
काठमाडौं । आपसी मिलेमतोमा वास्तविक कामभन्दा बढीको प्रतिवेदन बनाउँदै भुक्तानी दिएको अभियोगमा अख्तियार दुरुपयोग अनुसन्धान आयोगले भ्रष्टाचार मुद्दा लगाएको छ ।
दुर्गम मुगुको सोरु गाउँपालिकाका तत्कालीन प्रमुख प्रकाशकीय अधिकृत वीरेन्द्र मल्ल, इन्जिनियर प्रकाश आचार्य, सबइन्जिनियर जगतबहादुर मल्लसहित १२ जनालाई अभियुक्त बनाउँदै आइतबार विशेष अदालतमा मुद्दा दायर गरेको हो ।
त्यसअतिरिक्त आयोगले गाउँपालिका लेखापाल जेठबहादुर बुढा, योजना शाखा प्रमुख नबिन बुमी, उपभोक्ता समितिका चक्रबहादुर छत्याल, विष्णु छत्याल, घोगीसरा शाही, मुकुन्दे दमाइ, अनुगमन समिति संयोजक दलबीर सार्की, पुने शाही, तत्कालीन वडाध्यक्ष मिसिन्द्र शाहीलाई पनि अभियुक्त बनाएको छ ।
आयोगले बढी नापजाँच गरी रकम भुक्तानी गरेको उजुरी परेपछि अनुसन्धान हो । गाउँपालिकाको आर्थिक वर्ष २०७७/०७८ को भौतिक पूर्वाधार कार्यक्रमअन्तर्गत सञ्चालन भएको उक्त आयोजनाका लागि ३६ लाख ४० हजार विनियोजन गरिएको थियो । जनश्रमदानमार्फत तीन लाख ७३ हजार ४३९.४४ रुपैयाँ थप गरी आयोजनाको लागत ४० लाख १३ हजार ४३९.४४ रुपैयाँ पुगेको थियो । उपभोक्ता समितिसँग २०७८ जेठ १० गते सम्झौता गरी काम सुरु गरिएको थियो ।
तर, वास्तविक कामअनुसार नापी नगरी फर्जी रूपमा बढी काम भएको देखाएर प्रतिवेदन तयार पारेको तथ्य फेला पारेपछि मुद्दा चलाउनु परेको आयोगले जनाएको छ । आयोगले बिगोबराबर जरिवाना र कैद सजायको दाबी लिएको छ ।