site stats
बाह्रखरी :: Baahrakhari
देश
सिरहामा १०३ किलो गाँजासहित नौजना पक्राउ
प्रतीकात्मक तस्बिर ।

सिरहा । सिरहाको औरही गाउँपालिका–४, कमलपुरबाट ठूलो परिमाणमा लागुऔषध गाँजासहित नौजनालाई प्रहरीले पक्राउ गरेको छ । शनिबार (साउन १७) बिहान ४ बजेको समयमा विशेष सूचनाका आधारमा प्रहरीले छापा मारी उनीहरूलाई नियन्त्रणमा लिएको हो ।

जिल्ला प्रहरी कार्यालयका प्रमुख एवं प्रहरी उपरीक्षक अनन्तराम शर्माले पक्राउ पर्नेमा पाँच भरिया, एक ‘रेकी’ गर्ने व्यक्ति, गाँजा साहु र खरिद गर्न आएका दुई भारतीय नागरिक रहेका बताए ।

भरियामा गोलबजार नगरपालिका–१, मक्सारका ४२ वर्षीय जयराम जोशी, ३० वर्षीय शिवकुमार सदा, २२ वर्षीय कृष्ण सदा, १८ वर्षीय सुरज सदा र १७ वर्षीय पशुपति सदा छन् । रेकी गर्ने व्यक्ति औरही गाउँपालिका–३ का ४२ वर्षीय राजेन्द्र यादव र साहु गोलबजार–१, मक्सारकै ३२ वर्षीय जीवछ साह हुन् ।

खरिद गर्न आएका भारतीय नागरिक मधुवनी जिल्ला कुमरखद ग्राम पञ्चायत–१४ का ३० वर्षीय धर्मेशकुमार कामति र ३९ वर्षीय वैधनाथ चौधरी हुन् । चौधरीको साथबाट नेपाली रुपैयाँ ४५ हजार पनि बरामद गरिएको प्रहरीले जनाएको छ ।

प्रहरी उपरीक्षक शर्माका अनुसार, गाँजा पाँच बोरामा हालेर आँपको बगैँचामा लुकाएर राखिएको थियो । सुरुमा गाँजा ओसार्दै गरेका भरिया फेला परेका थिए । उनीहरूलाई केरकार गर्दै जाँदा बाँकी समूह गाँजासहित फेला परेको हो ।

पक्राउ परेकाविरुद्ध लागुऔषधसम्बन्धी मुद्दामा अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ । रासस

प्रकाशित मिति: शनिबार, साउन १७, २०८२  १८:५६
प्रतिक्रिया दिनुहोस्