
काठमाडौं । कृषि तथा पशुपन्छी विकासमन्त्री रामनाथ अधिकारीसँग नेपाल भ्रमणमा रहेका चीनको सिजाङ प्रदेश सरकारका कार्यकारी उपाध्यक्ष डन वा नेतृत्वको प्रतिनिधिमण्डलले भेटवार्ता गरेको छ । बुधबार मन्त्रालयमा भएको भेटवार्तामा मन्त्री अधिकारीले नेपाल र चीनबीच कृषि क्षेत्रमा विगतदेखिनै सहयोग र सहकार्य हुँदै आएको उल्लेख गर्दे आगामी दिनमा कृषि क्षेत्रमा चीनको सहयोग थप अभिवृद्धि हुने अपेक्षा व्यक्त गरे ।
मन्त्री अधिकारीले नेपालबाट चीनतर्फ निर्यात गर्न सकिने वस्तुमध्ये चिया, नेपाली जडीबुटी एवं राँगोको मासुलाई चीनको भन्सार प्रवेशका लागि प्रकृया अघि बढेकोमा चीन सरकारलाई धन्यवाद व्यक्त गरे । मन्त्री अधिकारीले जडीबुटी निर्यातको लागि पनि हाल पाँचवटा कम्पनी यस प्रकृयामा दर्ता भएकाले थप सहजीकरणमा सहयोग गर्न उपाध्यक्षसमक्ष आग्रह गरे ।
सन् २०१९ मा नेपाल–चीनबीच हस्ताक्षर भएको सुन्तला जातका फलफूल निर्यातसम्बन्धी सम्झौता र २०२२ मा भएको घाँस निर्यातसम्बन्धी सम्झौताको कार्यन्वयनका लागि आधारभूत आवश्यकता तयार गर्न प्राविधिक सहयोगका लागि पनि मन्त्री अधिकारीले चिनियाँ प्रतिनिधि मण्डलसँग आग्रह गरे ।
भेटवार्तामा उपाध्यक्ष वाले नेपालको चिया, जडीबुटी आदिको माग चीनमा रहेको र नेपालबाट यसको निर्यातका लागि आफूले सहजीकरण गर्ने बताए । सुन्तला जातका फलफूल निर्यात गर्नका लागि उपयुक्त भण्डारणस्थल आवश्यक पर्ने र यसका लागि सहयोग गर्न तयार रहेको पनि उनले उल्लेख गरे ।