site stats
बाह्रखरी :: Baahrakhari
विदेश
यसकारण एप्पलले अमेरिकामा आइफोन बनाउने छैन

काठमाडौं । सन् २०११ मा तत्कालीन अमेरिकी राष्ट्रपति बाराक ओबामाले एप्पलका सीईओ स्टिभ जब्सलाई अमेरिकामा आइफोन उत्पादन कार्य फर्काउन के–के चाहिन्छ भनेर सोधेका थिए ।

चौध वर्ष पछि, राष्ट्रपति डोनाल्ड ट्रम्पले सोही प्रश्न एप्पलका वर्तमान सीईओ टिम कुकलाई फेरि सोधेका छन् । तर, त्यतिमात्र होइन, अमेरिकामा बिक्री हुने फोनहरू अमेरिकामा उत्पादन नगरेमा ट्रम्पले एप्पल र अन्य स्मार्टफोन कम्पनीहरूलाई २५ प्रतिशत शुल्क लगाउने धम्की दिएका छन् । 

ट्रम्पले शुक्रबार सामाजिक संजालमा पोस्ट गर्दै भने, “मैले धेरै अघिदेखि नै एप्पलका टिम कुकलाई अमेरिकामा बिक्री हुने आइफोनहरू अमेरिकामा नै निर्माण हुनेछन्, भारत वा अन्य ठाउँमा होइन भनेर सूचित गरिसकेको छु । म त्यसप्रति आशावादी छु । तर, यस्तो भएन भने एप्पलले अमेरिकालाई कम्तिमा २५ प्रतिशत कर तिर्नुपर्छ ।”

Argakhachi Cement Island Ad

यो महिनाको सुरुमा एप्पलका सीईओ टिम कुकले अमेरिका जाने धेरै आइफोनहरू भारतबाट नै पठाइने बताएका थिए । 

अमेरिकाभन्दा बाहिर रहेका उद्योगलाई देश फर्काउने ट्रम्पको राष्ट्रपतिकालको एक प्रमुख लक्ष्य रहेको छ । उनको दोस्रो कार्यकालको पहिलो तीन महिनाभित्र नै उनले आयात कर बढाउने अभियान सुरु गरे । विदेशमा बन्ने लगभग हरेक उत्पादनमा कर लगाउने वाचा गरेर अमेरिकामा रोजगारी बढाउने र व्यापारिक साझेदारहरूको अनुचित प्रथालाई सन्तुलनमा ल्याउने प्रयास गरे ।

तर, विज्ञहरूले अमेरिकामा आइफोन निर्माण गर्ने हो भने आइफोन एप्पलकोे आफ्नो सबैभन्दा फाइदाजनक उत्पादन नरहने बताउँछन् । आइफोन उत्पादन अमेरिकामा सार्नु भनेको चीन र भारतजस्ता देशहरूबाट टाढा जानु हो । एप्पलले प्रतिवर्ष करोडौँ आइफोन उत्पादन गर्न आवश्यक उच्च क्षमताका श्रमशक्ति र सीप चीन र भारतमा उपलब्ध छन् । विश्लेषकहरूका अनुसार यसले आइफोनको मूल्य वृद्धि वा डिजाइन परिवर्तन गर्न बाध्य बनाउन सक्छ ।

बजार अनुसन्धान फर्म फोरेस्टरका उपाध्यक्ष र प्रमुख विश्लेषक दीपान्जन चटर्जी भन्छन्, “यो सम्भव नै छैन, सफल हुँदैन ।”

अमेरिकामा आइफोन उत्पादन सार्ने योजना छ/छैन भन्ने प्रश्नमा एप्पलले कुनै प्रतिक्रिया दिएन ।

चीनमा पहिले नै इलेक्ट्रोनिक्स जडान गर्न ठूलो उत्पादन प्रणाली छ । एप्पलको दीर्घकालीन आइफोन ‘एसेम्बल’ साझेदार फोक्सकनले आफ्नो पिक सिजनमा नौ लाख कर्मचारीलाई रोजगारी दिन्छ । चटर्जीले उल्लेख गरे अनुसार, कर्मचारीहरू डर्मिटरीमा बस्छन् । यसले गर्दा छोटो सूचनामा नै उत्पादन योजना परिवर्तन गर्न सजिलो हुन्छ । उत्पादन प्रक्रियाहरू उत्पादनअनुसार अत्यधिक विशष्टिीकृत हुन्छन्, यसलाई सजिलै अर्को ठाउँमा लागु गर्न सकिन्न ।

अन्तर्राष्ट्रिय बजार अनुसन्धान कम्पनी कान्टारका वरिष्ठ उपाध्यक्ष डेभिड मार्कोटले भने, “प्रत्येक कम्पोनेन्ट बनाउने विशेषज्ञता लामो समयसम्म काम गरेर मात्र हासिल गर्न सकिन्छ ।”

अमेरिकामा फ्याक्ट्री कामको लागि पर्याप्त माग छ/छैन भन्ने प्रश्न पनि छ । ब्युरो अफ लेबर स्ट्याटिस्टिक्सका अनुसार अमेरिकामा औधोगिक उत्पादन (म्यानुफ्याक्चरङि) क्षेत्र घट्दै गएको छ । यस वर्षको सुरुमा मात्र आठ  प्रतिशत अमेरिकी कर्मचारीहरू यो क्षेत्रमा संलग्न थिए । सन् १९७० मा यो लगभग २६ प्रतिशत थियो । तर, त्यसपछि धेरै कुरा परिवर्तन भइसकेको छ ।

म्यानुफ्याक्चरिङ इन्स्टिच्युटकी कार्यकारी निर्देशक क्यारोलिन लीले यसअघि मानिसहरूको रोजगार (जागिर) नै परिवर्तन भएको छ । आधुनिक म्यानुफ्याक्चरिङ भूमिकाहरूमा कोडिङ र डेटा विश्लेषणजस्ता सीप र कौशलहरू समावेश भएका छन् ।

एप्पलले गत फेब्रुअरीमा  आगामी चार वर्षमा अमेरिकामा आफ्नो उपस्थिति बढाउन ५०० बिलियन डलर लगानी गर्ने योजना बनाएको घोषणा गरेको थियो । यसले अनुसन्धान र विकास प्रयासहरू बढाउने, एप्पल इन्टेलिजेन्स सफ्टवेयर फिचरहरूलाई सहयोग गर्न सर्भर निर्माण गर्ने नयाँ सुविधा खोल्ने र स्मार्ट म्यानुफ्याक्चरिङ प्रविधि र एआईको बारेमा कम्पनीहरूलाई सिकाउने, डिट्रायट एकेडेमी सुरु गर्ने लक्ष्य राखेको छ ।

ट्रम्पले यो सँगै ताइवानमा रहेको चिप निर्माता टीएसएमसीको अमेरिकामा विस्तार गर्न १०० बिलियन डलरको लगानी प्रतिबद्धतालाई एक राजनीतिक जित र धेरै प्रविधि उत्पादनहरू घरेलुस्तरमा ल्याउने योजनामा एक कदमको रूपमा घोषणा गरेका छन् ।

तर, एप्पल एकेडेमीको प्रेस विज्ञप्ति अनुसार यो योजना साना र मझौला व्यवसायहरूका लागि हुने र चीन वा भारतजस्तै आइफोन उत्पादन गर्न कामदारहरूलाई प्रशिक्षण दिने वा आधारभूत संरचना निर्माण गर्न होइन ।

कुकले अमेरिकामा आइफोन उत्पादन गर्न आवश्यक श्रम अभावलाई स्वीकार गरेका छन् । सन् २०१७ मा फच्र्यून म्यागजिनको एक कार्यक्रममा उनले चीनको म्यानुफ्याक्चरिङ वातावरणलाई कालिगड कौशल, उन्नत रोबोटिक्स र कम्प्युटर विज्ञानको संयोजन प्रदान गर्ने बताएका थिए ।

उनले भनेका थिए, “त्यो संयोजन, जुन अरू कतै पाउन गाह्रो छ । त्यस्तो कौशल हाम्रो व्यवसायका लागि धेरै महत्वपूर्ण छ किनभने हामीले चाहने छिटोछरितो पन र गुणस्तर यसले प्रदान गर्छ ।”

स्मार्ट रिङ निर्माता कम्पनी अल्ट्राह्युमनका सीईओ र संस्थापक मोहित कुमारसँग भारतबाट अमेरिकामा प्रविधि उत्पादन सार्ने प्रत्यक्ष अनुभव छ । इलेक्ट्रोनिक्स निर्माता एसभीट्रोनिक्ससँग साझेदारी पछि उनीहरूले नोभेम्बरमा टेक्सासमा आफ्नो औंलामा लगाइने स्वास्थ्य ट्रयाकर उत्पादन सुरु गरे । कुमारले अमेरिकामा उच्च श्रम लागतबाट बच्न उनीहरूले धेरै कार्यहरू स्वचालित गरे र प्रक्रियाका धेरै चरणहरूमा प्रशिक्षित कर्मचारीहरू नियुक्त गरे । 

टिम कुकले यसअघि ठूलो मात्रामा र तत्काल आइफोन निर्माण गर्न उनीहरूलाई विदेशमा जस्तै अमेरिकामा पनि रोबोटिक हातहरू चाहिने बताएका थिए । यो कुरा अमेरिकी वाणिज्य सचिव हावर्ड लुटनिकले सीएनबीसीलाई भनेका थिए ।

विश्लेषण फर्म मूर इनसाइट्स एन्ड स्ट्राटेजीका संस्थापक र सीईओ प्याट्रिक मुरहेड एप्पलले पाँच वर्षभित्र केही आइफोन उत्पादन अमेरिकामा सार्नसक्ने बताउँछन् । तर, यसले चीन र भारतको तुलनामा अमेरिकाको सीपको अन्तरलाई ध्यानमा राखेर केही प्रक्रियाहरू स्वचालित गर्न आवश्यक पर्ने उनको धारणा छ । यसले आइफोनको डिजाइन परिवर्तन गरेर धेरै नयाँ फिचर्स समावेश गर्न पनि सक्छ । 

एप्पलका धेरै आपूर्तिकर्ता चीनमा छन् । त्यसैले अमेरिकामा केवल एसेम्बल (जडान) गर्नका लागि सर्नु भनेको महत्वपूर्ण कमपोनेन्टहरूबाट टाढा जानु हो । वेडबुश सेक्युरिटीजका ग्लोबल टेक्नोलोजी रिसर्च हेड डन आइभ्सले आइफोनको उत्पादन प्रक्रियाको लगभग ९० प्रतिशत चीनमा हुने अनुमान गरिए पनि एप्पलले भारतमा धेरै उत्पादन सारेपछि अहिले यो संख्या ४० प्रतिशत हाराहारी पुगेको बताउँछन् । उनका अनुसार अमेरिकामा आइफोन निर्माण गर्दा यसको मूल्य तेब्बर हुनसक्छ ।

एक्सिओसको रिपोर्टअनुसार टिम कुकले गत हप्ता ट्रम्पसँग भेट गरेका थिए । उद्घाटनमा एक मिलियन डलर सहयोग गरेका थिए । यसकारण एप्पल अहिले कठोर निर्णयको सामना गर्दै गरेको फोरेस्टरका चटर्जी बताउँछन् । 

उनले भने, “न त तपाईं आर्थिक दृष्टिकोणबाट यथार्थमा एप्पलको उत्पादन अमेरिकामा ल्याउन सक्नुहुन्छ, न त म यस्तो गर्दिनँ भन्न सक्नुहुन्छ । त्यसैले यो समय तपाईंले त्यो तन्किएको डोरीमा जति लामो समयसम्म टिकेर पाइला चाल्न सक्नुहुन्छ, चालिरहनु पर्नेछ ।” सीएनएन

प्रकाशित मिति: बिहीबार, जेठ १५, २०८२  ०८:५०
प्रतिक्रिया दिनुहोस्