
काठमाडौं । प्रहरीले युवराज गुरुङ भनिने ‘सानुभाइ’लाई अभद्र कसुरमा अनुसन्धान थालेको छ । पटकपटक पक्राउ पर्दै छुट्दै आएका नुवाकोट ककनी–५ का युवराजलाई प्रहरी वृत्त सोह्रखुट्टेको टोलीले गए राति ठमेलबाट पक्राउ गरेको हो । उनलाई प्रहरीले अभद्र व्यवहार मुद्दामा अनुसन्धान गर्न थुनामा राखेको छ । ठमेलस्थित नगरकोट दोहोरी साँझमा लफडा गर्दा उनी पक्राउ परेका थिए ।
प्रहरीका अनुसार, लामो समयदेखि गुन्डागर्दीको दुनियाँमा रमाउँदै आएका सानुभाइ अझै अपराधकर्मबाट उम्किन सकेका छैनन् । पर्यटकीय क्षेत्र ठमेललाई मुख्य आधारकेन्द्र बनाएर आपराधिक गतिविधि गर्दै आएका सानुभाइ दुई वर्षअघि पनि क्लब ओम्नियाका सञ्चालकमाथि क्लबमै कुटपिट गरेको आरोपमा पक्राउ परेका थिए ।
त्यो बेला लामो समय देशबाहिर भागेका सानुभाइ पछि अदालत हाजिर भएर धरौटीमा छुटेका थिए । अझै पनि सानुभाइले गुन्डागर्दीको धन्दा नछोडेको पछिल्लो घटनाले पुष्टि गरेको छ । ओम्नियाका सञ्चालकमाथि कुटपिट गर्दाको भिडियो नै सार्वजनिक भएको थियो ।
बुधबार राति पनि दोहोरी साँझका सञ्चालकमाथि आक्रमणको प्रयास भएको प्रहरीले जनाएको छ । प्रहरीका अनुसार, अझै पनि ठमेलका अधिकांश रेस्टुरेन्टमा सानुभाइको समूह खाएको बिलसमेत नतिरी हिँड्छ । तर, प्रहरीलाई जानकारी दिँदा भविष्यमा आफैँलाई अप्ठेरो पर्न सक्ने डरले व्यवसायीले गुनासोसमेत गर्दैनन् ।
सानुभाइ यसअघि पनि पटकपटक पक्राउ पर्दै छुट्दै आएका छन् । प्रहरीको इन्काउन्टरमा मारिएका नुवाकोटकै 'गुन्डा नाइके' कुमार घैँटेका प्रमुख सहयोगी भएर अपराधकर्ममा सक्रिय सानुभाइ पछिल्लो समय आफ्नै समूह बनाएर सक्रिय छन् ।
सानुभाइले २०६७ सालमा नुवाकोटका निर्माण व्यवसायी अनिल श्रेष्ठलाई गोली प्रहार गरेका थिए । त्यस अभियोगपछि फरार रहँदै आएका सानुभाइलाई ०७२ मा प्रहरीले बुलेटप्रुफ ज्याकेट लगाएर हिँडिरहेको अवस्थामै पक्राउ गरेको थियो ।
उनको साथबाट प्रहरीले लोड गरिएको पेस्तोलसमेत बरामद गरेको थियो । सानुभाइकै समूहले २०७८ सालमा नुवाकोट निवासी निर्माण व्यवसायी जितबहादुर कार्कीमाथि समेत आक्रमण गरेका थिए ।
प्रहरीका अनुसार, पछिल्लो समय अधिकांश गुन्डा नाइके आपराधिक गतिविधि छाडेर राजनीतिमा लागे पनि सानुभाइ उम्किन सकेका छैनन् । पछिल्ला लगातारका घटनाले उनले आपराधिक गतिविधि झन् विस्तार गर्दै आएको देखाउँछ । प्रहरीको अपराध तथ्यांक अनुसार सानुभाइ यसअघि पाँचपटक पक्राउ परेर छुटेका छन् ।
गुन्डागर्दीबारे अनुसन्धान गर्ने एक प्रहरी अधिकारीका अनुसार, सानुभाइ ०६७ सालबाट प्रहरीको नजरमा पर्न थालेका हुन् । ०६७ साल कात्तिकमा महाराजगञ्जबाट पक्राउ परेका थिए । त्यो बेला उनीमाथि प्रहरीले ज्यान मार्ने उद्योगमा अनुसन्धान थालेको थियो ।
यसरी नै ०७२ पुसमा उनी पुनः दोस्रोपटक पक्राउ परे । त्यो बेला प्रहरीले उनीविरुद्ध हातहतियार खरखजना मुद्दामा अनुसन्धान थालेको थियो ।
उनी ०७६ पुसमा दरबारमार्गबाट पुनः पक्राउ परे । उनलाई ०८० असारमा लैनचौर र पछि दरबारमार्गबाट समेत पक्राउ गरिएको थियो ।
प्रहरी स्रोत उनको केही प्रहरी अधिकारीसित बाक्लो हिमचिमसमेत रहेको बताउँछ । सानुभाइ हालसमेत नेपाली कांग्रेस निकट तरुणदलको राजनीतिमा सक्रिय छन् ।
काठमाडौं जिल्ला प्रहरी परिसरका एसपी कुलदीप चन्दका अनुसार, बुधबार उनीसहित प्रहरीले राजेन्द्र गुरुङ र दिलकुमार लिम्बुलाई पनि पक्राउ गरेको छ । राजेन्द्र र सानुभाइबीच हानाहान भएको खुलेको छ । उनीहरूबीच पुरानै रिसइबी थियो । यसअघि, पनि राजेन्द्रमाथि आक्रमण गरेको आरोपमा उनी पक्राउ परेका थिए ।
आपराधिक गतिविधिमा संलग्न गुन्डा नाइकेहरूको राजनीतिक साइनो नयाँ भने होइन । गम्भीर प्रकृतिका आपराधिक कार्यमा संलग्न भएका कतिपय गुन्डा नाइके अहिले राजनीतिमा सक्रिय छन् । कतिपय राजनीतिक दलमा महत्त्वपूर्ण पदमै पुगेका छन् ।
गुन्डागर्दीको दुनियाँमा कुख्याती कमाएका दीपक मनाङे मनाङ ‘ख’बाट प्रदेशसभा सदस्य निर्वाचित भई गण्डकी प्रदेश सरकारका मन्त्री नै बने । अर्का 'गुन्डा नाइके' चक्रे मिलन भनेर चिनिने मिलन गुरुङमाथि खुकुरी प्रहारको अभियोगमा दोषी ठहर भई उनी जेलमा छन् ।
०६१ मा मनाङेको समूहले चक्रे मिलनमाथि महाराजगञ्जस्थित चुफाङ रेस्टुरेन्टमा खुँडा प्रहार गरेको थियो । खुँडा प्रहार छेक्ने क्रममा चक्रे मिलनको देब्रे हात पूरै छिनेको थियो । छिनालिएको हात बोकेर नै अस्पताल पुगेका चक्रेको हात महाराजगञ्ज अस्पतालले जोडेको थियो ।
गुरुङका अपराध कर्मका समकालीन अर्का 'गुन्डा नाइके' गणेश लामा कांग्रेसकै राजनीतिमा सक्रिय छन् । गणेश लामालाई गुन्डागर्दीको दुनियाँमा छिराउने पात्रसमेत मनाङे नै थिए ।
०६० को दशकको उत्तरार्धमा उभारमा आएको रक्तचन्दन तस्करीमा गणेश लामाको समूह काभ्रे क्षेत्रमा सक्रिय थियो । यसमा प्रहरीका उच्च अधिकारी र दलीय नेताहरूको समेत ठूलो आड थियो ।
०७२ यता भने प्रहरी गुन्डा नाइकेमाथि आक्रामकरूपमा उत्रियो । प्रहरीको 'इन्काउन्टर'मा धादिङका गुन्डा नाइके दिनेश अधिकारी ‘चरी’, नुवाकोटका कुमार श्रेष्ठ ‘घैँटे’, रूपन्देहीका मनोज पुन र ओम आले मारिए ।
त्यसपछि देशभर गुन्डागर्दी गर्ने युवा पलायनदेखि राजनीतिक ओतमा लागे । पछिल्लो समय धादिङका गुन्डा नाइके राधाकृष्ण भण्डारी ‘राधे’समेत नेपाली कांग्रेसको राजनीतिमा छन् । केही समय अघिमात्रै उनी पनि खुकुरी प्रहार गरेको आरोपमा पक्राउ परेका थिए ।
यसरी नै काभ्रेका अर्का गुन्डा नाइके जितेन्द्रमान तामाङ उर्फ ‘दावा लामा’ काभ्रे भुम्लु गाउँपालिकाको अध्यक्ष नै बनेका छन् । अर्का चर्चित 'गुन्डा नाइके' समीरमान सिंह बस्नेत सुन्धारा कारागारमा छन् । उनी निर्माण व्यवसायी संघका तत्कालीन अध्यक्ष शरदकुमार गौचनको हत्या अभियोग दोषी ठहर भएर जेल चलान भएका थिए । उनीमाथि जेलभित्रैबाट गुन्डागर्दीको सञ्चाल फैलाएको आरोप छ ।
अर्का 'गुन्डा नाइके' रमेश बाहुन भनिने सुजन पौडेल भने १० वर्ष जेल सजाय भुक्तान गरेर थुनामुक्त भएका थिए । हाल उनी युरोप हानिएका छन् । उनले ललितपुरका कांग्रेस नेता मीनकृष्ण मर्हजनमाथि गोलीसमेत हानेका थिए ।