site stats
बाह्रखरी :: Baahrakhari
देश
पर्यटन विभागका निर्देशक यादवविरुद्ध झन्डै ९७ लाख रुपैयाँको भ्रष्टाचार मुद्दा

काठमाडौं । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले पर्यटन विभागका निर्देशक (सीडीई) सचिन्द्रकुमार यादवविरुद्ध सम्पत्तिको स्रोत खुलाउन नसकेको अभियोगमा भ्रष्टाचार मुद्दा लगाएको छ ।

आयोगले यादवसँग भएको सम्पत्तिमाथि अनुसन्धान गर्दा ९६ लाख ८५ हजार ५५३ रुपैयाँ १९ पैसाको स्रोत पुष्टि नभएकाले गैरकानुनी सम्पत्ति आर्जनको अभियोग लगाएको हो ।

आयोगले बिहीबार (साउन २९) विशेष अदालतमा दायर मुद्दामा यादवले पदीय दुरुपयोग गरी भ्रष्टाचार गरेको दाबी लिएको छ । आयोगले गैरकानुनी रूपमा आर्जित सम्पत्ति पत्नी आशाकुमारी यादवका नाममा राखेको देखिएको भन्दै उक्त सम्पत्ति प्रचलित कानुनानुसार जफत गर्न माग गरेको छ ।

आयोगका अनुसार, ०६६ जेठ २४ देखि ०७९ साउन २९ गतेसम्मको अवधिमा यादवले आर्जित सम्पत्तिमा अनुसन्धान गरेको थियो । उक्त अवधिमा घरजग्गा खरिद, निर्माण, कर्जा भुक्तानी, सेयर खरिद, शैक्षिक खर्च, बिमा प्रिमियम तथा बैंक खातामा मौज्दातलगायत शीर्षकमा तीन करोड ६५ लाख चार हजार ४५३ रुपैयाँ ९१ पैसा सम्पत्ति लगानी र जोडिएको देखिन्छ ।

पारिश्रमिक, भत्ता, बिमा रकम, हिमाल आरोहणका क्रममा प्राप्त पारिश्रमिक, परामर्श सेवा शुल्क, घरबहाल, बैठक भत्ता, कर्जा, कृषि आय, जग्गा बिक्री तथा बैंक ब्याजलगायत माध्यमबाट उनीसहित उनका परिवारका नाममा रहेको दुई करोड ६८ लाख १८ हजार ९०० रुपैयाँ ७२ पैसाको स्रोत देखिन्छ ।

उनीसँग भएको बाँकी सम्पत्तिको वैधानिक स्रोत नदेखिएको हुँदा भ्रष्टाचार मुद्दा लगाइएको हो । आयोगले गैरकानुनी सम्पत्ति आर्जन गरी अमिल्दो र अस्वाभाविक उच्च जीवनस्तर यापन गरेको पुष्टि भएको दाबी लिएको लिएको छ ।

आयोगका अनुसार, आर्जित सम्पूर्ण सम्पत्तिको स्रोत वैधानिक रूपमा वस्तुनिष्ठ आधार तथा प्रमाणबाट प्रमाणित गर्न नसकेको हुँदा सार्वजनिक पदमा बहाल रहँदा पदीय हैसियतको दुरुपयोग गरी आर्जन गरेको ठहरिएको हो । आयोगले बिगोबराबर जरिवाना र कैद सजायको माग गरेको छ ।

प्रकाशित मिति: बिहीबार, साउन २९, २०८२  १६:०९
प्रतिक्रिया दिनुहोस्