
काठमाडौं । कवि जुमन किरणको पहिलो कविताकृति ‘यादहरूको बहिर्गमन’ एक कार्यक्रममाझ सार्वजनिक गरिएको छ ।
बिहीबार काठमाडौंमा आयोजित कार्यक्रममा प्रमुख अतिथि कवि शैलेन्द्र साकार लगायतले कृति सार्वजनिक गरे ।
प्रमुख अतिथि साकारले बोल्दै जुमनका कवितामा पाठकले नयाँ स्वाद भेट्ने बताए । उनी प्रयोगवादी कवि भएको चर्चा गर्दै कवि साकारले उनका कवितामा सौम्य व्यङ्ग्य भेटिने उल्लेख गरे ।
कृतिमाथि पाठकीय टिप्पणी राख्दै कवि कृष्ण प्रधानले नेपाली कविताका क्षेत्रमा यस कृतिले प्रतिनिधिमूलक योगदान पुर्याउने बताए । उनले जुमनका कवितामा गहिरो अभिव्यक्ति भेटिने चर्चा गर्दै उनका कवितामा चित्रकारी विम्ब पनि रहेको उल्लेख गरे ।
सुनकोसी वाङ्मय प्रतिष्ठानद्वारा आयोजित कार्यक्रममा साहित्यकारहरू कलानिधि दाहाल, श्रीओम श्रेष्ठ रोदन, कवि जुमन किरण, प्रोल्लास सिन्धुलीय, छविरमण सिलवाल र पूर्णबहादुर श्रेष्ठले कृतिमाथि बोले ।
कार्यक्रममा रुविना राना, विनोद खत्री र वसुन्धरा चौहानले सार्वजनिक कृतिभित्रबाट एक एक कविता वाचन गरे ।