site stats
बाह्रखरी :: Baahrakhari
विदेश
इजरायलले गाजाका प्यालेस्टाइनीहरूलाई दक्षिण सुडानमा पुनर्वास गराउने !

काठमाडौं । इजरायलले गाजा क्षेत्रका प्यालेस्टाइनीहरूलाई युद्धग्रस्त पूर्वी अफ्रिकी देश दक्षिण सुडानमा पुनर्वास गर्ने सम्भावनाबारे छलफल गरिरहेको छ । 

यो छलफल इजरायलको २२ महिनाको हमासविरुद्धको आक्रमणले ध्वस्त भएको क्षेत्रबाट ठूलो संख्यामा आप्रवासलाई प्रोत्साहन गर्ने प्रयासको हिस्सा भएको द एसोसिएटेड प्रेसलाई उदृत गर्दै सीएनएनले जनाएको छ ।

यो योजना लागु भए भोकमरीको जोखिममा रहेको युद्धग्रस्त भूमिबाट अर्को युद्धग्रस्त भूमिमा मानिसहरूलाई स्थानान्तरण गर्ने कार्य हुनेछ । यो कदमले मानव अधिकारका चिन्ताहरू अन्तर्राष्ट्रियस्तरमा उठाउने बताइएको छ ।

इजरायली प्रधानमन्त्री बेन्जामिन नेतन्याहूले अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पको गाजाको अधिकांश जनसंख्यालाई स्थानान्तरण गर्ने दृष्टिकोणलाई कार्यान्वयन गर्न चाहेको बताएका छन् । यसलाई नेतन्याहूले स्वैच्छिक आप्रवासन भनेका छन् ।
 
इजरायलले अन्य अफ्रिकी राष्ट्रहरूसँग पनि यस्तै पुनर्वास प्रस्तावहरू अघि सारेको छ । मंगलबार इजरायली टेलिभिजन च्यानल आई२४ सँगको अन्तर्वार्तामा नेतन्याहूले युद्ध भइरहेका ठाउँका जनसंख्यालाई बाहिर निस्कन अनुमति दिनु र त्यसपछि त्यहाँ बाँकी रहेका शत्रुहरूलाई पूर्ण शक्तिका साथ आक्रमण गर्नु युद्धका नियम भएको बताए । तर, उनले दक्षिण सुडानको उल्लेख गरेनन् ।

प्यालेस्टाइनीहरू, मानव अधिकार समूहहरू र अन्तर्राष्ट्रिय समुदायको ठूलो हिस्साले यी प्रस्तावहरूलाई अन्तर्राष्ट्रिय कानुनको उल्लंघन भन्दै यसलाई अस्वीकार गरेका छन् ।

दक्षिण सुडानका लागि यस्तो सम्झौताले मध्यपूर्वमा लगभग अपराजेय सैन्य शक्ति बनेको इजरायलसँग नजिकको सम्बन्ध बनाउन सहयोग गर्नसक्ने बताइएको छ । 

इजरायलका उप–विदेश मन्त्री शेरेन हास्केलको कार्यालयले उनले दक्षिण सुडानका वरिष्ठ सरकारी अधिकारीको भ्रमणका लागि बैठकहरू गर्न त्यहाँ पुग्ने बताएको छ । तर, उनले प्यालेस्टाइनीहरूलाई स्थानान्तरण गर्ने विषयमा छलफल गर्ने योजना नरहेको कार्यालयले दाबी गरेको छ । सीएनएन

प्रकाशित मिति: बिहीबार, साउन २९, २०८२  ०७:२४
प्रतिक्रिया दिनुहोस्