काठमाडौं । संयुक्त राष्ट्रसंघका महासचिव एन्टोनियो गुटेरेसले इजरायलको गाजा कब्जा गर्ने निर्णयमा चिन्ता व्यक्त गरेका छन् । इजरायलले गाजा कब्जा गरेमा प्यालेस्टाइनीका निम्ति खतरा बढ्ने उनले बताए ।
उक्त निर्णयले खतरनाक तनाव वृद्धिको संकेत गरेको उनले उल्लेख गरे । यसले लाखौँ प्यालेस्टाइनी र बाँकी बन्धकसहित अरू व्यक्तिहरूको जीवन खतरामा पार्न सक्ने उनले बताए ।
महासचिव गुटेरेसले गाजामा प्यालेस्टाइनीले भयावह मानवीय संकट झेलिरहेको पनि बताए । इजरायलले गाजा कब्जा गरेमा जबरजस्ती विस्थापन, हत्या र व्यापक विनाश हुने उनले चेतावनी दिए । यसले गाजाका प्यालेस्टाइनी जनताको पीडा अझै बढाउने उनको भनाइ छ ।
उनले स्थायी युद्धविराम, गाजामा निर्बाध मानवीय पहुँच र सबै बन्धकको तत्काल र बिनासर्त रिहाइको अपिल पनि गरे । इजरायल सरकारलाई अन्तर्राष्ट्रिय कानुनअन्तर्गत आफ्नो दायित्व पालना गर्न उनले पुनः आग्रह गरे ।
गुटेरेसले भने, “यो अवैध कब्जा अन्त्य नगरेसम्म र व्यावहारिक दुई–राज्य समाधान प्राप्त नहुँदासम्म यो द्वन्द्वको स्थायी समाधान सम्भव छैन । गाजा प्यालेस्टाइनी राज्यको अभिन्न हिस्सा हो र त्यसलाई कायम राख्नुपर्छ ।”