
विराटनगर । सुनसरीको इटहरी उपमहानगरपालिकाले कोसी प्रदेशमै पहिलोपटक विद्युतीय नगर बस संचालन गर्यो । चारवटा विद्युतीय बस भित्र्याइयो । इटहरीभित्र रुट तोकी सञ्चालन गरियो । दुर्घटनाबाट क्षति भएपछि केही समय बसको सेवा रोकियो ।
तर, अहिले सबै रुटमा बस सञ्चालन भइरहेको उपमहागनरले जनाएको छ । इटहरीले ६ करोड ३६ लाख ८६ हजार ८०० रुपैयाँ खर्च गरेर चारवटा विद्युतीय बस खरिद गरेको थियो ।
तर, नगरका बस रित्तै गुड्ने गरेको पाइएको छ । स्थानीयले अव्यवहारिक रुटका कारण दिनभरमा एक/दुई पटकमात्र बस आउने गरेको गुनासो गर्दै आएका छन् । यात्रुहरू रुट अव्यवहारिक भएको बताउँछन् । यसको सञ्चालन खर्च उपमहागनरबाटै हुँदै छ ।
इटहरीका मेयर हेमकर्ण पौडेलले सिटीबस निर्वाध संचालन भइरहेको बताएका छन् ।
मोरङको बेलबारी नगरपालिकाले विद्युतीय बस खरिद गरेको तीन महिना बित्यो । तर, भुक्तानी विवादले सेवा सुरु हुन सकेको छैन । तीन महिनाअघि खरिद भएका विद्युतीय नगर बस थन्किएर बसेका छन् ।
आपूर्तिकर्ता कम्पनी र नगरपालिकाबीच अन्तिम किस्ताको भुक्तानी विवाद चुलिँदा बस कार्यालय परिसरमै थन्किएका छन् । नगरपालिकाले काठमाडौंस्थित नेशनल फायर सेफ प्रालिबाट भ्याटबाहेक एक करोड १६ लाख रुपैयाँमा आधुनिक १८ सिटे ई–बस खरिद गरेको थियो । तर, सम्झौतामा उल्लेख नभएको भन्दै चार्जिङ स्टेसन निर्माणको विषय उठाएर नगरपालिकाले करिब ३० लाख रुपैयाँको अन्तिम किस्ता रोकेपछि बस सञ्चालनमा आउन नसकेको हो ।
कम्पनीका सञ्चालक खगेन्द्र कार्कीले सम्झौतामा चार्जिङ स्टेसनको कुनै प्रावधान नभएको र नगरपालिकाले अनावश्यक अड्चन सिर्जना गरेको आरोप लगाएका छन् । “बसको सबै प्रक्रिया पूरा गरी इन्जिनियरबाट मूल्यांकन प्रतिवेदन समेत बुझाइएको छ,” उनले भने, “तर चार्जिङ स्टेसन नबनाएको बहानामा भुक्तानी रोकिएको छ ।”
यद्यपि, सम्झौतामा ‘ई–बस विथ चार्जिङ स्टेसन’ भन्ने शब्द परेको छ । तर, कार्की स्पेसिफिकेसनमा भए पनि त्यो प्राविधिक पक्ष स्पष्ट नभएको र सम्झौता दस्तावेजमा यसको जिम्मेवारी कम्पनीलाई नलगाएको दाबी गर्छन् । बेलबारीमा प्रदेश सरकारले छुट्टै चार्जिङ स्टेसन निर्माण गरिसकेको छ । तर, ट्रान्सफर्मरको अभावमा हालसम्म सञ्चालनमा आउन सकेको छैन । यसले गर्दा बस सञ्चालन झन् ढिलाइ भएको आपूर्तिकर्ताको भनाइ छ ।
नगरपालिकाका लेखा प्रमुख धनमाया राई अन्तिम किस्ता भुक्तानी प्राविधिक स्पष्टता प्राप्त भएपछि मात्र दिने बताउँछिन् । “चार्जिङ स्टेसनसम्बन्धी अस्पष्टताका कारण भुक्तानी प्रक्रिया रोकिएको हो,” उनले भनिन्, “अब मेकानिकल इन्जिनियरको प्रतिवेदनपछि मात्र प्रक्रिया अघि बढ्नेछ ।”
विराटनगरमा टुंगो छैन
विराटनगर महानगरपालिकाले २०७९ फागुनमा रुट परीक्षण गरी केही समयभित्र १९ वटै वडामा पहुँच पुग्नेगरी डिजेल बस खरिद गरेर नगरबस चलाउने घोषणा गरेको थियो । तर, नगरबस संचालन अझै अनिश्चित छ ।
डिजेल बसमै बसी मेयर नागेश कोइराला र उपमेयर शिल्पा निराला कार्कीले रुट परीक्षण गरेका थिए । त्यो सफल भएको घोषणा गरेका थिए । महानगरले सार्वजनिक–निजी साझेदारी अवधारणा अनुसार हालै नगर बस सेवा संचालन गर्न निजी क्षेत्रसँग प्रस्ताव आह्वान गरेको छ ।
यही भदौ ८ गते दिउँसो १२ बजेभित्र इच्छुक कम्पनीहरूले प्रस्ताव पेस गरिसक्न सूचित गरिएको छ । सोही दिन आर्थिक र प्राविधिक प्रस्ताव खोलिने महानगरले जनाएको छ ।
सार्वजनिक–निजी साझेदारी ऐन, २०७८ को दफा २० बमोजिम ३० दिने सूचना प्रकाशन गरिएको छ । तर, त्यसमा प्रस्ताव दर्ता भएको छैन ।
निजी कम्पनीसँग २० वर्षको सम्झौता गरेर नगर बस संचालन गर्ने महानगरको तयारी छ । बस सञ्चालन गर्न चाहने निजी कम्पनीले सुरुमा कम्तीमा १० वटा वातावरणमैत्री बस संचालन गर्नुपर्ने सर्त राखेको छ ।
बसहरू आधुनिक, वातानुकूलित र प्रस्ताव अनुसारका हुनुपर्ने जनाइएको छ । पहिलो चरणमा पाँचवटा रूटमा बस संचालन गर्नुपर्ने र प्रत्येक रूटमा दैनिक कम्तीमा तीनपटक ओहोरदोहोर गर्नुपर्न सर्त छ ।
फोटो क्याप्सन : बेलबारी नगरपालिकाले खरिद गरेको नगरबस ।