site stats
बाह्रखरी :: Baahrakhari
खेल
नेपाल अपराजित रहँदै एसीसी यू–१६ इस्ट जोन कप च्याम्पियन

काठमाडौं । सिंगापुरविरुद्ध दुई विकेटको जित निकाल्दै नेपाल एसीसी पुरुष यू–१६ इस्ट जोन कपको च्याम्पियन बनेको छ । नेपालले अपराजित रहँदै प्रतियोगिताको उपाधि जितेको हो । 

शनिबार मलेसियाको क्वालालम्पुरमा सम्पन्न फाइनलमा सिंगापुरले प्रस्तुत गरेको ११४ रनको लक्ष्य नेपालले २९ ओभरमा आठ विकेट गुमाएर पूरा गरेको हो ।  

NIC Asia Banner ad
Argakhachi Cement Island Ad

नेपालको जितमा जोय थापाले सर्वाधिक २४ रन बनाए । धैर्यपूर्ण ब्याटिङ गरेका उनले ५३ बलमा तीन चौका प्रहार गरे । सिवान्स बजगाईंले २० रन थप्दा सुभम खनालले १८, ओपनर प्रसिद्ध जैसीले १७ र परिमार्जन यादवले १३ रन जोडे । अभय यादव १० रनमा अविजित रहे । 

सिंगापुरका कपिस वेन्कटरमनले चार विकेट लिए पनि टिमको हार टार्न सकेनन् । युभव पाण्डेले दुई विकेट लिँदा आकाश तेजा र वेदान्स गुप्ताले समान एक विकेट लिए । 

त्यसअघि, टस जितेर ब्याटिङमा आएको सिंगापुरले ४०.५ ओभरमा सबै विकेट गुमाएर ११३ रनको योगफल खडा गरेको थियो । 

सिंगापुरका रोहन अस्टिन अरुनले सर्वाधिक २३ रन बनाएका थिए ।  कप्तान रियान नाइकले १५, वेदान्स गुप्ताले १२ र आकाश तेजाले १० रन थपे । 

नेपालका अभय यादव र सुशीलबहादुर रावलले समान तीन विकेट लिए । सुभम खनालले दुई विकेट लिँदा विपीनप्रसाद शर्माले एक विकेट हात पारे । 

नेपालले यसअघि समूह चरणको खेलमा पनि सिंगापुरविरुद्ध ६ विकेटको जित निकालेको थियो ।

प्रकाशित मिति: शनिबार, असार २१, २०८२  १३:०५
प्रतिक्रिया दिनुहोस्