site stats
बाह्रखरी :: Baahrakhari
साहित्य
‘गोपाल योञ्जन र नारायण गोपालबीच कुनै झगडा थिएन’

काठमाडौं । पठन संस्कृतिको विस्तारका लागि क्रियाशील अभियान बूकाहोलिक्सले यसपटक चकटी बहसमा ‘गोपाल योञ्जन’ पुस्तकमाथि परिचर्चा गरेको छ । नेपाली सांगीतिक जगतका एक ध्रुवतारा गोपाल योञ्जनमाथि लेखिएका आलेखहरूको सँगालो हो ‘गोपाल योञ्जन’ ।

शुक्रबार काठमाडौंमा सम्पन्न चकटी बहसमा वक्ता प्रभाकर गौतमले नेपाली सांगीतिक क्षेत्रका प्रतिष्ठित व्यक्तित्वहरूका बारेमा लेखिएको पुस्तक तथा जीवनी कम आएको चर्चा गर्दै यस्ता पुस्तकहरू अझै आउनु पर्नेका जोड दिए ।

उनले पुस्तक ‘गोपाल योञ्जन’मा १११ जनाको संस्मरणात्मक तथा अन्य आलेखहरू समेटिएको उल्लेख गर्दै ती आलेखले संगीतकार, गीतकार र गायक गोपाल योञ्जनका विषयमा थुप्रै जानकारी दिएको उल्लेख गरे । 

टुक्राटुक्रामा आएकाले कतिपय आलेख पढ्दा पढ्दै सकिएको अनुभूति भएको चर्चा गर्दै गौतमले यसभित्र अझै पनि योञ्जनका धेरै कुरा नआएको अनुभव भएको बताए ।

अर्का वक्ता भूपेन्द्र खड्काले ‘गोपाल योञ्जन’ पुस्तकभित्र निकै प्रसंगहरू आएको उल्लेख गर्दै उनी एक शक्तिशाली गीतकार, संगीतकार र गायक भएको बताए ।

खड्काले योञ्जनका बारेमा बोल्दै नेपाली संगीतका समकालीन विज्ञ व्यक्तिहरूका लेख, रचनाका माध्यमबाट गोपालको संगीत, गीत रचना र गायकी के कस्तो थियो ! त्यसबारेमा विस्तृत रूपमा जानकारी आउन सकेको भए अझ राम्रो हुने विचार व्यक्त गरे । 

गोपाल योञ्जनमा संगीत सिर्जनाको अद्भूत कला रहेको आफूले उनका समकालीन सर्जकहरूबाट थाहा पाएको खड्काको भनाइ थियो । 

गोपाल योञ्जनकी पत्नी रिञ्छेन योञ्जनले पुस्तक प्रकाशनकाबारेमा बोल्दै पुस्तक प्रकाशनमा लामो समय लागेको बताइन् । उनले गोपाल योञ्जनसँगका विभिन्न रोचक प्रसंग साझा गर्दै उनी बितेपछि गरिएका कामहरूका विषयमा पनि जानकारी गराइन् ।

सन् १९६३ को अप्रिलमा गोपाल योञ्जन र नारायणगोपालको भेटघाट भएको सन्दर्भ उल्लेख गर्दै दुवै मितज्यूहरूका बीचमा कुनै पनि किसिमको झगडा नभएको उल्लेख गरिन् । 

१३ वर्ष पूरा गरी १४औँ वर्षमा प्रवेश गरेको बुकाहोलिक्स र त्यसले गरेका कामहरूका विषयमा संस्थापक सगुना शाहले जानकारी गराइन् । कार्यक्रममा गोपाल योञ्जनद्वारा रचित तथा संगीतबद्ध गीतहरू पनि विभिन्न कलाकारले प्रस्तुत गरेका थिए ।

प्रकाशित मिति: शुक्रबार, साउन ३०, २०८२  २२:१९
प्रतिक्रिया दिनुहोस्