
काठमाडौं । गएको आमनिर्वाचनयता सबैभन्दा बढी चर्चाका पात्र हुन्, रवि लामिछाने । २०७९ मंसिरमा भएको प्रतिनिधिसभा चुनावसँगै नयाँ राजनीतिक शक्तिका नेताका रूपमा उदाएका लामिछाने त्यसयता सधैं चर्चामा छन् ।
त्यसो त, राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) बनाउँदै उदाउनुअघि सञ्चारकर्मीका रूपमा पनि उनी चर्चाकै शिखरमै थिए । चुनावमा रास्वपाले २० सिट जित्दै प्रतिनिधिसभामा चौथो ठूलो दल बन्यो ।
लामिछाने आफैँ छोटो समयका लागि भए पनि दुई–दुई पटक उपप्रधान तथा गृहमन्त्री बने । गृहमन्त्री हुँदादेखि कानुनी हैसियत गुमाएका लामिछाने पछिल्लो समय भने जेल जीवन भोग्दैछन् ।
पहिलो चोटि गृहमन्त्री हुँदाकै बेला दोहोरो नागरिकता प्रकरणमा दोषी ठहरिँदा उनको गृहमन्त्री पद मात्रै गएन, सांसद पद पनि गुम्यो ।
तर, उनी पुनः चितवनबाटै उपनिर्वाचनमा विजयी भए । दोस्रो पटक पनि गृहमन्त्रीका रूपमा संसद् भवन र सिंहदरबार छिरे । तर, सहकारी ठगी काण्ड एकपछि अर्को गर्दै उजागर हुँदै गए ।
दोस्रोपटक गृहमन्त्री बनिरहँदा उनी पोखरा, काठमाडौं, चितवन, रुपन्देही र पर्साका सहकारी प्रकरणमा जोडिएको तथ्यांक बाहिर आयो । उनीमाथि छानबिन भयो । हाल लामिछाने रुपन्देहीको सुप्रिम सहकारी ठगी प्रकरणमा जेल पुगेका हुन् ।
पोखराको सूर्यदर्शन, चितवनको साहारा, काठमाडौंको स्वर्णलक्ष्मी सहकारी ठगी प्रकरणमा भने उनी धरौटीमा थुनामुक्त भएका थिए । सुप्रिम सहकारीको रकम ठगी प्रकरणमा पनि जिल्ला अदालत रुपन्देहीले २०८१ माघमा लामिछानेलाई एक करोड रुपैयाँ धरौटीमा छाड्ने आदेश गरेको थियो ।
तर, जिल्ला अदालतको आदेशलाई २०८१ चैतमा उच्च अदालत तुलसीपुरको बुटवल इजलासले बदर गर्दै थुनामा पठाउने आदेश गरेलगत्तै उनी काठमाडौंमा पक्राउ परे । चैतयता उनी रुपन्देही कारागारभित्र थुनुवा कैदी बनेका छन् । तर, पाँच महिनादेखि थुनामा रहेका लामिछाने रुपन्देही कारागार बस्न चाहँदैनन् ।
रुपन्देही कारागारबाट अन्यत्र सार्न एक महिनाअघि नै उनले कारागार प्रशासनमा निवेदन दिएका थिए । तर, कारागार व्यवस्था विभागले अस्वीकार गर्दै आएको छ ।
यसबीच उनले अभियोजन गर्दा तोकिएको बिगो रकम दुई करोड ७४ लाख तिरेर थुनामुक्त हुन पाउँ भन्दै अदालतमा निवेदन दिए । तर, मंगलबार जिल्ला अदालत रुपन्देहीले खारेज गर्यो ।
यसबीच, लामिछानेलाई थुनिएको रुपन्देही कारागारमा मानव अधिकार हनन भएको भन्दै अर्को चर्चा सुरु भएको छ । राष्ट्रिय मानव अधिकार आयोगको टोली सोमबार रुपन्देही कारागार पुगी अनुगमन पनि गर्यो ।
आयोगकी सदस्य लिली थापाको नेतृत्वमा गएको टोलीले लामिछानेलाई न्यूनतम सुविधा नदिएको तथ्य बाहिर ल्याएको छ । थापाले भनिन्, ‘‘रुपन्देही कारागारको २५० जनाको क्षमता हुँदा हुँदै ७०० कैदी राखिँदा मानव अधिकारको अवस्था दयनीय छ । रवि लामिछानेलाई छुट्टै राखिएको छ, तर एउटा झ्यालसम्म कपडाले बारिएको छ ।’’
उनका अनुसार, कोठामा बाथरुम र ट्वाइलेट एट्याच छ, तर सुरक्षाका कारण देखाएर बाहिर घुमफिर गर्न दिइएको छैन ।
यसबारे बुधबार सिंहदरबारमा बसेको कानुन, न्याय तथा मानव अधिकार समितिको बैठकमा गृहमन्त्री रमेश लेखकले लामिछानेको कारागार सार्ने विषयमा छलफल भइरहेको र सुरक्षाका कारण बाहिर घुमफिर गर्न नदिएको बताए ।
यसअघि पनि लामिछानेलाई चितवनबाट मध्यरातमा पोखरा अड्डासार गर्दा मानव अधिकार उल्लंघन भएको भन्दै विरोध भएको थियो । त्यस घटनामा मानव अधिकार आयोगले तत्कालीन प्रहरी प्रमुख आईजीपी बसन्त कुँवरलाई कार्यालयमै बोलाएको थियो । तर उनी नगई एआईजीलाई पठाएका थिए ।
रवि बाहेक, राज्यको उच्च तहमा पुगेका एमाले सांसद तथा पूर्व उपप्रधानमन्त्री टोपबहादुर रायमाझी, गुण्डागर्दी पृष्ठभूमिका पूर्व गण्डकी प्रदेश मन्त्री दीपक मनाङे, पूर्वराज्यमन्त्री सञ्जय साह पनि जेलमा छन् ।
कस्तो छ सञ्जयदेखि टोपबहादुरको जेल बसाइँ ?
नेपालीलाई नक्कली भुटानी शरणार्थी बनाएर अमेरिका पठाउने प्रकरणमा पूर्वगृहमन्त्री बालकृष्ण खाँण, तत्कालीन गृहसचिव टेकनारायण पाण्डे, सांसद एवं पूर्वउपप्रधानमन्त्री टोपबहादुर रायमाझीसहित १९ जना पक्राउ परेका थिए ।
२०७९ चैतमा पक्राउ परेकालाई जिल्ला अदालत काठमाडौंले पुर्पक्षका लागि जेल पठायो । तर, ०८० मंसिरमा उच्च अदालत पाटनले खाँणसहित सात जनालाई धरौटीमा छाड्ने आदेश दियो । पाण्डे र रायमाझीसहित ११ जना अझै जेलमै छन् । पाण्डे जेलमै रहँदै सचिव पदबाट अवकाशमा गए ।
रायमाझीलाई सुन्धारास्थित भद्रगोल जेलमा राखिएको छ, जहाँ करिब २ हजार कैदीबन्दी छन् ।
जेलर कृष्ण कटुवालका अनुसार, उनले अन्य कैदीझैँ सामान्य सुविधा पाएका छन् । रायमाझीसँग कोठामा अर्को कैदी छन् र टीभी उनले आफैँ जडान गरेका छन् । भेटघाट भने अन्यको तुलनामा बढी हुने गरेको छ ।
जेलर कटुवालले भने, ‘‘हाम्रा लागि सबै कैदीबन्दी र थुनुवा सबै एकै हुन् । राज्यले दिने सुविधाबाट कसैलाई पनि बञ्चित गरिँदैन । सबैलाई सामान हिसाबले राखेको छौं ।’’
रायमाझी योगा, वाकिङ र अध्ययनमा समय बिताउँछन् । उता पाण्डे सुन्धाराकै केन्द्रीय कारागारमा छन् । अधिकांश ‘भीआईपी’ कैदी चारखाललस्थित डिल्लीबजार कारागार रुचाउँछन् । यिनीहरु यी दुवै सुन्धारामै छन् ।
उच्च अदालतले थुनामुक्त गर्नुअघि बालकृष्ण खाँण पनि सुन्धारा कारागारमै राखिएको थियो ।
पछिल्लो समय सुन्धारा कारागारमा केही भवनहरु नयाँ बनेका कारण पहिलाभन्दा सुविधासम्पन्न छ । गुण्डागर्दी पृष्ठभूमिका गण्डकी प्रदेश सांसद तथा मन्त्री बनेका दीपक मनाङे डिल्लीबजार कारागारमा छन् । उनी ०६१ वैशाखमा तरवार प्रहार घटनामा दोषी ठहरिएपछि गत कात्तिक सर्वोच्च अदालतको आदेशमा पक्राउ परेका थिए । करिब २१ वर्षपछि उनी दोषी ठहरिएका हुन् ।
गोरखाका मिलन गुरुङ उर्फ चक्रे मिलनमाथि ०६१ वैशाख ३१ काठमाडौंको पानीपोखरीमा तरवार प्रहार गरेको घटना दोषी ठहर भएपछि जेल पुगेका हुन् । हाल त चक्रे मिलन पनि प्रहरी थुनामै पुगेका छन् ।
मनाङे ०७४ र ०७९ दुवैमा चुनाव जितेर मन्त्रीसम्म बनेका थिए । हाल उनी १५ जना अट्ने ठूलो हलमा अन्य कैदीसँगै बस्छन् । सबै छुट्टा–छुट्टै टिभी हेर्छन् र एयरफोन प्रयोग गर्छन् । यसरी नै पूर्वराज्यमन्त्री सञ्जय साह भने ललितपुरको नख्खु कारागारमा छन् । २०६९ वैशाखमा जनकपुरको रामानन्द चौकमा भएको बम विस्फोटमा संलग्न ठहरिँदै उनले जन्मकैदको सजाय पाएका थिए ।
उनकै योजनामा विरोध कार्यक्रममा बम विस्फोट गराएको खुलेको थियो । उक्त घटनामा पाँच जनाको ज्यान गएको थियो । उनी २०७१ वैशाखमा पक्राउ परेका थिए । उनी पहिलो संविधानसभा (२०६४) मा धनुषा–४ बाट र दोस्रोमा धनुषा–३ बाट विजयी भएका थिए ।
पहिलो पटक तत्कालीन मधेशी जनअधिकार फोरम र दोस्रो चोटि तत्कालीन सद्भावना पार्टीका तर्फबाट धनुषा–३ मा विजयी भए । त्यसपछि साह भौतिक योजना तथा पूर्वाधार राज्यमन्त्री बनेका थिए । जेलर भीमराज कोइरालाले भने, “साह १० वर्षदेखि सामान्य रूपमा बस्नुहुन्छ । उहाँका कोठामा दुई जना अन्य कैदी पनि छन् । बिहान–बेलुकी भित्रकै मैदानमा डुल्ने र सामान्य गफगाफ गर्नुहुन्छ ।”