
काठमाडौं । राजस्व अनुसन्धान विभागले नियन्त्रणमा लिएको ६० किलो सुन तस्करी प्रकरणमा जोडिएका आरोपीमध्ये एक हुन्, जीवन चलाउने । विसं २०८० साउन २ मा विभागले हङकङबाट नेपाल भित्रिएको ६० किलो सुन त्रिभुवन विमानस्थलबाट बाहिरिँदै गर्दा नियन्त्रणमा लिएको थियो ।
अनुसन्धानका क्रममा ६० किलो सुन तस्करी गर्ने समूहले ३६० किलो सुन तस्करी गरेको तथ्य प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो (सीआईबी)ले पत्ता लगायो । यतिठूलो परिमाणमा सुन तस्करी गर्ने समूहका नाइके तिब्बतीमूलका बेल्जियम नागरिक दावा छिरिङ रहेको प्रहरीको निष्कर्ष थियो । दावाले नै सुन तस्करी गर्ने चिनियाँ समूहलाई सक्रिय पारेको खुल्यो ।
उनै दावासँग चलाउनेको कनेक्सन र शस्कास्पद कारोबार देखिएपछि उनी चर्चामा आएका थिए । पछि सुन तस्करीको अनुसन्धान गरिरहेको सीआईबीले उनीमाथि अनुसन्धान थाल्यो ।
उनी सोधपुछका लागि सीआईबी नै उपस्थित भए । पुख्र्यौली घर अछाम भएका ३८ वर्षीय चलाउने बर्दियाको गेरुवा गाउँपालिका–४ मै जन्मे हुन् । पछिल्लो समय भने उनी काठमाडौं महानगरपालिका–४ चुनदेवी बस्दै आएका थिए ।
सुरुआती चरणमा सामान्य कागज गर्न बोलाइएका चलाउनेको भूमिका थप शंकास्पद देखिएपछि प्रहरीले उनलाई पक्राउ गर्न खोज्यो । तर, उनी फरार भए । सुन बरामद भएको एक महिनापछि भदौमा फरार रहेका चलाउने हालसम्म पनि फरार छन् ।
उक्त सुन तस्करी प्रकरणमा प्रहरीले पहिलो चरणमा तस्करी गर्ने दावासहितका अरोपीबाट तीन अर्ब ५० करोड विगोसहित ३२ जनाविरुद्ध मुद्दा चलाउनुपर्ने राय प्रहरीले दिएको थियो । जसमध्ये चलाउने पनि एक हुन् ।
सीआईबीले ६० किलो सुन प्रकरणको दोस्रो पटकसमेत अनुसन्धान गरेर पुरक प्रतिवेदन बुझाएको थियो । हालसम्म दावासहित नौजना पुर्पक्षका लागि थुनामा छन् । केही नेपाली आरोपी भने धरौटीमा छुटेका छन् ।
मुद्दा अझै विचाराधीन छ । सामान्य दालचामलको व्यवसाय गर्ने बताइएका चलाउनेको प्रहरी अधिकारीसँगको बाक्लो हिमचिमका कारण उनी जोगिएको आशंका समेत थियो । उपल्ला तहका अधिकांश प्रहरी अधिकारीसँग उनको निकट सम्बन्ध देखिएको थियो ।
सुन तस्करी जाँचबुझ आयोगले चलाउनेका विषयमा तथ्यहरू प्रतिवेदनमै खुलाएपछि उनको अपराधकर्मको चर्चा थप चुलिएको थियो । सरकारले पूर्वन्यायाधीश डिल्लीराज आचार्यको नेतृत्वमा आयोग गठन गरेको थियो ।
अमेरिका पुगेका छन् चलाउने
सुन तस्करीको अनुसन्धान चलिरहेकै बेला फरार रहेका चलाउने भने पछिल्लो समय अमेरिका पुगेको खुलेको छ । उनी टिकटकमार्फत अमेरिकाबाट सक्रिय देखिन्छन् । फरार चलाउनेविरुद्ध प्रहरीको अन्तर्राष्ट्रिय अपराध संगठन इन्टरपोलले रेड नोटिससमेत जारी गरिसकेको छ ।
दावा छिरिङकी श्रीमती रुकुमकी अमला रोकासमेत घटनालगत्तै फरार भएकी थिइन् । उनीविरुद्ध समेत रेड नोटिस जारी गरिएको थियो ।
तर, रोकालाई भने केहीदिन अघि सीआईबीले पक्राउ गरेर अदालत पेस गरेको थियो । अदालतले उनलाई धरौटीमा छाडेको छ ।
जीवन भने अमेरिका पुगेका छन् । प्रहरीको अनुसन्धानका क्रममा सुन बरामद हुनुपूर्व नै अमेरिकाको भिसा पाएका चलाउने भारतको बाटो हुँदै अमेरिका पुगेका हुन् । उनी पछिल्लो समय जीवन थापा नामको टिकटक अकान्टमार्फत अमेरिकाबाट सक्रिय छन् ।
नामसँगै उनले अमेरिकाको झण्डासमेत राखेका छन् । सुन तस्करी प्रकरणमा आरोपी दावा पक्राउ परेपछि चलाउनेको कनेक्सन खुलेको थियो । जीवन र दावाबीच सुन कारोबारसँग सम्बन्धित शंकास्पद एसएमएस पनि प्रहरीले फेला पारेको थियो ।
फरार चलाउने विभिन्न सञ्चारमाध्यममा सीआईबीका अनुसन्धान अधिकारीले आफूसँग पैसाको बार्गेनिङ गरेको भिडियो अन्तर्वार्ता दिएका थिए । केन्द्रीय प्रहरी प्रवक्ता डीआईजी विनोद घिमिरेले चलाउनेबारे प्रहरीले इन्टरपोलमार्फत नै समन्वय भइरहेको जानकारी दिए ।
सीआईबी स्रोतका अनुसार चलाउने अमेरिका पुगेको खुलेपछि नेपालस्थित अमेरिकी दूतावासलाई नेपाल फिर्ताका लागि सहयोग गर्न पत्राचारसमेत भएको बताए ।