अमित पोखरेल
कालीपार एउटा तेर्सो परेर फैलिएको वृक्ष छ
ऊ निदाउन खोज्छ
झाडीबाट केही आई पो हाल्छ कि त ?
ऊ सशंकित मथिंगल रगड्छ
जिजीविषा केलाउँछ
र कालीपार पुगेर आफ्नो आत्मा
पुर्ख्यौली घाटमा सेलाउँछ ।
कतै वर्तमानले पो भाँच्यो कि ?
भूतको सम्मोहनले पो गाँज्यो कि !
भविष्यको आशक्तिले पो दाँज्यो कि ?
भञ्ज्याङ नकट्नु थियो कि !
काली नतर्नु थियो कि ?
पश्चात्तापका घडा – नभर्नु थियो कि !
संसर्गमा कल्याङमल्याङ गरिरहने ती आभास
हमेसा मथिंगल पड्काइरहने प्रतारणा बन्दुक
बन्जर र खोक्रो अभिमान
सन्त्रासभित्र लुकेको कायरता
अनाहकमा फुकेको धक
र खुइय्य गर्दै बजारिएको सुस्केरा !
तिम्रो बन्जरतासँगै फिँजारिएको निराशा
डढाइरहेछ
त्यो कालीपार तेर्सो परेर फैलिएको वृक्षलाई !
खासमा तिमी पनि एक झ्याउँकिरी रहेछौ
आफ्नो अस्तित्व–तुष्टिका लागि
यत्रतत्र चहारिरहने !