
काठमाडौं । पोहरको तुलनामा यो वर्ष तिजका गीत केही कम हुने देखिएको छ । हालसम्मका म्युजिक भिडियोको संख्या हेर्दा यसपालि तिजका गीत गत वर्षको तुलनामा कम आउने संकेत देखिएको हो । स्टुडियोमा तुलनात्मक रूपमा रेकर्डिङ पनि कम भइरहेको छ ।
म्युजिक भिडियो निर्देशक मौसम हिमालीले यसपालि हालसम्म तिजका करिब एक दर्जन भिडियो निर्देशन गरिसकेका छन् । उनको हातमा थप आधा दर्जन गीत छन्, भिडियो निर्देशन गर्न बाँकी छ ।
“हालसम्मको समयलाई गत वर्षको यही अवधिसम्मलाई तुलना गर्ने हो भने यो वर्ष तिजका गीत केही कम आउने हो कि जस्तो देखिएको छ,” मौसम भन्छन्, “हुनत अहिले स्टुडियोमा गीत रेकर्ड भइरहेका छन् । एकैपटक धेरै आए भने छुट्टै हो, होइन भने यो वर्ष तुलनात्मक रूपमा तिजका गीत कम आउने हो कि जस्तो देखिन्छ ।”
वर्षभरि आएका गीत धेरै नचल्नु र बजार चलायमान नहुँदा तिजगीत कम हुने सम्भावना रहेको उनी बताउँछन् । “वर्षभरि गीत नचल्दा त्यसको असर तिजका गीतमा परेको हो,” उनी भन्छन्, “वर्षभरि नै गीत चले भने त्यसको प्रभाव तिजका गीतमा पनि देखिन्छ । अगाडि आएका गीत नचलेपछि लगानी डुब्ने डरले धेरैले लगानी गर्दैनन् ।”
म्युजिक भिडियो निर्देशक शान थापा पनि यो वर्ष तिजका गीत कम रहेको बताउँछन् । अहिलेसम्म म्युजिक भिडियो छायांकनमा गइरहेको ट्रेन्ड हेर्दा विगतका वर्षहरूको तुलनामा तिजका गीत कम आउने करिबकरिब निश्चितजस्तै देखिएको उनको भनाइ छ ।
“मेरो कुरा गर्दा त म हरेक तिजमा दुईतीनवटा मात्रै भिडियो निर्देशन गर्छु । योपटक पनि दुईतीनवटाभन्दा धेरै गर्दिनँ,” शान भन्छन्, “तीजका गीतमा धेरै नयाँ प्रयोग गर्ने ठाउँ हुँदैन । रातो साडी लगाएर महिला दिदीबहिनीलाई नचाउनेबाहेक खासै धेरै केही नहुने भएकाले धेरै भिडियोको काम लिन्नँ ।”
समग्रमा यो वर्ष गीतको संख्या नै घटेको छ । र, तिजका गीत पनि घटेको उनी प्रस्ट पार्छन् ।
तिजका गीतको संख्या घट्नुको कारण चलचित्र निर्माणको क्रम बढ्नु रहेको उनी बताउँछन् । “सरसर्ती हेर्दा जुन वर्ष चलचित्र धेरै निर्माण हुन्छन्, त्यो वर्षैभरि सबै प्रकारका गीत र तिज गीतको संख्या पनि घट्छ,” निर्देशक शान भन्छन्, “गत वर्षदेखि नै चलचित्र बन्नेक्रम उल्लेख्य संख्यामा बढ्दा यो वर्ष गीत गीत रेकर्डिङ र त्यसको म्युजिक भिडियो संख्या पनि घटेको छ । यसको प्रभाव तिजगीतमा पनि परेको छ ।”
म्युजिक भिडियो निर्देशक रामजी लामिछाने तिजका मात्र भन्दा पनि पछिल्लो समय यसको छेको पारेर अरू गीत धेरै ल्याइने गरेको बताउँछन् । तिजगीत सिजनल र आयु छोटो हुने भएकाले पछिल्लो समय यो मौकामा अरू गीत धेरै ल्याइने गरेको उनको अनुभव छ ।
“तिजका गीत भन्नेबित्तिकै एक महिना मात्रै बज्ने भए । तर, लगानीको हिसाबले उस्तै हो । त्यसैले तिजमै ल्याउने तर तिज स्पेसलभन्दा पनि अरू नै गीत सार्वजनिक भइरहेका छन्,” रामजी भन्छन्, “तिजकै लागि भनेर बनाइएको १० वटा भिडियो निर्देशन गरिसकेँ । अब आठवटा काम गर्नै बाँकी छ ।” यो सिजनमा तिजका भन्दा अरू गीत धेरै रिलिज भइरहेको उनको भनाइ छ ।
सबै गीत सदाबहार होस् भन्ने उद्देश्यले तिजकेन्द्रित गर्नेको संख्या कम हुँदै गएको उनको अनुभव छ । नारीको वेदना, वर्षभरि घरमा पाएको दुःख वा चोटभन्दा पनि अरू नै विषयका गीत ल्याइनुले बाह्रैमास बज्ने गीतमा सर्जक तथा लगानीकर्ताले ध्यान दिइरहेको उनी सुनाउँछन् । तिजगीतमा भन्दा सदाबहारमा गरिने लगानी तुलनात्मक रूपमा कम रिस्कमा हुन्छ । त्यसैले त्यतातर्फ लगानी गर्ने गरिएको उनको भनाइ छ ।
यो वर्ष द्विअर्थी लाग्ने शब्द र भिडियो ल्याउने क्रम पनि पातलिएको उनी बताउँछन् । “पहिलापहिला डबल मिनिङ लाग्ने शब्द भएका गीत धेरै आउँथे । त्यस्तै खालका भिडियो बनाउनुपर्यो भन्नेहरूको संख्या पनि ठूलो थियो,” रामजी भन्छन्, “तर, यस्ता गीत र भिडियोलाई दर्शकले नै गाली गर्न थालेपछि डबल मिनिङवाला गीतको संख्या भने कम भएको छ ।”
तिजमा ल्याइने गीत पनि सांस्कृतिक पहिचान झल्काउने खालका कम रहेको उनी सुनाउँछन् । तिजलाई गीत रिलिजको अवसर मात्र बनाउन थालिएको उनको बुझाइ छ ।
स्टुडियो सञ्चालक समेत रहेकी गायिका सारिका घिमिरे हालसम्म गत वर्षको तुलनामा यसपालि तिजगीतको संख्या कम रहेको बताउँछिन् ।
“गत वर्ष यो समयमा तिजका गीत जति रेकर्ड भएका थिए, त्यसको तुलनामा यो वर्ष कम छ,” सारिका भन्छिन्, “तर, समय अझै छ । एकडेढ हप्ताअगाडिसम्म पनि तिजका गीत रिलिज भइरहेका हुन्छन् ।”
अहिलेकै तुलनामा बाँकी अवधिमा पनि गीत रेकर्ड भएको खण्डमा यो वर्ष तिजगीत कम हुने सारिका स्पष्ट पार्छिन् । “तर, अहिले पनि गीत रेकर्ड भइरहेका छन् । म्युजिक भिडियो बनिरहेकाले अन्तिममा धेरै आउने सम्भावना पनि हुनसक्छ,” उनी भन्छिन् ।
स्टुडियो सञ्चालक समेत रहेका गायक तथा संगीतकार बीबी अनुरागी पनि विगतका वर्षमा जस्तो यसपालि तिजगीतको संख्या उच्च नरहेको बताउँछन् । लगानी नउठ्नु र आफ्नो विचार वा धारणा राख्ने माध्यम बढ्दै जाँदा तिजगीतको संख्या कम हुँदै गएको उनको भनाइ छ ।
“पहिलापहिला तिजका गीत गाउन गाउँगाउँबाट महिला समूह, कलेज र स्कुलबाट महिलाहरू चेतना तथा सन्देशमूलक गीत गाउन आउँथे,” बीबी भन्छन्, “अहिले त्यसरी कोही आउँदैन । त्यसैले पनि पहिलाजस्तो गीत गीतको संख्या उच्च हुँदैन ।”
हाल आफ्नो सन्देश र सूचनाका लागि गीत नै गाउनुपर्ने अवस्था नरहेको उनी बताउँछिन् । सामाजिक सञ्जाल – फेसबुक रिल्स, टिकटक, युट्युबलगायत माध्यमबाट नै सन्देश दिन सकिने भएपछि तिजगीतको संख्या कम भएको उनको ठहर छ ।
चेतनामूलक सन्देश आममानिसमाझ पुर्याउनका निम्ति गीतका विकल्प थुप्रै छन् । त्यसैले तिजगीत रेकर्ड गर्नेको संख्या कम हुँदै गएको बीबी बताउँछन् ।
पछिल्लो समय रहरले गीत गाउनेको संख्या पनि कम हुँदै गएको उनको अनुभव छ । भिडियो बनाउनैपर्ने, निर्माण महँगो हुने, दर्शकले पनि त्यसमा क्वालिटी खोज्न थालेपछि तिजका गीतको संख्या घटेको उनको निष्कर्ष छ ।
अहिले व्यावसायिक कलाकारले मात्र तिजगीत गाउने गरेका उनी सुनाउँछन् । “अहिले जसको पेसा नै गीत गाउने हो, उहाँहरूले तिजगीतमा लगानी गरिरहनुभएको छ । ठूलै रकम जुटाएर गीत र भिडियो बनाइरहनुभएको छ,” बीबी भन्छन्, “तिजका गीत गाएर त्यसकै ट्रयाकमा गाएर तिजका कार्यक्रममा देश–विदेश जाने भएकाले उहाँहरूले गाइरहनुभएको छ ।”
स्थापित महिला कलाकारले तिजका कार्यक्रममा उपस्थिति जनाउन पनि तिजगीत निकाल्ने गरेका उनको भनाइ छ । “तिजका गीत ल्याएर देश–विदेशमा तिनै गीत गाएर लगानी उठाएर मुनाफा कमाउनेहरूले अहिले पनि राम्रो लगानी गरेर तिजका गीत गाइरहनुभएको छ ।”