काठमाडौं । गत वर्षदेखि प्रदान गरिँदै आइएको ‘मौलाशोभा राई आमा सम्मान’ यस वर्ष धरान उपमहानगरपालिका प्रमुख हर्क सामपाङकी माता जसमाया राईलाई प्रदान गरिने निर्णय गरिएको छ ।
नेपाली राजनीति, समाजसेवा, श्रम अभियान, विकास र सुशासन अभियानमा हर्क साम्पाङले गरेको योगदानस्वरूप उनकी आमालाई यो सम्मानद्वारा सम्मानित गर्न लागिएको जनाइएको छ ।
हालै आयोजित एक कार्यक्रममा सम्मान आयोजक समितिका संयोजक डा. सुकराज राईले उक्त सम्मानको निर्णय भएको घोषणा गरे ।
केपिलास गढी–२ खोटाङ, हाल धरान बस्ने जसमाया राईलाई नगद राशि ५० हजारसहित उक्त सम्मान प्रदान गरिने जनाइएको छ ।
गत वर्षदेखि प्रदान गरिँदै आएको उक्त सम्मान अनलाइन अभिलेख प्रालिका संस्थापक साहित्यकार डा. पुरण राईले आफ्नी आमाको नाममा स्थापना गरेका हुन् । गत वर्ष उक्त सम्मान कवि दीपा राई पुनकी आमालाई प्रदान गरिएको थियो ।