काठमाडौं । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले गाजामा ‘वास्तविक भोकमरी’ भइरहेको बताएका छन् । इजरायली प्रधानमन्त्री बेन्जामिन नेतन्याहूले गाजामा भोकमरी नभएको र हमासको प्रचारबाजी मात्र भएको दाबी गरिरहेका बेला ट्रम्पको यस्तो भनाइ आएको हो ।
“इजरायलले गाजामा भोकमरी निम्त्याइरहेको भन्ने आरोप ‘नांगो झुट’ हो”, भन्ने नेतन्याहूको भनाइसँग सहमत छ कि भन्ने प्रश्नमा ट्रम्पले भने, “मलाई थाहा छैन । तर, ती बालबालिकाहरू धेरै भोका देखिन्छन् र त्यो त वास्तविक भोकमरी नै हो ।”
ट्रम्पले गाजाको भोकमरी अन्त्यका लागि कसैले पनि राम्रोसँग काम नगरेको बताए । ट्रम्पको यो टिप्पणी संयुक्त राष्ट्रसंघका मानवीय सहायता प्रमुखले गाजामा भोकमरी टार्न व्यापक मात्रामा खाद्यान्न आवश्यक भएको बताएको केही समयपछि आएको हो ।
संयुक्त राष्ट्रसंघका मानवीय समन्वय प्रमुख टम फ्लेचरले बीबीसीसँग इजरायलले सप्ताहन्तमा हवाई मार्गबाट थप सहायता र खाद्य काफिलाहरूलाई पुग्न दिन सैन्य गतिविधिमा रोक लगाउने निर्णयको स्वागत गरे ।
तर, उनले हालसम्म पुगेको सहायता आवश्यकताको तुलनामा समुद्रमा एक थोपा पानी जस्तो मात्रै भएको बताए ।
इजरायलले आइतबार पहिलोपटक दैनिक १० घण्टे ‘रणनीतिक विराम’ लागु गरेको बताउँदै त्यस अवधिमा १२० ट्रक सामान सीमा नाकाबाट प्रवेश गरेको र जोर्डन तथा संयुक्त अरब इमिरेट्सबाट २८ वटा खाद्य प्याकेज हवाई मार्गबाट गाजामा पठाइएको जानकारी गराएको छ ।
फ्लेचरको भनाइपछि केही घण्टामै हमासद्वारा सञ्चालित गाजाको स्वास्थ्य मन्त्रालयले कुपोषणका कारण विगत २४ घण्टामा थप १४ जनाको मृत्यु भएको जनाएको छ ।
मन्त्रालयका अनुसार, अक्टोबर २०२३ मा युद्ध सुरु भएयता कुपोषणसम्बन्धी मृत्युको कुल संख्या १४७ पुगेको छ, जसमा ८८ बालबालिका छन् ।
गाजामा सबै आपूर्तिको प्रवेश नियन्त्रण गर्ने इजरायलले भने त्यहाँ भोकमरी भइरहेको भन्ने आरोप अस्वीकार गर्दै आएको छ । खाद्यान्न अभावको दोष आफूमाथि लगाइएको भन्दै खण्डन गरेको छ । बीबीसी