
काठमाडौं । सरकारले राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)का तीन सांसदको व्यक्तिगत सुरक्षा गार्ड (पीएसओ) खोसिदिएको छ । सांसद ध्रुवबहादुर प्रधान, प्रमुख सचेतक ज्ञानेन्द्र शाही र पूर्वाधार विकास समितिका सभापति दीपकबहादुर सिंहको पीएसओ आज फिर्ता बोलाइएको हो ।
“म त मकवानपुरमा थिएँ, मेरो पीएसओले ‘अफिसले बोलायो’ भनेपछि मैले जानुस् भनेर बिदा दिएँ,” पूर्वाधार समितिका सभापति सिंहले बाह्रखरीसँग भने, “पछि थाहा भयो, गणतन्त्रविरुद्धको आन्दोलनमा लागेको भनेर फिर्ता बोलाइएको रहेछ ।”
सिंहले आफूले किन फिर्ता बोलाएको भनेर गृहमन्त्री रमेश लेखकलाई सदनमै सोधेको जानकारी दिए । जवाफमा गृहमन्त्री लेखकले गणतन्त्रविरुद्धको आन्दोलनमा लागेपछि राज्यको स्रोत दिन नसकिने बताएको सिंहको भनाइ छ ।
“मैले यसबारे गृहमन्त्री लेखकलाई सदनमै सोधेँ, नियमअनुसार पाएको हाम्रो पीएसओ किन फिर्ता बोलाउनुभयो ?,” सिंहले भने, “उहाँले गणतन्त्रविरुद्धको आन्दोलनमा लागेपछि राज्यको स्रोत कसरी दिने भन्नुभयो ।”
गृहमन्त्रीको जवाफबाट आक्रोशित भएका सिंहले तलबभत्ता रोके पनि आफूहरूलाई फरक नपर्ने बताए । “हाम्रो पीएसओमात्र होइन, तलब भत्तासमेत रोक्छ भने पनि यो सरकारले रोकोस्,” सिंहले भने, “हामी आन्दोलन गर्छौं, हाम्रो आन्दोलन रोकिँदैन ।”
सिंह र प्रधानले एकएक पीएसओ लिएका थिए । प्रमुख सचेतक शाहीले दुई पीएसओ लिएका थिए ।
प्रहरी प्रधान कार्यालयमा कार्यरत एसएसपी रमेश थापाले पीएसओलाई नियमित ब्रिफिङका लागि हेडक्वाटर बोलाएको जानकारी दिए ।