-1749721044.jpg)
काठमाडौं । “फिफा क्लब विश्वकपले विश्वकै उत्कृष्ट क्लब कुन हो भन्ने देखाउँछ” – यो भनाइ हो विश्व फुटबलको सर्वोच्च निकाय फिफाका अध्यक्ष जियानी इन्फान्टिनोको । जुन, यसै महिनादेखि अमेरिकामा कुल ३२ टोलीको सहभागितामा सुरु हुँदै छ ।
पक्कै पनि यो ठूलो प्रतियोगिता हो । तर, राम्रो पनि ? यसको जवाफ भने प्रतियोगिताले विजेता पाएपछि नै आउला ।
विश्वकै ठूलो क्लबस्तरीय प्रतियोगिता भनिरहँदा यसमा युरोपका शीर्ष पाँचमध्ये तीन लिगका विजेताले प्रतिस्पर्धा गर्ने छैनन् । जसमा छन्, स्पेनिस ला लिगा च्याम्पियन बार्सिलोना, इंग्लिस प्रिमियर लिग च्याम्पियन लिभरपुल र इटालियन सिरी ‘ए’ च्याम्पियन नापोली ।
इन्टर मियामीको छनोटमा उठेका प्रश्न
प्रतियोगिताका निम्ति पछिल्ला चार वर्षमा क्लबहरूको प्रदर्शनका आधारमा छनोट मापदण्ड बनाइएको थियो । तर, यसले विश्वस्तरको प्रतियोगिता बनाउने फिफाको लक्ष्यमा विश्वासको संकट खडा गरिदिएको छ । विशेषगरी यस प्रतियोगितालाई यूईएफए च्याम्पियन्स लिगभन्दा ठूलो बनाउने आकांक्षामा शंका उब्जिएको छ ।
इन्टर मियामीलाई स्थान दिँदा फिफा आफैँले तोकेको मापदण्ड नै कमजोर बन्यो । मेजर लिग सकर (एमएलएस)का तीन क्लबलाई आयोजक राष्ट्रको प्रतिनिधित्व गर्न स्थान दिइयो । तर, गत सिजनका एमएलएस च्याम्पियन लस एन्जलस ग्यालेक्सी भने छनोट हुन सकेन ।
लियोनल मेसीले इन्टर मियामीलाई विश्व चर्चित ब्रान्डमा परिणत गरेपछि मियामीले गत वर्ष नियमित सिजनको शीर्ष स्थानको आधारमा छनोट पायो । यस्तो मापदण्ड फिफाले पहिले घोषणा गरेको थिएन । तर, अचानक घोषणा गर्दै फिफा अध्यक्ष जियानी इन्फान्टिनोले मियामीको मैदानमै इन्टर मियामीलाई बधाई दिए ।
मेसीको टिम उद्घाटन खेलमा
मेसीको इन्टर मियामीले शनिबार राति मियामीको हार्ड रक स्टेडियममा इजिप्टको अल अहलीसँग उद्घाटन खेल खेल्नेछ । तर, ३७ वर्षीय मेसीको प्रभावले पनि पर्याप्त आकर्षण नल्याएपछि टिकट मूल्य घटाउन आयोजक बाध्य भएका छन् ।
फिफाले ४० वर्षीय क्रिस्टियानो रोनाल्डोलाई पनि प्रतियोगितामा ल्याउन चाहेको खुलेको छ । रोनाल्डोको टिम अल–नासर प्रतियोगिताका लागि अयोग्य भएपछि इन्फान्टिनोले उनलाई नयाँ क्लबमा हस्तान्तरण गर्न विशेष १०–दिने अवधिको प्रस्ताव गरेका थिए । तर, रोनाल्डोले युरोपेली नेसन्स लिग जित्न पोर्चुगललाई सहयोग गरेपछि फिफाको यो योजना असफल भयो ।
कसरी छुटे बार्सिलोना, लिभरपुल र नापोली ?
युवा स्टार लामिन यमल, जसको १८औँ जन्मदिन प्रतियोगिताको फाइनल मितिमा पर्छ, उनले समेत भाग लिन पाउने छैनन् । किनभने उनी बार्सिलोनामा छन् ।
बार्सिलोनालाई प्रतियोगिता नखेल्दा आर्थिक घाटा भएको बताइएको छ । प्रतियोगितामा सहभागी क्लबहरूलाई आकर्षित गर्न फिफाले खेल प्रसारण अधिकारका लागि एक अर्ब डलरको सम्झौता गरेको थियो ।
फिफा र क्लब व्यावसायिक लाभतर्फ आर्कषित छन् । तर, खेलाडी र प्रशिक्षकहरू भने लामो सिजनपछि विश्रामको पक्षमा देखिएका छन् । लिभरपुलका प्रशिक्षक आर्ने स्लटले भने, “खेलाडीहरूका लागि केवल एक हप्ता बिदा पाउँदा अर्को प्रतियोगिता खेल्नु, अनि फेरि सिजन सुरु गर्नु स्वास्थ्यका लागि घातक हो ।”
इटालियन च्याम्पियन नापोली र स्पेनको बार्सिलोना र इंग्लिस लिग च्याम्पियन क्लबहरू यो प्रतियोगिताबाट बाहिर छन् । यसका बाबजुद युरोपका १२ क्लबको सहभागिता हुँदा यस प्रतियोगितामा युरोपकै प्रभाव रहने आकलन छ ।
प्रतियोगितामा रियाल म्याड्रिड, बायर्न म्युनिक, चेल्सी, म्यानचेस्टर सिटीजस्ता ठूला क्लब सहभागी छन् । यस्तै, पेरिस सेन्ट जर्मन (पीएसजी)ले पहिलोपटक च्याम्पियन्स लिग जित्दा इन्टर मिलानलाई ५–० ले हराएका कारण फ्रान्सको यो टोलीलाई विश्वकै उत्कृष्ट क्लब मानिएको छ ।
अमेरिकी दर्शक फकाउन फिफालाई चुनौती
फिफा यो प्रतियोगिता भव्य रूपमा सफल बनाउन चाहन्छ । तर, टिकट बिक्री कम हुनु र जनचासोको अभावले समस्या उत्पन्न गरिरहेको छ । प्रसारण अधिकार किनेको कम्पनी डीएजेडएनले अपेक्षित दर्शक संख्या नपाउने डर छ ।
यसमा फिफाले खेल मात्रै होइन, राजनीति पनि खेलिरहेको छ । क्लब विश्वकपको मञ्चमा उनीहरू यूईएफएलाई टक्कर दिने प्रयास गरिरहेका छन् । अहिले च्याम्पियन्स लिगलाई विश्वकै सर्वश्रेष्ठ क्लब प्रतियोगिता मानिन्छ । विश्वभर च्याम्पियन्स लिगलाई पछ्याउने फुटबल समर्थकको संख्या अर्बौंमा छ ।
हालैमात्र फिफा र यूईएफएबीचको तनाव सतहमा आएको छ । जब फिफा अध्यक्ष इन्फान्टिनो पाराग्वेमा आयोजित फिफा कांग्रेसमा ढिला पुगे । उनी अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पको राज्य भ्रमणका क्रममा मध्यपूर्वमा भएका बैठकबाट सिधै फर्किएका थिए । यूईएफएका प्रतिनिधिले यो ढिलाइलाई ‘गम्भीर रूपले दुःखद्’ भन्दै बैठक बीचमै छाडेर बहिष्कार गरे ।
इन्फान्टिनो क्लब विश्वकप सफल बनाउन जटिल ढंगले लागिपरेका छन् । प्रतियोगिता सफल बन्न टिकट बिक्री बढ्नु, रंगशाला खाली नहुनु, र दर्शकले खेलको रमाइलो अनुभव गर्न आवश्यक छ । तर, चार वर्षे छनोट प्रक्रिया फेरबदल नहुने हो भने आगामी संस्करणमा अझ गम्भीर प्रश्न उठ्नेछन् ।
फिफा क्लब विश्वकप जुन १५ देखि जुलाई १४ सम्म हुनेछ । अमेरिका यसको आयोजक राष्ट्र हो ।