
काठमाडौं । नेपाल उद्योग परिसंघअन्तर्गतको युवा उद्यमी मञ्च लुम्बिनीको आयोजनामा आइतबार बुटवलस्थित तिलोत्तमाको टाइगर प्यालेस रिसोर्टमा युवा उद्यमी भेटघाट तथा अन्तरक्रिया कार्यक्रम सम्पन्न भएको छ ।
कार्यक्रममा चौधरी ग्रुपका प्रबन्ध निर्देशक तथा सफल युवा उद्यमी निर्माणल चौधरीको विशेष प्रशिक्षणात्मक अन्तरक्रिया सम्पन्न भयो । कार्यक्रममा उनले नेपालभित्रै रहेको लगानीको सम्भावना, चुनौती र अवसरका विविध पक्षमा आफ्ना अनुभव साझा गरे ।
निर्माणल चौधरीले युवा उद्यमीले राखेका जिज्ञासाको सहज ढंगमा समाधान गर्दै व्यवस्थापनदेखि नवीन सोचको विकाससम्मका कुरामा जोड दिए । उनले देशमै केही गर्न सकिन्न भन्ने धारणा गलत रहेको उल्लेख गर्दै त्यसलाई चिर्दै सिर्जनशील सोच र नवीन दृष्टिकोणसहित अघि बढ्न युवालाई आह्वान गरे ।
उनले वर्तमान विश्वबजारको गतिशीलता र सूचना प्रविधिको तीव्र विकासलाई आत्मसात् गर्दै युवाले आर्थिक लगानी तथा औद्योगिक क्षेत्रमा नवीनतम सोचको विकास गर्न सकिने उल्लेख गरे ।
कार्यक्रममा नेपाल उद्योग परिसंघ लुम्बिनी प्रदेशका अध्यक्ष एजाज आलम र उपाध्यक्ष बाबुराम बोहोराको विशेष उपस्थिति थियो ।
युवा उद्यमी मञ्च लुम्बिनीका अध्यक्ष राजन कसजुले कार्यक्रममा सहयोग गर्ने सबैलाई आभार प्रकट गरेका थिए । कार्यक्रमको सञ्चालन लर्निङ चेयर विकास पाण्डेले गरेका थिए ।