन्, “...जिन्दगीले यी वसन्त पार गर्दासम्म अनेकौँ अप्ठ्यारोका बिचबाट यो मुक्तकसंग्रह ‘जीवन एक बिम्ब अनेक’ नामको कोसेली (नासो) तपाईं सम्पूर्ण पाठक तथा साहित्यिक मनलाई पठाएको छु । ... ।”

पुस्तकमा डा. नवराज लम्सालले लेखेका छन्, “उनी मुक्तकमा छन् । मुक्तक साहित्यको छोटो चिटिक्क परेको विधा हो । उनी यसैमा साहित्यको कलम तिखार्ने दृढतामा छन् । ... ।”

डोक्काघरेले यो कृतिभित्र १८७ मुक्तक पस्किएका छन् ।

अनुसन्धान विमर्शद्वारा प्रकाशित ११२ पृष्ठको यो कृतिको मूल्य ३७५/– रुपैयाँ राखिएको छ ।

०००

प्रथम नेपाली पर्या निबन्धसंग्रह
(निबन्ध : सं. प्रा. डा. गोविन्दराज भट्टराई/विजय हितान)
केही समयअघि प्रकाशित कृति हो, ‘प्रथम नेपाली पर्या निबन्धसंग्रह’ । प्रथम पर्या निबन्ध प्रतियोगिता, २०८२ मा पुरस्कृत तथा केही अतिथि निबन्धकारका निबन्धहरूको सँगालो हो यो । सम्पादन गरेका छन्, प्रा. डा. गोविन्दराज भट्टराई र विजय हितानले ।

कृतिको सम्पादकीयमा प्रा. डा. भट्टराईले लेखेका छन्, “यो कृति आफैँ बोल्ने छ । बाँकी ७६ वटा उत्तिकै राम्रा निबन्धहरूले भविष्यमा पालो पाउलान् । यसपालिको लागि ३२ जना चयनीत रचना समाविष्ट कृति नेपालीमा प्रथमतः पर्या निबन्धसंग्रहमा पढ्नु होला । ... ।”

यो पुस्तकभित्र ६ अतिथि निबन्धकारका निबन्धसहित ३८ पर्या निबन्ध समावेश छ । भवानी खतिवडा, हरिबोल काफ्ले र गोविन्दगोपाल खतिवडाको पुरस्कृत निबन्ध पनि छ ।

साहित्यपोस्टद्वारा प्रकाशित ५१६ पृष्ठको यो पुस्तकको मूल्य ७५०/– रुपैयाँ राखिएको छ ।

०००

आमाको सन्दुस
(कथा : सरिता पराजुली)
कविता र नियात्राको कृति बजारमा ल्याइसकेकी साहित्यकार सरिता पराजुलीको हालै प्रकाशित कथाकृति हो, ‘आमाको सन्दुस’ । यो उनका छोटा कथाहरूको सँगालो हो ।

लेखकीयमा कथाकार पराजुलीले लेखेकी छन्, “यी कथाहरू लेख्दा मैले प्रायः मेरो बाल्यावस्था सम्झिएँ । म बाल्यावस्थामा हुँदा भोगेको काठमाडौं जिल्लाको काँठको परिवेश सम्झिएँ ।”

आख्यानकार नारायण ढकालले लेखेका छन्, “... अहिले फेरि उनको कथासंग्रह प्रकाशनमा आएको छ । निश्चय नै यस कृतिले पाठकको स्नेह आर्जन गर्नेछ भन्नेमा म विश्वस्त छु ।”

भूमिकामा डा. दामोदर पुडासैनी ‘किशोर’ले लेखेका छन्, “आमाको सन्दुस कथासंग्रह नेपाली समाजको मनोदशा चित्रण गरिएको कृति हो । ... ।”

कृतिभित्र कथाकार पराजुलीका ५३ छोटा कथा संगृहीत छ ।

भुँडीपुराण प्रकाशनद्वारा प्रकाशित १०० पृष्ठको यो पुस्तकको मूल्य २००/– रुपैयाँ राखिएको छ ।

प्रकाशित मिति: शनिबार, साउन ३१, २०८२  ०८:४७
प्रतिक्रिया दिनुहोस्