
काठमाडौं । अमेरिकी अर्बपति व्यापारी एलन मस्कले एलन मस्कले राष्ट्रपति डोनाल्ड ट्रम्पको खर्च विधेयक (वान बिग ब्युटिफुल बिल)को विरोध गरेका छन् । अमेरिकी कार कम्पनी टेस्लाका प्रमुखसमेत रहेका मस्कले सीबीएस सन्डे मर्निङलाई दिएको अन्तर्वार्तामा विधेयकको आलोचना गरेका हुन् ।
मंगलबार एक्समा सेयर गरिएको अन्तर्वार्ताको क्लिपमा मस्कले विधेयकमा गरेको टिप्पणी समावेश गरिएको याहुन्युजले जनाएको छ ।
“मलाई यो विधेयकले निराश बनाएको छ । जसले बजेट घाटा घटाउनुको सट्टा बढाउँछ र सरकारी कार्यदक्षता विभाग (डोज) टिमले गरिरहेको कामलाई कमजोर पार्छ,” मस्कले भनेका छन् ।
मस्कले सरकारी खर्च घटाउने, संघीय बजेटमा भ्रष्टाचार र फजुल खर्च हटाउने प्रयासमा ह्वाइट हाउसको डोज कार्यालयमा काम गरिरहेका छन् । मस्कले हालै आफ्नो डोजसँगको काम घटाइरहेको बताएका छन् ।
ट्रम्पको यस विधेयकले उनको सन् २०१७ को कर कटौतीलाई स्थायी बनाउँदै संघीय घाटामा ट्रिलियन डलर थप्ने बताइएको छ । यो विधेयक गत हप्ता हाउसले पारित गरेको थियो ।
“मलाई लाग्छ विधेयक ठूलो वा सुन्दर हुन सक्छ । तर, दुवै हुन सक्छ कि भन्ने मलाई थाहा छैन,” मस्कले सीबीएस न्युजलाई भनेका छन् ।
गत नोभेम्बरमा ट्रम्पले डोजलाई मस्क र विवेक रामास्वामीले सहनेतृत्व गर्ने घोषणा गरेका थिए । ट्रम्पले यस आयोगले ४ जुलाई २०२६ सम्म आफ्नो काम समाप्त गर्ने भनेका थिए । रामास्वामीले जनवरीमा डोज छोडेपछि मस्कमात्र यसका प्रमुख नेता बनेका छन् ।
मस्कले डोजका लागि महत्त्वाकांक्षी लक्ष्य राखेका थिए । अक्टोबरमा एमस्कले डोजले सरकारका लागि कम्तीमा दुई ट्रिलियन डलर बचत गर्ने बताएका थिए । पछि जनवरीमा उनले दुई ट्रिलियन डलर बचत गर्नु उत्कृष्ट नतिजा हुने र एक ट्रिलियन डलर बचत गर्न डोजसँग राम्रो सम्भावना रहेको बताएका थिए ।
गत महिना मस्कले पत्रकारहरूलाई डोजले संघीय खर्चमा १६० बिलियन डलर बचत गरेको बताएका थिए । यस्तै, २० हजार सरकारी कर्मचारी हटाएको उनको भनाइ थियो ।
“मलाई लाग्छ ठूलो योजनामा हामी प्रभावकारी भएका छौँ । तर, चाहे जति प्रभावकारी भएनौँ कि जस्तो लाग्छ । हामी अझ प्रभावकारी हुन सक्थ्यौँ । तर, हामीले प्रगति भने गरेका छौँ,” मस्कले अप्रिल ३० मा भनेका थिए ।
डोजमा उनको कामलाई लिएर टेस्लाविरुद्ध बहिष्कार र प्रदर्शन बढेको छ । टेस्लाका लगानीकर्ताले मस्कलाई आफ्नो व्यवसायलाई बढी समय दिन माग गरिरहेका छन् ।
मस्कले मे २० मा मिडिया ब्लिट्ज शुभारम्भ गर्दै टेस्लाप्रति प्रतिबद्धता जनाएका थिए । सोहीदिन ब्लुमबर्गलाई दिएको अन्तर्वार्तामा उनले आफ्नो राजनीतिक खर्च घटाउने बताएका थिए ।
“भविष्यमा मराजनीतिक खर्च घटाउने धेरै कम गर्नेछु । मलाई लाग्छ मले पर्याप्त गरिसकेँ,” मस्कले ब्लुमबर्गलाई भने ।
त्यहीदिन सीएनबीसीलाई उनले वासिङटनमा बसेर काम गर्ने बताए । गत महिना उनले डोजसँगको संलग्नता घटाएर टेस्लामा ध्यान केन्द्रित गर्ने योजना बताएका थिए ।
“ह्वाइट हाउसबारे मेरो स्पष्ट योजना केही हप्तामा एकपटक दुई दिन त्यहाँ बस्ने हो । जहाँ म सहयोगी हुन सक्छु, त्यहाँ सहयोग गर्ने हो,” मस्कले सीएनबीसीलाई भनेका छन् ।
याहुन्युजबाट ।