-1751084473.jpg)
कतिपय कुरा स्मृतिको पलकमा कैद भएर रहँदा रहेछन् । भोगिएका विभिन्न सन्दर्भहरू स्मरण मात्र गर्दा पनि बडो आनन्द आउँदो रहेछ । मान्छेको जीवनमा स्वतन्त्रताभन्दा प्रिय केही नहुने रहेछ । झन् त्यसलाई मनैदेखि भावनासँग जोडेर हेर्दा आहा, कति प्यारो लाग्छ ! गरिएका साना योगदानले पनि मन हर्षित हुन्छ ।
यस्तै थिए २०६२/६३ को जनआन्दोलनका केही पलहरू । इमान र मन दुवै बोकेर म पनि होमिएथेँ प्रायः ठमेलदेखि न्युरोड र रत्नपार्कसम्मका जुलुसहरूमा । इतिहासप्रति गर्व लाग्छ । अब देशको भविष्य उज्ज्वल हुनेछ, गरिखानेका दिन आउनेछन् !
साँचो अर्थमा भुइँमान्छेका दैनिकीहरूमा अभावबोध हुने छैन । जिन्दगी सहज हुनेछ– यस्तै सोच्थे युवा मनले । तर, आज लोकतन्त्रका मत्ताहरू देख्दा मन दुखेर आउँछ ।
०६३ साल वैशाखको ७ गते सोह्रखुट्टेबाट जुलुस आयो । म पनि जोसिएर ठमेल चिःबहालबाट निस्किएँ । ठहिँटी हुँदै जुलुस अगाडि बढ्दै थियो । असन पुगेपछि जाममा परियो । जता पनि जुलुस – बाँगेमुढाबाट पनि, इन्द्रचोकबाट पनि ।
हामी असनको अन्नपूर्ण मन्दिरअगाडि पुग्यौँ । रत्नपार्क जान खोज्दा त्यहाँ अश्रुग्यास प्रहार भयो । उता जमलबाट पनि जुलुसलाई पुलिसले अश्रुग्यास र लाठीचार्ज गरेर खेदाएछ ।
असन उसै त साँघुरो ठाउँ, उसमाथि मान्छे नै मान्छेको विशाल सागर । रबरको गोली पनि प्रहार भएर मान्छेहरू ठाउँका ठाउँ ढले । भागदौड मच्चियो ।
एक्कासि प्रहार गरिएको अश्रुग्यास र रबरको गोलीले भागाभाग अस्वाभाविक थिएन । त्यही भागदौडमा मेरो सर्टको फेरमा कसैले समायो । म लडेँ । सम्हालिएर उठेँ । जुत्ता पनि कुल्चाइमा परेर एउटा हरायो । मैले अर्को जुत्ता पनि फुकालेर छोडिदिएँ र असनबाट ठहिँटीतर्फको बाटो समाएँ ।
भीड अटेसमटेस ! अश्रुग्यासको गन्धले आँखा पोलेर केही ठम्याउन सकेको होइन । अलिक ओर्तिर आएपछि अलिक आँखा हेर्न सकेँ । एकजना विदेशी केटी अश्रुग्यासले होला, ह्याक ह्याक गर्दै पेटीमा नर्भस भएझैँ बसेको देखेँ ।
ऊ त हाम्रोमा बस्ने पो रहिछ ! नाम त थाहा थिएन, तर उसले मलाई र मैले उसलाई केही दिनदेखि देखिरहेका थियौँ ।
मैले औपचारिकता निभाएँ, ‘हाई, मे आई हेल्प यु ?’
उसले पुलुक्क आशातीत नजर मतिर फर्काउन खोजी । सायद उसका धूमिल आँखाले देखी होला मलाई, तर राम्ररी नियाल्न सकिन । आँखा पोलेर होला ।
‘एस प्लिज, हाउ क्यान हेल्प यु ?,’ उसले प्रतिप्रश्न गरी ।
मैले भनेँ, ‘आई क्यान टेक यु इन योर होटेल ।’
मैले उसको पाखुरा समातेँ । उठाएँ । उसले मलाई बलैले समातेर उठी । अलिक अगाडि बाटामा प्याजका टुक्रा, पानीका बाल्टिन राखिएको रहेछ, मैले उसलाई लगेर बाल्टिनको पानीमा टाउको चोबलेँ । अनि, प्याजलाई आँखामा दलिदिएँ । अब मात्र उसले प्रस्ट हेर्न सकी ।
‘ओ यु !’ उसले मलाई चिनारुजस्तो (देखिरहेको तर बोलचाल नभएको) भएको बुझी । एउटै होटेलमा बसेको भए पनि हामीबीच बोलचाल भएको थिएन ।
ठाउँठाउँमा स्थानीय बासिन्दाहरूले बाटा र बाल्टिनमा पानी, प्याजहरू टुक्रा राखिदिएका रहेछन् । वास्तवमै संघीय गणतन्त्रका लागि काठमाडौंका स्थानीयवासीको योगदान अतुलनीय छ ।
धेरै मानिसहरू अश्रुग्यासको पिरोले ह्याक ह्याक गर्दै छन् । कोही महिला घरमाथिबाट पानी खन्याएर आन्दोलनकारीमाथि प्रहरीहरूबाट बर्सिएको अश्रुग्यास पखाल्न सहयोग गर्दै छन् ।
म उसलाई लिएर होटेल फर्कें । वास्तवमै मेरा कोमल पाइताला पिचरोडको पोलाइ र गिर्खाहरूको बिझाइबाट चहर्याइरहेका थिए । म नांगो खुट्टामा हिँड्न सकिरहेको थिइनँ ।
र पनि बल्लबल्ल हामी होटेलमा आइपुग्यौँ । उसले धन्यवाद ज्ञापन गरी र आफ्नो कोठातिर गई । म भने खुट्टा धोइपखाली गरेर घाउमा मलम लगाउन थालेँ ।
एकजना गाइडले अपुष्ट समाचार ल्याए । कलंकीमा गोली लागेर तीन आन्दोलनकारी ठाउँका ठाउँ ठले । दर्जनाँै घाइते भए । देशभर जनआन्दोलनको उभार छ ।
हुन पनि कहीँ कोही अछुतो रहेन आन्दोलनबाट । दैनिकी कष्टकर थियो । प्रायः कर्फ्यु लागेकै हुन्थ्यो ।
भोलिपल्ट बिहान म रिसेप्सनमा थिएँ । कल आयो, ‘प्लीज, सेन्ड मी वन स्मल पट ग्रीन टी इन रुम नम्बर २०३ ।’
वेयराले अर्डर लगेर गयो । उसले मलाई रुममा बोलाई भनेर वेयराले भनेपछि म उसको रुममा गएँ । मलाइकालाई हनहनी जरो आएछ । मैले सिटामोल लगिदिएँ । केही बेर गफिएर निस्किएँ ।
फेरि अपराह्नमा ठूलो जुलुस आयो । कुरा थियो, वैशाख ८ को । म पनि मिसिएँ । भीड निकै बाक्लो थियो आज । त्यस्तोमा दमन नहुने कुरै थिएन ।
वैशाखकै एक बेलुकी, शाही सम्बोधनको नाउँमा राजाबाट सात राजनीतिक दललाई प्रधानमन्त्रीको नाम जतिसक्य छिटो सिफारिस गर्न आह्वान गरिएको व्यहोराको सम्बोधन टेलिभिजनले प्रसारण गर्यो । सम्बोधनमा कार्यकारी अधिकार जनतालाई सुम्पिएको भनिएको थियो ।
यतिले जनता किन चुप बस्थे, जागे झन् ! यस्तैमा वैशाख ११ गते देशभरका विभिन्न मुख्य सहरहरूमा लगाइएको कर्फ्यु तोडे जनताले । लाखौँ जनता सडकमा उत्रिए निषेधाज्ञाको पर्वाह नगरी । प्रहरी दमन तीव्र थियो । तथापि, जनताले गोली, अश्रुग्यास केहीको पर्वाह गरेनन् ।
देशभर सयौँ घाइते भएको कुरा बीबीसीले फुक्यो । त्यस्तैमा मध्यरात तत्कालीन राजा ज्ञानेन्द्र शाहले देशवासीको नाउँमा सम्बोधन गरे । नेपालको सार्वभौमसत्ता र राजकीयसत्ता नेपाली जनतामा निहित रहेको, जनआन्दोलनमार्फत मुखरित भएको जनआवाजको सम्मान गर्ने भन्दै विघटित प्रतिनिधिसभाको पुनर्स्थापना गरी संसद् बैठक आह्वान समेतको व्यहोराको सम्बोधनमा आयो ।
सम्बोधनपछि मध्यरातमा निस्किएको विजय जुलुसमा म पनि सहभागी भएको थिएँ ।
१२ गते बिहान करिब ८ः३० तिर गार्डेनमा बसेर चिया पिइरहेको थिएँ । ठाउँठाउँमा जुलुस र सभा हुने भएको थियो । म पनि बालाजुको सभामा जाने सोचमा थिएँ ।
मलाइकाले माथि झ्यालबाट जोसिएर बोली, ‘मिस्टर प्रदीप, कङ्ग्राचुलेसन । वी विन !’
ऊ केही बेरमै तल आई । खुसी हुँदै मलाई अँगालो मारी । दर्विलोसँग हात मिलाई र भनी, ‘प्रदीप, आई वन्ट टु पार्टिसिपेट इन योर भिक्टोरी र्याली ।’
मैले उसलाई ठमेलदेखि बालाजुसम्म हिँडाएरै लगेँ । बाटोमा राताम्मे विभिन्न दलनिकट झन्डा बोेकेका मानिस खुसीले पुलकित हुँदै बाक्लै हिँडिरहेका देखिए ।
सोह्रखुट्टेको ओरालो सकिनासाथ मलाइकाले भनी, ‘प्रदीप, आई वन्ट टु टेक अ फ्लाग ।’
मैले केही मान्छेसँग उनीहरूले बोकेको झन्डा मागेँ । कोही दिन राजी भएनन् । एकजना महिलाले हातमा चारतारे झन्डा समातेकी थिइन् । केटी, त्यसमा पनि कुइरेनीले झन्डा बोक्ने रहर गरेको देखेर त्यो झन्डा महिलाले दिइन् ।
तर, मलाइकाले भनी, ‘प्रदीप, आई लाइक द्याट वन । नट दिस ।’
उसले संकेत गरेको हँसिया हथौडाको झन्डा थियो । मैले एक सज्जनसँग अनुरोध गरेर उसको चाहना पूरा गरिदिएँ । उसले त्यो झन्डा यसरी चुमी, मानौँ त्यो उसको प्रियजन होस् ।
हात सिधा माथि लगेर चुलीमा पुर्याएर झन्डा फहराई । उसको त्यो झन्डा मोह देखेर मलाई अलिक अनौठो लाग्यो ।
उसले भनी, ‘युरोपमा कम्युनिस्टहरू आफूलाई समाजवादी भन्न रुचाउँछन् । किनकि, अहिले कम्युनिस्टहरू रक्षात्मक छन् । मेरो बुबा पनि इटलीमा समाजवादी दलकै नेता हुनुहुन्छ । मेरो सामीप्य यो झन्डासँग बेसी नै छ ।’
उसले बेलीविस्तार लगाई । उसले र्यालीमा राष्ट्रिय झन्डा प्रयोग नभएकोमा अचम्म पनि मानी । त्यति बेला हाम्रोमा राष्ट्रिय झन्डा बोक्नेलाई मण्डले, राजाका मान्छेको संज्ञा दिइन्थ्यो ।
हामी बालाजु पुग्दा मानवसागर उर्लिएको थियो । कोही रुखका हाँगा काँधमा राखेर जुलुसमा सहभागी थिए । कोही चारतारे र हँसिया हथौडाअंकित झन्डा बोकेका ।
अबिरले रंगीन मुहार लिएर जोसिँदै सामेल हुनेहरूको संख्या त्यत्तिकै थियो । हामी हिँड्यौँ, कलंकी जान । उसले त्यो रातो झन्डा उसैगरी उचालेकी थिई, जसरी पहिले बोकेकी थिई । कुहिनो खुम्च्याएर बोकेकी छैन । हात सिधा आकाशतर्फ पारेर उचालेकी छ ।
धेरैका आँखा परे उसमाथि । कलंकी पुगेर हामी पनि सभामा सरिक भयौँ केही बेर । भोक लागेको थियो । त्यसैले हामी रोटी खान एउटा सानो होटेलमा छिर्यौँ । रोटी र तरकारी खायौँ । चिसो पियौँ । उसले यति मिठो मानेर खाई, शब्दमा त्यसको बयान गर्न सकिन्न ।
कलंकीबाट हामी टेम्पो चढेर कालीमाटी हुँदै न्युरोड उति बेलाको आरएनएसीको भवनअगाडि उत्रिन्छौँ । आज उत्सव हो । जताततै राता छन् मान्छेहरू । विजयले हर्षित मान्छे । फूलझैँ उज्याला । उत्साहले भरिपूर्ण । लाग्छ, संसार जित्यौँ ।
हामी त्यहाँबाट हिँडेर आयौँ । तर, उसले त्यो झन्डा छोडेकी छैन । केवल अघिजसरी उचालेकी छैन । मैले लट्ठी फालेर पट्याउन खोज्दा उसले मानेकी हैन ।
असन हुँदै ठमेल जाने क्रममा उसले आफूलाई अश्रुग्यास लागेको ठाउँमा लैजान्छे । अस्तिको घटनाको पुनर्ताजगी गराउँछे ।
मसँग उसको निकटता बढी नै झांगियो । म फुर्सद हुँदा पुस्तक समाएरै बस्ने मान्छे । ऊ पनि पढिरहेको देख्थेँ । हामी गार्डेनमा चिया पिउँदै पुस्तकका बारेमा गफिन्थ्यौँ । उसले केही पुस्तकहरू पढ्न दिएकी पनि थिई । तर, अंग्रेजी उतिसाह्रो राम्रो नभएको मैले उति बेला खुट्ट्याउन सकिनँ ।
अकस्मात् मेरो आफन्त बितेको खबर पाएर म गाउँ गएँ । ऊ पनि फर्किछे । उति बेला मेरो पहुँचमा मोबाइल थिएन । न त अरू कुनै सम्पर्क नै ।
म सहर आएपछि उसको चिठी र उसले मलाई केही सामान गिफ्ट छोडेर गएकी रै’छ । म पछुताएँ । मेरो इमेल पनि थिएन त्यति बेलासम्म । सम्पर्क गर्ने माध्यम केही भएन ।
‘प्रदीप, आई एम टेकिङ द रेड फ्लाग विथ मि टु इटली । आई एम हेप्पी द्याट आई वाज एवल टु कन्ट्रिबुट अ लिटिल टु द मेमोरेवल मुभमेन्ट्स विथ यु एन्ड द फ्रिडम अफ द पिपुल । आई वान्ट टु सेयर दिस ह्याप्पिनेस विथ माइ फादर । गुड लक टु यु । सी यु अगेन ।’
तीनपटक पढेँ । उसको उपहार ओल्टाइपल्टाइ गरिरहेँ । उसले दिएको घडी मैले दशौँ वर्ष मेरो नाडीमा बाँधे, जुन अद्यापि घरमा छँदै छ ।
दुर्भाग्य, उसको ‘सी यु अगेन’ कहिल्यै पूरा भएन । तैपनि, मैले सम्झिराखेँ त्यो उसको रातो झन्डाप्रतिको प्रेम । आस्था र विश्वास । अनि, मनले जान्न चाह्यो– के त्यो झन्डा मलाइकासँग अहिले’नि साथै होला त !
अनि सम्झिएँ, त्यो आन्दोलनको अगुवाइ गर्नेहरूलाई, के तिनले त्यो रातो झन्डाको मान अहिले राखे त !