
काठमाडौं । नेपाली चलचित्र उद्योग गत वर्ष गुलजार बन्यो । एउटै सिनेमाले घरेलु बक्सअफिस र डायस्पोरामा गरी झन्डै पौने एक अर्बको कारोबार गर्दा नेपाली चलचित्र क्षेत्र अब साँच्चै उद्योग बनेछ भनेर धेरैले भने ।
सिनारियो पनि त्यस्तै । गत साल नयाँ वर्षदेखि चलेका चलचित्रले नै सन्तोषजनक व्यापार गरेका थिए । दसैँमा रिलिज गरिएका ‘१२ गाउँ’ र ‘छक्का पञ्जा’ बक्सअफिसमा उत्कृष्ट साबित भएका थिए ।
तर, त्यसपछि फेरि चलचित्र उद्योग पुरानै अवस्थामा फर्कियो । अथवा, अधिकांश चलचित्र चलेनन् । रिलिज हुने र उत्रनेक्रम यति तीव्र बन्यो, चलचित्र रिलिजअगाडि चर्चा हुने तर पछाडि कहिले उत्रियो पत्तै भएन ।
एकाध सिनेमा चल्दा पुलकित हुने, फेरि चलचित्रको व्यापार सुस्ताउँछ अनि ‘चलचित्रमा लगानी जुवा’ हो भन्ने यहाँ सामान्य नै हो ।
किन चलचित्रले लामो समय चलचित्रकर्मीलाई खुसी दिन सकेका छैनन् ? यो महत्त्वपूर्ण प्रश्न हो । चलचित्र विकास बोर्डले आफ्नो २५औँ वार्षिकोत्सवको अवसर पारेर सार्वजनिक गरेको २५ वर्षमा सबैभन्दा धेरै कमाउने २५ सिनेमाको सूचीले केही हदसम्म यसको जवाफ दिन्छ ।
असार दोस्रो साता बोर्डले सार्वजनिक गरेको २५ वर्षका सबैभन्दा धेरै कमाउने चलचित्रमा सिक्वेलको वर्चस्व छ । नेपालमा सिक्वेल भनिए पनि अधिकांश पहिलो चलचित्र चलेपछि त्यही नाम लिएर अर्कै कथा भन्ने गरिएको छ । त्यसैले यसलाई सिरिज भने पनि हुने अवस्था छ ।
‘पशुपति प्रसाद–२ : भष्मे डन’, ‘कबड्डी’, ‘कबड्डी कबड्डी’, ‘कबड्डी कबड्डी कबड्डी’, ‘कबड्डी–४’, ‘प्रेम गीत–३’, ‘छक्का पञ्जा–५’, ‘छक्का पञ्जा–४’, ‘छक्का पञ्जा–३’, ‘छक्का पञ्जा’, ‘जात्रै जात्रा’, ‘महाजात्रा’, ‘परदेशी–२’ पाँच करोड रुपैयाँभन्दा माथि ग्रसकलेक्सन गर्ने चलचित्रको सूचीमा परेका थिए ।
धेरै कमाउने २५ चलचित्रमा १३ वटा सिरिज थिए । यसले सिक्वेलप्रति दर्शकको मोह रहेको प्रस्ट पार्छ । एउटा सिरिज चलेपछि त्यसकै ब्रान्डमा अरू चलचित्र लिएर आएको पाइएको छ ।
यीबाहेक पनि थुप्रै चलचित्र छन्, जो चर्चा र व्यापारका हिसाबले निकै अगाडि आउँछन् । उत्कृष्ट २५ मा नपरे पनि ‘नाईं नभन्नु ल’, ‘ए मेरो हजुर’जस्ता चलचित्रका थुप्रै सिक्वेल (सिरिज) बनिसकेका छन् । यसले मेकर र दर्शक दुवैमा नयाँ फ्रेस चलचित्रभन्दा पनि पुरानै ब्रान्डमा विश्वास गरेको बक्सअफिसको २५ वर्षको तथ्यांकले पुष्टि गरेको छ ।
निर्माता तथा कलाकार निर्मल शर्मा पहिलो सिनेमा राम्रो भए त्यसकै आधारमा दर्शक सिक्वेल हेर्न जाने गरेको बताउँछन् । “अघिल्लो चलचित्रले कन्भिन्स गरेको छ र इन्टरटेनमेन्ट दिएको छ भने यसको सिक्वेल भएकाले यो पनि कम्तीमा त्यति राम्रो त होला भन्ने दर्शकमा विश्वास हुँदो रहेछ,” उनी भन्छन्, “आत्मसन्तुष्टि नै ठूलो कुरा रहेछ । पहिलो सिरिज मन पर्नेबित्तिकै त्यही आत्मसन्तुष्टिका लागि अर्को सिनेमा हेर्न जाने गरेको पाइएको छ ।”
निर्माताले पनि लिगेसी बोकेको चलचित्र भए दर्शक हेर्न आउँछन् भनेर सिक्वेलमा नै लगानी गर्ने गरेको उनी सुनाउँछन् । नयाँ चलचित्रमा गरेको लगानी उठ्ने/नउठ्ने धरमर हुने भएकाले सिक्वेलमै धेरै मेकर आकर्षित भएको उनी स्पष्ट पार्छन् ।
“लिगेसी भए सजिलो भयो । होइन भने राम्रो छ भने माउथ पब्लिसिटीका कारण चल्छ,” निर्मल अगाडि थप्छन्, “नयाँ बनाउँदा के हो के हो टुंगो नहुने भएपछि सिक्वेल सहज भएको छ ।”
केही वर्ष अगाडिसम्म दर्शकले अभिनेता र अभिनेत्रीलाई मात्र चिन्थे । हाल ब्यानर र निर्देशकलाई पनि चिन्ने गरेका कारण फाइदा भएको उनी टिप्पणी गर्छन् ।
“मेकर र ब्यानर पनि परिचित भएपछि यो मेकर र ब्यानरले कम्तीमा यत्तिको चलचित्रचाहिँ बनाउँछ भनेर दर्शक सिनेमा हेर्न जान थालेका छन्,” उनी भन्छन्, “केही वर्षअगाडिसम्म हिरो/हिरोइन को छ भनेर सिनेमा हेर्न जाने चलन थियो । तर, अहिले त्यस्तो छैन ।”
अघिल्लो सिनेमा राम्रो भए त्यसको डिजिटल र नेपालबाहिरको प्रदर्शन अधिकार बिक्री गर्न पनि सहज हुने उनको अनुभव छ । नेपालबाहिरको प्रदर्शनको अधिकार लिनेले पनि सिक्वेल भए त्यसकै आधार महँगोमा किन्ने गरेको निर्मल बताउँछन् ।
“अघिल्लो सिनेमा राम्रो छ भने त्यसलाई महँगो रकममा किन्ने वितरक भेटिन्छन् । नयाँ छ भने त्यहीअनुसारको मूल्य हुन्छ,” उनी भन्छन्, “डिजिटलको अधिकार किन्नेले पनि सिक्वेल छ भने धेरै लगानी गर्छन् । नयाँ छ भने शंका गर्छन् ।”
अघिल्लो चलचित्र रमाइलो भए त्यसकै आधारमा सिक्वेलमा परिवारलाई समेत लिएर सिनेमा हेर्न जाने दर्शकको संख्या ठूलो रहेको उनी बताउँछन् । “हाम्रो बुवाआमा, छोराछोरी लिएर हलमा नगएसम्म १८/२० करोड कमाइ हुँदैन,” उनी भन्छन्, “त्यसैले पनि सिक्वेलमा लगानी भएको हो ।”
निर्देशक सरोज पौडेल रिस्क लिन चाहने मेकरको संख्या कम हुनु नै सिक्वेलको संख्या बढ्नुको कारण भएको बताउँछन् । कुनै चलचित्रको कन्टेनले विश्वास जिते त्यसकै भर पर्ने गरेको उनको भनाइ छ ।
“कुनै एउटा चलचित्रले दर्शकको मन जित्यो भने त्यसको कन्टेनमा नै विश्वास गरेको देखिन्छ,” सरोज भन्छन्, “एकपटक दर्शकले विश्वास गरेको कन्टेन नै किन ? आफूलाई प्रमाणित गरिसकेका मेकरले नयाँ चलचित्र बनाएर दर्शकको मन जिते हुन्छ नि !”
सरोज सिक्वेलका पक्षमा छैनन् । नयाँनयाँ विषय र प्रस्तुतिमा चलचित्रका निर्देशक र निर्माताको ध्यानकेन्द्रित हुनुपर्नेमा उनी जोड दिन्छन् । “कुनै एउटा चलचित्रले विश्वास जितेपछि त्यही नै बिक्री गर्ने सोच हामी मेकरमा देखिएको छ,” उनी भन्छन्, “पुरानैको पछि लाग्नेभन्दा पनि नयाँ सिनेमामा केन्द्रित हुनुपर्छ भन्ने मेरो धारणा छ ।”
सिक्वेलका पछाडि लाग्दा सिरिजका रूपमा विषय तन्कने भएकाले त्यस्ता सिनेमामा धेरै कुरा नआउने उनी जिकिर गर्छन् । “एउटै विषयलाई तन्काउँदा उस्तै कुरा, उस्तै शैली र त्यही प्रयोग देखिँदा धेरै नयाँ कुरा सिनेमामा आउँदैन,” उनी भन्छन्, “त्यसैले मचाहिँ २/३/४ बनाउने पक्षमा छैन ।”
जे बिक्छ हुन्छ, त्यही बिक्री गरौँ भन्ने सोचमा निर्देशक तथा निर्माता हुँदा आफूलाई अब्बल र सफल प्रमाणित गरिसकेका मेकरबाट पनि नयाँ प्रयोग हुन नसकेको उनको तर्क छ । पुराना र प्रमाणित भइसकेकालाई नयाँ विषय र प्रस्तुतिमा प्रयोग गर्न सहज हुने उनी बताउँछन् । आफूलाई सिनेमा निर्माणमा प्रमाणित गरिसकेकालाई नयाँ विषयमा जोखिम लिन सहज हुने उनको भनाइ छ ।
“सिक्वेलका पछि नलाग्दा दर्शकलाई पनि रिफ्रेसमेन्ट हुने र चलचित्रमा पनि विविधता देखिने सम्भावना उच्च हुन्छ,” चलचित्र ‘पूर्ण बहादुरको सारङ्गी’का निर्देशक पौडेल भन्छन्, “त्यसैले कुनै विषयलाई अनावश्यक रूपमा तन्काउनुभन्दा नयाँ प्रयोगतर्फ केन्द्रित हुनुपर्छ ।”
दर्शकलाई हलसम्म तान्न सहज हुने भएकाले धेरै निर्देशक तथा निर्माताले सिरिजकै रूपमा सिक्वेल बनाउने गरेको पाइन्छ । आफ्नै चलचित्र नहुँदा अरूको ब्रान्ड किनेर पनि सिक्वेल बनाउने गरेको देखिएको छ ।