site stats
बाह्रखरी :: Baahrakhari
साहित्य
पहिलो गाँसमै ढुंगा

बिरालोले बाटो काटेको त होइन, अपितु पहिलो गाँसमै ढुंगा लाग्यो । अझै कति लाग्ने हो कुन्नि ! मन झस्कियो ।

गएको वैशाख १८ गते बिहीबार । वीरगन्जबाट हिँड्दा बिहान ९ बजिसकेको थियो । बिहान ६ बजे नै वीरगन्ज छाड्ने भनिए पनि गाडीको आगमन नहुँदा चियामाथि चिया थपिँदै थियो । सानो ग्लास, थोरै चिया । जति नै पिए पनि धीत नमर्ने । तराईको चिया नै त्यस्तो ।

हामी १२ जना तीर्थयात्रामा निस्किएका थियौँ । भारततर्फको भ्रमणमा लैजाने गाडी प्रमोद (अर्याल) दाइको जिम्मा थियो । समयमा गाडी नआएपछि दाइको पनि कुनै जोर चलेन सायद । कलैयामा रहेका दाइले गाडी ल्याउँदै गर्दा समय घर्किसकेको थियो ।

पूर्णतः पारिवारिक तीर्थयात्रा थियो यो । अघिल्लो दिनै हिसाबकिताबको जिम्मा मेरो काँधमा आइपुगेको थियो । सबैसँग लिने र खर्च गर्ने । नोटबुकमा टिप्ने । अनि, सकिएपछि फेरि उठाउने ।

वीरगन्जकै थिए गाडी साहु । राणी सती धर्मशालाअगाडि तिनलाई निश्चित रकम पेस्की बुझाएँ । नेपाली नम्बर प्लेटको गाडी सारा सामान लोड गरेर हामीलाई लिँदै रक्सोलतिर हुइँकियो । पछिपछि गाडी साहु बाइकमा आउँदै रहेछन् ।

परन्तु, अघि भनेझैँ पहिलो गाँसमै ढुंगा पर्‍यो । गाँस त हालिएको थिएन, तर संकेत त्यही थियो ।

सीमापारि रक्सौलका प्रहरीले चेकिङमा रोके । गाडी चालक र त्यहाँसम्म पुगेका गाडी साहुले रुट अनुमतिसहितका कागजात देखाए ।

तर, यात्रुहरूको नाम त्यसमा उल्लेख थिएन । यात्रामा निस्केका यात्रुहरूको नाम र परिचयपत्र (नागरिकता) नम्बर हुनुपर्ने रहेछ । यसबारेमा हामी कसैलाई जानकारी नभएकोले अब के गर्ने भन्ने चिन्ता थपियो ।

यो काम गाडी साहुको थियो । उनले कागजात दुरुस्त बनाउनुपर्थ्यो । त्यसो गरेनन् । सायद उनले सोचे, ‘जेजति व्यहोर्नु छ, पेसेन्जरले व्यहोर्छन् । मलाई केको चासो ! आफ्नो त दैनिक दाम पाक्न सुरु भइसक्यो ।’ 

गाडी साहुलाई गाली गर्न मन नलागेको होइन, तथापि मौन रहेँ । 

त्यहीँ रहेका एक व्यक्ति (सायद बोर्डर अधिकारी नै होलान्)ले नामको सूची मागे । हतारहतार एउटा कागजमा लेखेर बुझाएँ ।

त्यत्तिकैमा गाडी साहु आएर मसँग भने, ‘अलिकति पैसा दिनुस्, छोडिदिन्छन् ।’

फेरि पनि मौन रहन बाध्य भएँ । ढाटमा बसेकाले ‘एक हजार दिजिए और जाइए’ भने ।

‘मरता क्या नही करता !’ यस्ता उखान उतैका हिन्दी पत्रपत्रिकामा धेरैचोटि पढिएको हो । योबाहेक अरू उपाय थिएन ।

एउटा कुनामा गएर एक हजार भारु टक्र्याएँ । र, आएर गाडी चढेँ । चालक सुरेश भाइले गाडी अगाडि बढाए । साहु वीरगन्ज फर्किए ।

रक्सौल कटेपछि चालक भाइलाई सबैले किचकिच गरे । उनी पनि अनभिज्ञ थिए यस विषयमा । किनभने, उनी पनि पहिलोपटक भारतीय रुटमा गाडी चलाउँदै थिए । गाडी साहुले पनि उनलाई केही भनेका रहेनछन् । (भनेको भए पनि उनले त्यो कुरा खोलेनन् ।)

त्यस दिन हाम्रो यात्रा पटना हुँदै पुनपुनसम्मको थियो । पुनपुनमा प्रथम श्राद्ध गरिनुपर्छ भन्ने सांस्कृतिक मान्यता छ । पुनपुनमा श्राद्ध गरेपछि मात्र गयाजी र अन्यत्र जानुपर्छ अरे ! त्यसैले पनि हाम्रो समूह पुनपुनतिर लागेको थियो ।

१२ बजेतिर राजमार्गछेउमा रहेको एउटा ढावाले हाम्रो खुबै खातिरदारी गर्‍यो । मिठो खाना खुवायो । ढावामा सस्तो र मिठो खान पाइन्छ भन्ने अनुभव पनि हामीले गर्‍यौँ । त्यहीँ मोबाइलमा सीमापारिको सिम हाल्यौँ । नेट चल्न थाल्यो ।

नेटविना त अचेल जीवन जीवन नै होइन जस्तो लाग्छ । हलचल गर्न पनि नेट नै चाहिने !

रक्सौलमा लागेको पहिलो गाँसको ढुंगाजस्तै अरू ढुंगाले पनि हामीलाई पटकपटक लखेट्नेछ भन्ने हामीले अनुमान गरेकै थिएनौँ ।

त्यसको अनुभव टोल ट्याक्स तिर्ने बेलामा हामीले व्यहोर्नुपर्‍यो । टोल ट्याक्स तिर्नलाई रक्सौलमै डिजिटल कार्ड बनाउनुपर्ने रहेछ । त्यो थाहा भएन, जसको परिणाम हरेक टोल ट्याक्समा नगद बुझाउँदा दोब्बर रकम बुझाउनुपर्‍यो । १५० लिने ठाउँमा ३०० को रसिद हात पर्थ्यो ।

यो हामीले बनबासा नछिर्दासम्मै भोग्नुपर्‍यो । यस विषयमा गाडी साहु जानकार थिए होलान् । तर, तिनले हामीलाई बनाउनुसम्म मूर्ख बनाए केही नबताएर !

पटना पुगेपछि भित्रभित्रै पुनपुन जाने बाटो रहेछ । हुनत हाइवे पनि थियो होला, त्यो बाटो कसैले देखाइदिएनन् । फलतः ठाउँठाउँमा सोध्दै सोध्दै पुनपुन पुगियो । यसले डेढदुई घण्टै बढी खायो ।

पुनपुनको धर्मशालामा बस्ने कुरो भयो । तर, धर्मशालाको अवस्था देखेरै त्यहाँ बस्न नसकिने देखियो । सबैले एकसाथ ‘यहाँ नबस्ने’ भनेपछि होटेल खोज्न थालियो । एकजना पण्डाले एउटा बस्न मिल्ने ठाउँ बताइदिए, ‘उमेश उमंग ब्यांक्वेट’ ।

ब्यांक्वेट नै भए पनि बस्ने व्यवस्था मिल्यो । महिला समूह दुई कोठामा अटिए । पुरुषहरू सबै म्याट्रेस ओछ्याएर लहरै सुते ।

भोलिपल्ट पुनपुनमा श्राद्ध सकाएर गयाको बाटो समायौँ । पण्डाहरूको कहानी सुनेका थियौँ । यद्यपि, पुनपुनमा सोचेजस्तो पण्डादुःख पाइएन ।

दुःख त गयाजीमा पाइयो । गयाजीका पण्डाको चर्चा बारम्बार सुनिएको हो । तिनले दिने सास्ती र पैसामा गर्ने किचकिच यसपटक हाम्रो भागमा पनि पर्‍यो ।

गया पुग्दा ११ बजिसकेको थियो । सोध्दै खोज्दै ‘नेपाली आश्रम गयाजी’को परिसरमा छिर्‍यौँ ।

पण्डासँग कुराकानी गर्न थाल्यौँ । भन्नलाई ‘नेपाली आश्रम’ भनिएको थियो । तर, नेपालीलाई नै ठग्ने तिनको चलनले हामीलाई एकछिन तिरिमिरी पार्‍यो ।

‘पर्तिबेदी १६ सय रुपैयाँभन्दा कममा हुन्दैन’ भनेपछि छट्पटिनुबाहेक अरू केही गर्न सकिने अवस्था रहेन । हामी १२ जना थियौँ, पतिपत्नी गरेर ६ जोडी । ६ वेदीका लागि तिनले एकमुष्ट श्राद्ध गराउने भए ।

श्राद्धकर्म सुरु गरे नेपाली पण्डाले । त्यसैबीच अर्को समूह आयो । त्यो समूह आउनासाथ श्राद्ध गराइरहेका पण्डा बीचैमा उठेर अर्को समूहसँग कुराकानी मिलाउन हिँडे । हामी हेरेको हेर्‍यै !

गयाजीमा यस्तै हुँदो रहेछ भन्ने लाग्यो । बोल्ने ठाउँ थिएन । जेनतेन श्राद्ध सिद्धियो । पछि मात्र थाहा भयो, नयाँ आएका समूहसँग पण्डाले १२ सय प्रतिवेदीमा कामकुरो टुंगो लगाएका रहेछन् ।

वाह गयाजी ! यतिबाहेक अरू केही भन्न सकेनौँ हामीले । ‘एकपटक गयाजी गएपछि अर्कोपटक जाने मन हुँदैन’ सायद त्यसैले भनिएको होला ।

खानाको अर्डर श्राद्ध गर्नुभन्दा अगाडि नै गरिएको थियो, आश्रम परिसरमै रहेको भोजनालयमा । श्राद्ध गरेर फर्किएपछि तिनले झनै झुलाए । १३ जनालाई खाना भनेको घरी ‘चावल बन रहा है’ त घरी ‘आँटा ले कर आता हुँ’ भन्छन् । 

‘चावल, दाल, रोटी, दो सब्जी और अचार पापड सलाद’ भनेर अर्डर लिएका तिनले हामीलाई अलिअलि भात, रोटी र थोरै तरकारीमै टारे । सोचेँ– ठगीको पनि हद हुन्छ !

गयाजी बस्ने ठाउँ रहेनछ ! सबैको एक मत भयो ‘यहाँ नबसौँ’ भन्नेमा । बाटोमै जता मिल्छ त्यतै बस्ने भनेर हामीले बिहारको हाइवे समात्यौँ ।

बिहार राज्यमा पनि फैलिएको बडेबडे हाइवेमा तुफान हुइँकिँदै गर्दा सबै भन्दै थिए, ‘बाटो त गज्जबकै बनाएका हुन् ।’

जानु थियो हरिद्वार । त्यसैले बाटोमा हरिद्वार नै सोध्दै राजमार्गमा कुदिरह्यौँ ।

गयाजीबाट निस्किएको केही बेरमै एउटा बजारको बीचमा ट्राफिकले रोके । चालक भाइले सिटबेल्ट लगाएका रहेनछन् । उनको बेल्टले यहाँ एक हजार भारु चुना लगायो ।

त्यति बुझाएर हामी नगद बुझ्ने ट्राफिकले नै देखाएको बाटो भएर अगाडि लम्कियौँ ।

‘यो बाटो कहाँ जाने हो...’ ‘कोसेली’ फिल्मको गीत मलाई यतिखेर सम्झना भइरहेछ । त्यो यात्रामा हामी बाटो हिँडिरहेका थियौँ, तर गन्तव्य कहाँ हो कहाँ ! 

साँझ ५ बजेतिर एउटा ढावामा रोकिएर चिया पियौँ । त्यहीँ पसल थापेर बसेका रमेश शर्माले त्यो ठाउँ औरंगाबाद भएको जनाउ दिँदै त्यहाँबाट बनारस १६० किलोमिटरजति भएको जानकारी दिए ।

आश्चर्य, हामी हरिद्वार ताकिरहेका थियौँ बनारसको बाटो समातेर ! त्यो सिधा बाटो बनारस पुग्ने थाहा भएपछि त्यहीँ पुगौँ भन्ने भयो । र, त्यो रात औरंगाबादको हाइवेमै रहेको एउटा होटेलमा बिताइयो । 

खासमा शर्माजीले भनेरै हामी त्यहाँ अडिएका थियौँ ।

उनी भन्दै थिए, ‘बनारस पहुँचते पहुँचते रातका ११ बज जाएगा । आप लोग कल सुबह निकलिए । यहीँ एक बसेरा है । वहीँ पर रात गुजारिए । वो अच्छा रहेगा ।’

०००

प्राचीन सांस्कृतिक तथा शैक्षिक नगरी काशी बनारस प्रवेश गर्दा बिहानको ११ बजिसकेको थियो । अग्रज साहित्यकार दुर्गाबहादुर श्रेष्ठ दाइ बनारसमै थिए । दाइसँग ह्वाट्सएपमा कुराकानी गरेर जगदम्बा भवन (नेपाली धर्मशाला)मा नै बस्ने निधो गरियो ।

तर, नेपाली धर्मशालासम्म पुग्नलाई हामीले बेल्नु पापड बेल्नुपर्‍यो । मैदागिनीमा पुगेको घण्टौँपछि मात्रै हामी बनारसको चर्चित गल्लीभित्र रहेको जगदम्बा महारानीले २०१७ सालमा स्थापना गरिदिएको जगदम्बा भवन प्रवेश गर्‍यौँ ।

दुर्गा दाइ त्यहीँ थिए । दाइले धर्मशाला व्यवस्थापक गंगा श्रेष्ठजी, सञ्चालक हरिश्चन्द्र गौतमजीसँग परिचय गराएपछि केही समय त्यतै आराम गर्‍यौँ ।

त्यो साँझ विश्वनाथ बाबाको नाममा बिताउनु थियो । विश्वनाथ बाबाको दर्शन, गंगा आरतीको आंशिक दर्शन र केही बेर त्यतैको बजार घुमघाममा समय बित्यो ।

अँध्यारोमा धर्मशालाको गल्ली नभएर अर्को गल्ली समातिने हो कि भन्ने डर पनि थियो । धन्न सही गल्ली समाएका रहेछौँ र धमशाला पुग्यौँ ।

अचेल नेपाली धर्मशालामा खासै त्यति नेपाली यात्रु जाँदा रहेनछन् । बाहिरबाहिरै बस्ता रहेछन् । धर्मशालाको व्यवस्थापन नराम्रो होइन, तथापि नेपालीको आगमनमा कमी आएकोमा दुःखमनाउ गर्दै थिए गंगाजी ।

पितृ तर्पणको कार्य भोलिपल्ट बिहान पञ्चगंगा घाटमा सम्पन्न भयो । उक्त घाट जगदम्बा भवनबाट पाँचछ मिनेटमै पुगिने रहेछ ।

अब बनारसबाट हरिद्वारको सोझो बाटो समाउनु थियो । यहाँबाट पक्कै सोझो बाटो भेटिन्छ होला ! त्यसैले हामीले प्रारम्भमै हरिद्वारको बाटो सोध्यौँ ।

देखाउनेले एउटा बाटो देखाए, त्यही बाटो भएर हिँडेका हामी अलमल परेर प्रयागराज पो पुग्यौँ । प्रयागराज हाम्रो यात्राको सूचीमा थिएन ।

‘झुक्याएरै भए पनि गंगाजीले बोलाउनुभएको हो, त्यसैले गंगाको संगममा सेचनसम्म त गरौँ । महाकुम्भमा आउन सकिएन क्यार !’ यस्तो कुरा समूहमा उठ्यो । त्यसो भए ‘जाऊँ’ भन्दै प्रयागराज संगममा पुग्यौँ ।

संगममा पुगेर गंगाजल सेचन गरेपछि फर्किने तारतम्य मिलाउँदै थियौँ, गाडीले धोका दियो ।

गाडी नबनुन्जेल करिब तीन घण्टा गंगा संगमछेउ त्यो रापिलो घाममा बस्दा लूले हान्छ कि भनेर हामी थर्कमान थियौँ ।

धन्न गाडी बन्यो । सुरेश केही बोल्न सकिरहेका थिएनन् । गाडीले यसरी धोका देला भन्ने सायद उनले पनि सोचेका थिएनन् ।

अब समाउनु थियो, हरिद्वारको मार्ग । एकदुईजनालाई सोध्दा तिनले हामी गलत बाटो हिँडेको बताए र देखाए रायबरेली जाने बाटो ।

त्यो बाटोमा हिँड्दा पनि हामी हरायौँ । एउटा बाटो समाउनुपर्ने अर्को बाटो समाएछौँ । भारतीय रुटका लागि चालक नयाँ र गुगल म्याप चलाउन नजान्ने हुँदाको दुःख हामी नराम्ररी व्यहोरिरहेका थियौँ ।

बीचमा चियाचमेनाका लागि रोकिँदा एकजना ट्रक ड्राइभरले एउटा छोटो बाटो भएर जान सुझाए । र, करिब २६ किलोमिटरको त्यो बाटो छिचोलेपछि मात्रै हामीले मूल राजमार्ग टेक्यौँ ।

त्यसबखत साँझको ६ बजिसकेको थियो । सुरेश थाकेका थिए । उनैले भने, ‘अब कतै बसौँ दाइ !’

चालकले नै हात उठाएपछि लगातार हिँड्ने कुरो पनि भएन । र, फेरि एकपल्ट राजमार्गछेउमा रहेको एउटा होटेलको सहारा लिन बाध्य भयौँ । यो थियो, प्रतापगढको हाइवे । 

भोलिपल्ट रायबरेलीलाई छेउ लगाउँँदै लखनऊ पुगेपछि हरिद्वारको बाटो समाउने आस देखियो । तथापि, हामीले अझै मूल बाटो समाउन सकिरहेका थिएनौँ ।

सोध्दै अनि अनेक नामधारी सहरगाउँ हुँदै बरेलीनिकट पुगेपछि मात्रै हरिद्वारको मार्ग फेला पर्‍यो । त्यसका लागि पनि एउटा ट्रकका सहचालकले सहयोग गरे ।

एउटा चौबाटोमा हामी अलमलिएर उभिएका थियौँ । एक लहर ट्रकहरू नजिकै अडिएका थिए । एउटा ट्रकको सहचालक बाहिर नै खडा थिए ।

हामीले उनैलाई सोध्यौँ । उनले दाहिनेतिर मोडिएको राजमार्ग देखाउँदै भने, ‘यो बाटो जाँदा हुन्छ । रामपुर, मुरादाबाद, नजिवाबाद हुँदै जानुस्, हरिद्वार पुग्नुहुन्छ ।’

उनले भनेझैँ त्यही बाटो मोडियौँ । मोडिएको केही बेरमै हरियो बोर्ड देखियो । लेखिएको थियो– मुरादाबाद यति किलोमिटर, नजिवाबाद यति किलोमिटर र हरिद्वार यति किलोमिटर । 

हरियोमा हरिद्वार देख्नासाथ सबैको अनुहारमा हरियाली छायो । यद्यपि, रात परिसकेकोले रामपुरकै एउटा होटेलमा बस्ने गरी रोकियौँ ।

यहाँसम्म आउँदा दाँतमा पटकपटक ढुंगा लाग्यो । खास गरी टोल ट्याक्समा । पटकपटक राजमार्ग अवस्थित टोलमा जरिवानासहितको पैसा तिर्दै हिँडिरहेका थियौँ । अन्त्यमा हिसाब गर्दा करिब पाँच हजार रुपैयाँ टोल ट्याक्स मात्रै तिरेका रहेछौँ ।

त्यसमाथि पटकपटकको होटेल खर्च पनि व्यहोर्नुपर्‍यो । सहरबजारतिर छिरेको भए स्थानीय धर्मशाला वा केही सस्ता होटेल पनि भेटिने थियो होला । तर, एक त राजमार्गमा होटेल कम, भए पनि दाम पसिना निकाल्ने खालको । यहाँ पनि ‘मरता क्या नही करता’कै अवस्था थियो ।

रामपुरका होटेल साहुले भने, ‘आप लोग तीर्थयात्री हैं । इसिलिए कुछ कम कर दे रहा हुं ।’ उनले १५ सय रुपैयाँ प्रतिकोठा मिलाए । एसीसहितको कोठा भएकोले १५ सय तिर्न माया लागेन ।

०००

भोलिपल्ट बिहान ११ बजे । वीरगन्जबाट हिँडेको छैटौँ दिनमा हामीले हरिद्वारको पूण्यभूमि टेकेका थियौँ । यहाँ सबैभन्दा पहिले बसोबास मिलाउनु थियो । हामीलाई जानु थियो, काली कमली धर्मशाला । तर, दलालहरूको चक्करमा अर्को ठाउँ छिर्नुपर्‍यो ।

त्यो दिन खाना खाएर केही बेर आराम गर्‍यौँ । पुग्नासाथ श्राद्ध गरेको भए हुने रहेछ । तर, सबैले भोलिपल्ट बिहान श्राद्ध गर्ने कुरो उठाए । उप्रान्त बद्रीनाथ जाने अनुमतिपत्र लिनु, साँझ गंगा आरती हेर्नु र रात्रिकालीन बजार घुम्ने काम मात्रै भयो ।

हरिद्वारस्थित गंगातटको विष्णुघाटमा श्राद्ध गरिसकेपछि बद्रीनाथतर्फ हाम्रो यात्रा मोडियो । हाम्रो गाडीले सिधै ऋषिकेश हुँदै बद्रीनाथको बाटो समायो । बीचमा एक ठाउँ खाना खान रोकेर केही अगाडि बढेका मात्रै थियौँ, प्रहरीचौकीमा रोकिनुपर्‍यो ।

प्रहरीले गाडीको बद्रीनाथधाम जाने अनुमतिपत्र (ग्रीन कार्ड) मागे । हामीसँग ग्रीन कार्ड अनुमतिपत्र थिएन । तिनले गाडी फर्काउन भन्दै आरटीओ अफिसमा गएर बद्रीनाथका लागि ग्रीन कार्ड बनाउन भने ।

‘मरता क्या नही करता’– मैले फेरि सम्झिएँ । यी यस्ता कामहरूका विषयमा चालकलाई जानकारी हुनुपर्ने थियो । तर, उनी हामीभन्दा पनि अनाडी निस्किए । यहाँ ‘वो सात दिन’ फिल्मको गीत सम्झना भयो, ‘अनाडी का खेलना, खेल का सत्यानाश’ । 

अब त आरटीओ पुग्नु नै थियो । पुग्यौँ । त्यहाँ पुगेर कागजात बनाउने ठाउँमा पुग्दा नै कागजात बनाउने लेखनदासले भने, ‘नेपाली गाडी मे लोचा है !’ 

लाग्यो, अब ग्रीन कार्ड पाइएन । कागजात बुझाउने ठाउँमा केही अनुरोध गर्‍यौँ । केही पैसा खर्च हुने भयो । तर, गाडीको बिमाको कागज र नेपालमा लगाइने ग्रीन स्टीकर नभएकोले पाँचसात हजार खर्च गरे पनि ग्रीन कार्ड पाउने आशा देखिएन ।

बद्रीनाथ बाबाको दर्शन गर्नै थियो । त्यसै बेला भारत–पाकिस्तानबीच तनाव सुरु भइसकेको थियो । त्यो परिस्थितिमा आफन्तहरू नेपाल फर्किनु भन्दै थिए ।

तर, यहाँसम्म आइसकेपछि एक दिनलाई भए पनि बद्रीनाथधाम पुग्नैपर्छ भन्ने भयो । र, यही निर्णय कार्यान्वयन गर्दै १२ सिटे गाडी भाडामा लिने टुंगो भयो ।

करिब २४ हजार भारुमा एउटा गाडी दुई दिनका लागि भाडामा लिइने भइयो, जसले बद्र्रीनाथधाम पुर्‍याउने र फर्काउने काम गर्ने भयो ।

सोच्दै नसोचेको गाँठ यहाँ गुमाउनुपर्ने भयो, हामीले लगेको गाडी ऋषिकेशमै थन्काएर । उल्टो पार्किङ शुल्क तिर्दै !

त्यो रात ऋषिकेशमै बिताउनुको विकल्प थिएन । चन्द्रा प्यालेस होटेलमा रात बितायौँ । गाडी पार्किङ दुई दिनलाई सोही होटेलअघिल्तिर हुने भयो ।

होटेलका म्यानेजर नेपालतिरैका रहेछन् । तर, धेरैअगाडिदेखि ऋषिकेशमै बसोबास गरेका । मृदुभाषी चाचाजीले दुई कोठा भाडामा दिए । खाना पनि तलै खुवाइने रहेछ ।

बिहानै गाडी लिएर होटेलमा आइपुगे ललित विष्ट । ललित चालक थिए । गाडी पनि सफा र राम्रो रहेछ, ‘ट्राभलर’ । तिनलाई सोधेँ, ‘नेपाली बोल्न आउँछ ?’

‘हम उत्तराखण्ड के ही विष्ट हैं । नेपाली नहीं बोलतें ।’

मैले गुवाहटीको ट्याक्सी चालक भाइ सम्झिएँ । उनी अड्किएर भए पनि नेपाली बोल्थे । यिनी बोल्दा रहेनछन् । विष्ट भएकोले मात्र आस गरेको थिएँ ।

ललितले गाडी हिँडाउँदा साढे ६ बजिसकेको थियो । बद्रीनाथस्थित वासस्थलमा पुग्दा साँझको ६ बज्न लागि सकेको थियो ।

हाफ सर्ट लगाएका हामीले बद्रीनाथधाम पुग्दा नपुग्दै ज्याकेट भिर्नुपर्‍यो । वरिपरिका डाँडाहरूमा हिउँ टल्किरहेको थियो । त्यस्तोमा चिसो स्वाभाविक थियो ।

‘परमार्थ लोक, बदरीनाथ’ परिसरमा रहेको एउटा होटेलमा दुई कोठामा रात बिताउने बन्दोबस्त मिल्यो । होटेलचाहिँ उत्पातै महँगो रहेछ । पैसा तिर्दा दाँतबाट पसिना नै निस्कियो, त्यस्तो हिमप्रदेशमा पनि !

जाडो भए पनि साँझको समय सदुपयोग गर्नु थियो । हामी सबै बद्रीनाथ बाबाको दर्शन गर्न लाम लाग्यौँ । करिब एक घण्टाभन्दा बढी समय लाइन लाग्नुपरेको थियो । हामी मात्रै होइन, त्यहाँ सबै लाइनमा थिए ।

भोलिपल्ट स्नानध्यानपछि पितृकार्यमा लागियो । ब्रह्म कपालामा गएर श्राद्ध गरेपछि पितृहरू तर्छन् भन्ने मान्यता छ । त्यहाँ पुगेपछि ब्रह्म कपाली गर्नु नै थियो । पिण्डदानसहित श्राद्ध गरियो र पवित्र अलखनन्दामा पिण्ड विसर्जन गरियो ।

त्यहाँ पनि पण्डाहरूलाई रकम राम्रै बुझाउनुपर्‍यो । तर, यहाँसम्म आइसकेपछि १५ सय दुई हजारको के मुख हेर्नु ! सबैको त्यही राय रह्यो ।

लगत्तै चियापान गरेर बद्रीनाथधामबाट ओरालो लागियो । बद्री विशालाको धरा छोड्दा करिब १० बजिसकेको थियो । विष्ट भाइले पनि आरामले गाडी गुडाउन थाले ।

८ बजे ऋषिकेश पुग्ने अनुमान गरिए पनि उनले साढे ६ बजे होटेलअगाडि हामीलाई छोडेका थिए । चाँडो पुगेकोले केही समय ऋषिकेश बजारमा घुमघामको समय हामीले पाएका थियौँ ।

बद्रीनाथधामबाट फर्किंदा ललित भाइसँग नेपाल पस्ने छोटो बाटो कुन होला भन्ने विषयमा चर्चा चल्यो । उनले ऋषिकेश पुगेपछि बाटो सुझाउने कुरो गरे ।

चन्द्रा प्यालेसअघिल्तिर एकएक कप चियाले थकाई मार्दै गर्दा उनले बताए– नजिबाबादबाट मुरादाबाद नगएर काशीपुरको बाटो समाउँदै रुद्रपुर, किच्छा, सितारगंज, नानकमत्ता हुँदै बनबासा पुग्न सकिन्छ ।

उनले बिहान हिँडे दिउँसोसम्म पुग्न सकिने बताएका थिए । होटेलका म्यानेजरले नेपालगन्ज निस्किने बाटो बताए । तर, हामीलाई सहज बनबासा नै लाग्यो । त्यो रात फेरि ऋषिकेशकै बास भयो ।

बिहान ६ बजेतिर हामीले ऋषिकेश छोडिसकेका थियौँ । तर, यता जाने कि उता जाने भन्दा भन्दै हामी हरिद्वारबाट अर्कै बाटो मोडिएछौँ । तीनचार किलोमिटर अगाडि गएपछि मात्र अलमलिएको थाहा भयो ।

यस्ता अलमल त यो यात्रामा कति भए कति ! यसलाई अलमलको यात्रा भनिदिँदा पनि कुनै फरक नपर्ने हुन्छ ।

हामीले नजिवाबादबाट काशीपुरको बाटो समात्यौँ । र, रुद्रपुरमा खाना खान रोकियौँ । सबैलाई भोक लागिसकेको थियो ।

त्यहाँका ट्राफिकको नजर नेपाली नम्बर प्लेटको हाम्रो गाडीमा परेको देख्यौँ । यस्ता नजर धेरै ठाउँमा परेको हो, रुद्रपुरमा मात्र होइन ।

सायद तिनीहरूकै नजर लाग्यो कि कसो, खाना खाईवरी गाडीमा बसेपछि गाडी स्टार्ट हुन मानेन । एकछिन सुरेश भाइ खटिए । उनको दिमागले नभ्याएपछि मिस्त्री ल्याउनैपर्‍यो, जसले साढे दुई घण्टाको समय र पाँच हजार रुपैयाँ सर्लक्कै खायो ।

वास्तवमा ललित विष्टले बताएको बाटो सजिलो रहेछ । बीचमा गाडी नबिग्रिएको भए हामी दिउँसो दुई बजे नै बनबासा पुगिसक्ने रहेछौँ । तर, पुग्यौँ पौने पाँच बजेतिर ।

त्यहाँ दुईदुई घण्टाको फरकमा ढाट खोलिने रहेछ । त्यसैले केही समय बनबासा बजारमा किनमेल गर्ने मौका मिल्यो ।

बनबासा बोर्डर कार्यालयले हामीलाई फेरि रोक्यो । पहिलो गाँससँगै अनेक ढुंगा व्यहोर्दै आएका हामीलाई यहाँ झन् गाह्रो भयो । हामी फर्किनुपर्ने बाटो रक्सौल नै रहेछ । यताबाट फर्किने अनुमति रहेनछ । तर, सुरेश भाइ बाटोका विषयमा त्यत्रो गलफती हुँदा चुइँक्कसम्म बोलेनन् ।

नेपालबाट केही किलोमिटरको दूरीमा रहेका हामी फेरि रुद्रपुरतिरै फर्किनु भनेको ‘काशी जानु कुत्तीको बाटो’ हुन्थ्यो । अर्को कुरा, उताबाट जाँदा खर्च पनि केही बढी नै हुन्थ्यो । त्यसैले यहाँ पनि रक्सौलकै उपाय अपनाइयो र बोर्डरबाट छुटकारा पाइयो ।

२५ सय भारुको हाराहारीमा त्यहाँ चढाएर हामी तुफान कुद्यौँ, अत्तरियातिर ।

रात नेपालकै अत्तरियामा बिताउने निधो भइसकेको थियो ।  

प्रकाशित मिति: शनिबार, साउन ३१, २०८२  ०५:४२
प्रतिक्रिया दिनुहोस्