site stats
बाह्रखरी :: Baahrakhari
विदेश
अरब र मुस्लिम राष्ट्रहरूले गरे हमासको निशस्त्रीकरण र गाजामा सत्ता छोड्न आह्वान

काठमाडौं । गाजा क्षेत्रमा युद्ध अन्त्य गर्ने प्रयासको हिस्सा कतार, साउदी अरेबिया र इजिप्टसहितका अरब र मुस्लिम राष्ट्रहरूले पहिलोपटक संयुक्त रूपमा हमासलाई निशस्त्रीकरण गर्न र गाजा पट्टीमा सत्ता छोड्न आह्वान गरेका छन् ।

अरब र मुस्लिम राष्ट्रहरूले २२ सदस्यीय अरब लिग, सम्पूर्ण युरोपेली संघ र अन्य १७ देशहरूले मंगलबार साउदी अरेबिया र फ्रान्सले संयुक्तरूपमा आयोजना गरेको संयुक्त राष्ट्रसंघको सम्मेलनमा हस्ताक्षरित घोषणालाई समर्थन गरका छन् ।

न्युयोर्कमा आयोजित यो बैठकले ‘प्यालेस्टाइन प्रश्नको शान्तिपूर्ण समाधान र दुई राज्य समाधानको कार्यान्वयन’ कार्यक्रमलाई सम्बोधन गर्ने उद्देश्य राखेको थियो । यो घोषणाले हस्ताक्षरकर्ताहरूले अब लिनुपर्ने कदमहरूको रूपरेखा प्रस्तुत गरेको सीएनएनले जनाएको छ ।

“सबै प्यालेस्टाइनी क्षेत्रमा शासन, कानुन कार्यान्वयन र सुरक्षा उपयुक्त अन्तर्राष्ट्रिय समर्थनसहित केवल प्यालेस्टाइन प्राधिकरणको हातमा हुनुपर्छ,” संयुक्त दस्तावेजमा उल्लेख छ ।

यसमा भनिएको छ, “गाजामा युद्ध अन्त्य गर्ने सन्दर्भमा हमासले गाजामा आफ्नो शासन अन्त्य गर्नुपर्छ र अन्तर्राष्ट्रिय संलग्नता र समर्थनसहित, सार्वभौम तथा स्वतन्त्र प्यालेस्टाइन राज्यको उद्देश्यअनुरूप आफ्ना हतियारहरू प्यालेस्टाइनी प्राधिकरणलाई सुम्पनुपर्छ ।”

दस्तावेजले ७ अक्टोबर २०२३ मा हमासले इजरायलमाथि गरेको घातक आक्रमणको निन्दा गरेको छ । प्यालेस्टाइनी प्राधिकरणको निमन्त्रणामा र संयुक्त राष्ट्रसंघको तत्वावधानमा अस्थायी अन्तर्राष्ट्रिय स्थिरीकरण मिसन तैनाथ गर्ने प्रस्ताव गरेको छ ।

“हामीले केही सदस्य राष्ट्रहरूले सैनिक योगदान गर्न तयार रहेको अभिव्यक्तिलाई स्वागत गरेका छौँ,” दस्तावेजमा भनिएको छ । सीएनएन

प्रकाशित मिति: बिहीबार, साउन १५, २०८२  ०८:५७
प्रतिक्रिया दिनुहोस्