site stats
बाह्रखरी :: Baahrakhari
देश
एक वर्षमा १३७ भ्रष्टाचार मुद्दा, ७५३ प्रतिवादीसँग ६ अर्ब बिगो दाबी

काठमाडौं । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले एक वर्षको अवधिमा १३७ वटा भ्रष्टाचार मुद्दा विशेष अदालत काठमाडौंमा दायर गरेको छ । गत आर्थिक वर्ष २०८१/८२ मा (२०८१ साउन १ गतेदेखि २०८२ असार मसान्तसम्मको अवधिमा) १३७ मुद्दामा ७५३ जनालाई प्रतिवादी बनाइएको अख्तियारले जनाएको छ ।

उनीहरूसँग पाँच अर्ब ९७ करोड ७३ लाख ८ हजार ८३८ रुपैयाँ बिगो मागदाबी गरिएको अख्तियारले सार्वजनिक गरेको आर्थिक वर्ष २०८१/८२ को वार्षिक विवरणमा उल्लेख छ ।

दायर गरिएका मुद्दामा घुस/रिसवतसँग सम्बन्धित ३७ वटा, गैरकानुनी लाभ वा हानीसँग सम्बन्धित ३६ वटा, झुट्टा/नक्कली शैक्षिक योग्यताको प्रमाणपत्रसम्बन्धी २७ वटा, सार्वजनिक सम्पत्तिको हानी नोक्सानीसँग सम्बन्धित २३ वटा छन् ।

यस्तै, गैरकानुनी सम्पत्ति आर्जनसम्बन्धी आठ, सम्पत्ति शुद्धीकरणसम्बन्धी दुई र विविध विषयका चार मुद्दा छन् । रंगेहात कारबाही २२ वटा भएकामा ३३ जना व्यक्ति नियन्त्रणमा लिई उनीहरूबाट ५५ लाख १० हजार रुपैयाँ बरामद गरिएको अख्तियारले जनाएको छ ।

आर्थिक वर्ष २०८१/८२ मा आयोगमा विभिन्न माध्यमबाट ३७ हजार २६ उजुरी थिए । ती उजुरीमध्ये २८ हजार ५९७ उजुरी गत आर्थिक वर्षमात्र परेका थिए । अघिल्लो आर्थिक वर्ष २०८०/८१ बाट जिम्मेवारी सरेर आठ हजार ४२९ उजुरी आएका थिए ।

अख्तियारले अघिल्लो आर्थिक वर्ष २०८०/८१ मा २०१ वटा मुद्दा विशेष अदालतमा दायर गरेको थियो । ती मुद्दामा एकहजार ५२० जनालाई प्रतिवादी बनाइएको थियो । आठ अर्ब ३५ करोड १२ लाख ९८ हजार १४२ रुपैयाँ ४६ पैसा बिगो मागदाबी गरिएको थियो ।

प्रकाशित मिति: आइतबार, साउन ११, २०८२  १२:२४
प्रतिक्रिया दिनुहोस्