site stats
बाह्रखरी :: Baahrakhari
विदेश
गाजामा भोकमरी : ओबामाले भने– खानापानी रोक्नुको कुनै अर्थ छैन

काठमाडौं । अमेरिकाका पूर्वराष्ट्रपति बाराक ओबामाले गाजामा मानवीय सहायता प्रदान गर्नुपर्नेमा जोड दिएका छन् । गाजाका सहायता पुर्‍याउन अनुमति दिइनुपर्ने र नागरिकलाई खानापानी रोक्नुको कुनै औचित्य नभएको उनले उल्लेख गरेका छन् ।

न्युयोर्क टाइम्सको एक लेख सामाजिक सञ्जालमा एक सेयर गर्दै उनले लेखेका छन्, “गाजा संकटको स्थायी समाधानका निम्ति सबै बन्धकको फिर्ती र इजरायलको सैन्य अभियानको अन्त्य आवश्यक भए पनि यी लेखहरूले रोक्न सकिने भोकमरीबाट मर्ने निर्दोषहरूको उपहास रोक्न तत्काल कारबाहीको आवश्यकतालाई जोड दिन्छ ।”

उनले अर्को पोस्टमा भनेका छन्, “गाजाका मानिसलाई सहायता पुर्‍याउन अनुमति दिइनुपर्छ । नागरिक परिवारबाट खाना र पानी टाढा राख्नुको कुनै औचित्य छैन ।”

इजरायल गाजामा आफ्नो सैन्य आक्रमणका कारण आलोचनाको केन्द्रमा भएका बेला ओबामाको यो भनाइ आएको हो ।

गाजामा भोकमरीको चिन्ता बढिरहेको छ । र, इजरायलले २१ महिनाको युद्धमा आफ्नो आचरणका कारण आलोचनाको सामना गर्नुपरेको छ ।

बढ्दो दबाबबीच इजरायली सेनाले आइतबार (जुलाई २७)देखि गाजाका तीन जनघनत्व भएका क्षेत्रमा हरेक दिन १० घण्टाका निम्ति लडाइँलाई सीमित रूपमा रोक्न सुरु गरेको छ । यसबीचमा गाजामा ‘एयर ड्रप’मार्फत खाद्यसामग्री खसालिएको छ ।

यो राहत केवल तीन क्षेत्र – गाजा सिटी, दीर अल–बलाह र मुवासीका निम्ति भएको जनाइएको छ । यी तीनवटै ठूला जनघनत्व भएका क्षेत्र हुन् ।

प्रकाशित मिति: सोमबार, साउन १२, २०८२  १०:४०
प्रतिक्रिया दिनुहोस्