काठमाडौं । इजरायलले नयाँ मानवीय सहायता वितरणका उपायहरूको घोषणा गरेपछि जोर्डन र यूएईले गाजामा विमानहरूबाट खाद्य सामग्रीहरू खसाल्ने काम (एयर ड्रप) सञ्चालन गरेका छन् ।
जोर्डनको सरकारी टेलिभिजनले जनाएअनुसार, रोयल जोर्डनियन वायुसेनाले संयुक्त अरब इमिरेट्ससँग मिलेर गाजामा २५ टन खाद्य पदार्थ र आवश्यक मानवीय सहायता सामग्री ड्रप गर्ने कार्यमा संलग्न भएको बताएको छ ।
इजरायल डिफेन्स फोर्स (आईडीएफ)ले सहायता एजेन्सीहरूले गाजापट्टीमा कुपोषण फैलिरहेको चेतावनी दिएपछि जानाजानी भोकमरीको झुटो दाबीलाई खण्डन गर्न भन्दै सहायता मार्गहरू स्थापना भइरहेको बताएको छ ।
जोर्डनले ६० ट्रक आवश्यक खाद्य सामग्री पनि पठाइरहेको देशको सरकारी समाचार एजेन्सीले जनाएको छ । इजिप्टले पनि स्थलमार्गबाट थप सहायता पुर्याइरहेको बताएको छ ।
सहायता संस्थाहरूले बारम्बार एयर ड्रपहरू गाजाको संकट समाधान गर्न पर्याप्त नभएको चेतावनी दिएका छन् ।
गाजाका करिब २० लाख जनसंख्यालाई एक छाक खाना प्रदान गर्न मात्रै दिनमा करिब १६० हवाई ड्रप उडानहरू आवश्यक पर्ने बीबीसीले जनाएको छ ।
युनिसेफले इजरायलले गाजामा सहायता वितरण वृद्धि गर्न सैन्य कारबाहीहरूलाई रोक लागाउने घोषणाको स्वागत गरेको छ । “यो संकटलाई उल्टाउने र जीवन जोगाउने अवसर हो,” संयुक्त राष्ट्रसंघको निकायले भनेको छ ।
युनिसेफले हाम्रा खाद्य गाडीहरूको आवागमनलाई सहज बनाउन थप तोकिएका मानवीय मार्गहरू बनाइयो भने धेरै कुरा गर्न सक्न बताएको छ ।
यसैबीच मेडेन्स सान्स फ्रन्टियर्स (एमएसएफ)का आपतकालीन सञ्चालन निर्देशकले गाजाका केही भागमा लडाइँ रोकिएको खबर सकारात्मक बताए पनि इजरायलले घोषणा गरेका नयाँ सहायता उपायहरू गाजापट्टीमा व्यापक कुपोषणको डरसँग लड्न पर्याप्त नभएको चेतावनी दिएका छन् ।
संयुक्त राष्ट्रसंघका मानवअधिकार उच्चायुक्त भोल्कर तुर्कले विश्वभरका सरकारहरूलाई आफ्नो प्रभाव प्रयोग गरी इजरायलमाथि गाजामा युद्ध अन्त्य गर्न दबाब दिन आह्वान गरेका छन् ।