
काठमाडौं । कैलालीको धनगढी उपमहानगरपालिकाका ४५ वर्षीय शिक्षक जगदीश पन्तको मृत्यु घटनाको अनुसन्धान जारी छ । उनले लामो समय जिल्लाकै जानकी गाउँपालिका–४ स्थित जनता माध्यमिक विद्यालयमा पढाए ।
शनिबार (साउन ३) जगदीश साथीहरूसित खानपिन गर्ने उद्देश्यले टीकापुर नगरपालिका–१, मुनुवा रोडस्थित रिसोर्ट पुगेका थिए । उनीसँग उनका पुराना साथीहरू सुनील रावल, लोकेन्द्र रावल र वीरेन्द्र हमाल थिए । लोकेन्द्र जगदीशकै पालिकाका हुन् । सुनील र वीरेन्द्र टीकापुर–१ का बासिन्दा हुन् ।
उनीहरूको आग्रहमा जगदीश र लोकेन्द्र टीकापुर पुगेका थिए । घरबाट निस्कँदा जगदीशले चाँडै फर्कने जानकारी गराएका थिए । तर, साँझसम्म उनी घर फर्किएनन् ।
आफन्तले तारन्तार फोन गरिरहे । फोनमा सम्पर्क हुन सकिरहेको थिएन । आफन्तले साँझ जगदीश बेहोस रहेको सूचना प्रहरीबाट पाए ।
आफन्त छाँगाबाट खसेझैँ भए । प्रहरीको सूचनापछि आफन्त धनगढीबाट हुइँकिँदै टीकापुर अस्पताल पुगे । आफन्त पुग्दासम्म चिकित्सकले जगदीशलाई मृत घोषणा गरिसकेका थिए ।
खाजा र मदिरा खाँदाखाँदै बेहोस भएका जगदीशलाई साथीहरू सुनील, लोकेन्द्र र वीरेन्द्रले अस्पताल पुर्याएका थिए । आफन्तले साथीहरूले नै उनको हत्या गरेको आरोप लगाए । आफन्तले जगदीशका साथीहरूले खाजामा विष मिसाएर खुवाएको आरोप मात्र लगाएनन्, प्रहरीमा किटानी जोहरी नै दिए ।
आफन्तको जाहेरीका आधारमा जगदीशका ती साथीहरूलाई पक्राउ गरिएको कैलाली प्रहरीका प्रवक्ता एवं डीएसपी राजकुमार सिंहले जानकारी दिए ।
“मृतक जगदीशका साथीहरूले नै हत्या गरेको खुलेको त छैन, अनुसन्धानकै क्रममा छौँ,” उनले भने, “तर, आफन्तले किटानी जाहेरी नै दिएपछि तीनजनालाई पक्राउ गरेर अनुसन्धान भइरहेको छ ।”
अनुसन्धानमा खटिएको टोलीले जगदीश र उनका साथीहरूले खानपिन गरेको रिसोर्टबाट सल्फास नामक कीटनाशक औषधि बरामद गरेको छ । तर, जगदीश आफैँले सेवन गरे वा साथीहरूले खानामा मिसाए भन्नेबारे केही खुलेको छैन ।
आइतबार (साउन ४) पोस्टमार्टमपछि जगदीशको शव आफन्तले बुझिसकेका छन् । पक्राउ परेकाविरुद्ध कर्तव्य जान मुद्दामा जिल्ला अदालतबाट म्याद थप अनुमति प्राप्त गरी प्रहरीले अनुसन्धान अघि बढाएको छ ।