site stats
बाह्रखरी :: Baahrakhari
राजनीति
परराष्ट्रमन्त्री राणा हङकङबाट स्वदेश फिर्ता
डा. आरजु राणा देउवा । फाइल तस्बिर ।

काठमाडौं । परराष्ट्रमन्त्री डा. आरजु राणा देउवा चीनको विशेष प्रशासकीय क्षेत्र हङकङमा यही जेठ १६ गते आयोजित अन्तर्राष्ट्रिय मध्यस्थता संगठन स्थापना गर्ने महासन्धिको हस्ताक्षर समारोहमा सहभागी भएर शनिबार (जेठ १७) राति स्वदेश फर्किएकी छन् ।

चिनियाँ विदेशमन्त्री वाङ यीको निमन्त्रणामा उक्त समारोहमा सहभागी हुन उनी बुधबार (जेठ १४) हङकङ प्रस्थान गरेकी थिइन् । नेपाल उक्त संगठन स्थापना गर्नेसम्बन्धी महासन्धिको हस्ताक्षर कार्यक्रममा पर्यवेक्षकका रूपमा सहभागी भएको हो ।

Argakhachi Cement Island Ad

उक्त महासन्धिमा ३२ मुलुकका अधिकारीले हस्ताक्षर गरेका थिए । हस्ताक्षर समारोहमा ५० बढी मुलुक र २० भन्दा धेरै अन्तर्राष्ट्रिय संघसंगठनका प्रतिनिधि सहभागी भएका थिए ।

उक्त संगठनले विभिन्न देशबीच एक–अर्काे मुलुकको कम्पनी वा नागरिकबीच एवं विभिन्न राष्ट्रका निजी व्यवसायबीचका विवादलाई मध्यस्थताद्वारा समाधान गर्ने उद्देश्य लिएको छ । 

उक्त कार्यक्रमका सिलसिलामा मन्त्री डा. राणाले चिनियाँ विदेशमन्त्री वाङ यीसँग द्विपक्षीय भेटवार्ता गरेकी थिइन् । भेटका अवसरमा नेपाल र चीनबीचको मैत्रीपूर्ण सम्बन्ध अझ सुदृढ गर्दै जाने विषयमा कुराकानी भएको परराष्ट्र मन्त्रालयले जनाएको छ । 

त्यसक्रममा नेपाल र चीनबीच आर्थिक, प्राविधिक तथा व्यावसायिक सम्बन्ध विस्तार गर्ने एवं चिनियाँ सहयोगमा नेपालमा निर्माणाधीन परियोजना समयमै सम्पन्न गर्ने विषयमा छलफल भएको मन्त्री राणाले बताइन् ।

उनले भनिन्, “यस वर्ष अर्थात् सन् २०२५ नेपाल र चीनबीच कूटनीतिक सम्बन्ध स्थापनाको ७०औँ वर्षगाँठ परेकोले यस अवसरलाई विशेष कार्यक्रमहरूसहित मनाउने र दुई मुलुकबीच उच्चस्तरीय भ्रमणहरू आदानप्रदान गर्ने कार्यलाई निरन्तरता दिने विषयमा पनि कुराकानी भएको छ ।” 

मन्त्री राणाले नेतृत्व गरेको नेपाली प्रतिनिधिमण्डलमा परराष्ट्र मन्त्रालयको उत्तरपूर्व एसिया महाशाखाका प्रमुख भृगु ढुंगाना, हङकङस्थित नेपालका महावाणिज्यदूत डा. विन्देश्वरप्रसाद लेखकसहित परराष्ट्र मन्त्रालय र महावाणिज्यदूतावास हङकङका प्रतिनिधि सहभागी थिए ।

प्रकाशित मिति: आइतबार, जेठ १८, २०८२  ०९:०४
प्रतिक्रिया दिनुहोस्