
काठमाडौं । नेपाली राष्ट्रिय महिला टिमका मुख्य प्रशिक्षक प्याट्रिक डी वाइल्डले कुल २० गोल गर्दा पनि एसियन कपमा छनोट हुन नसकेको बताएका छन् ।
छनोटअन्तर्गत समूह ‘एफ’को अन्तिम खेलमा शनिबार उज्वेकिस्तानसँग पेनाल्टी सुटआउटमा पराजयपछि नेपाली टिमको एसियन कप सम्भावना सकिएको थियो । तास्केनमा खेलको निर्धारित समयमा ३–३ को बराबरी भएको थियो । त्यसपछि नतिजाको निर्णय पेनाल्टी सुटआउट गरियो । र, उज्वेकिस्तानले नेपाललाई ४–२ ले हराएको हो ।
“वरीयताको १००औँ स्थानको टिमले ५० नजिक रहेको टिमसँग खेलिरहेको थियो । तर पनि हामीले उनीहरूलाई दबाबमा राख्यौँ,” हारपछि वाइल्डले भने, “उनीहरू हाम्रो टिमभन्दा शारीरिक रूपमा पनि बलिया थिए । खेलको पहिलो १५ मिनेट हाम्रा खेलाडीका निम्ति कठिन बन्यो । हामीले तीन खेलमा २० गोल गर्यौँ, तर पनि हामी एसियन कपमा छनोट हुन सकेनौँ ।”
छनोटमा नेपालले पहिलो खेलमा लाओसलाई ९–० ले हराएको थियो । दोस्रो खेलमा नेपालले श्रीलंकाविरुद्ध ८–० को जित निकालेको थियो । अन्तिम खेलमा उज्वेकिस्तानविरुद्धको तीन जोड्दा नेपालले गरेको गोल संख्या २० पुग्यो ।