site stats
बाह्रखरी :: Baahrakhari
अर्थ व्यवसाय
आईपीओ ल्याउँदै कान्तिपुर फर्मास्युटिकल्स, एलिट क्यापिटलसँग सम्झौता

काठमाडौं । साधारण सेयर (आईपीओ) निष्कासनको तयारीमा रहेको कान्तिपुर फर्मास्युटिकल्स ल्याब लिमिटेडको सेयरको धितोपत्र प्रत्याभूति (अन्डरराइटिङ)का लागि एलिट क्यापिटल लिमिटेडले जिम्मेवारी पाएको छ । एलिट क्यापिटल र कान्तिपुर फर्मास्युटिकल्सबीच मंगलबार अन्डरराइटिङसम्बन्धी सम्झौतामा हस्ताक्षर भएको हो ।

सम्झौतापत्रमा कान्तिपुर फर्मास्युटिकल्सका प्रबन्ध सञ्चालक नवराज पौडेल र एलिट क्यापिटलका कार्यकारी अध्यक्ष दिनेश आचार्यले हस्ताक्षर गरेका छन् । एलिट क्यापिटलले कान्तिपुर फार्मास्युटिकल्सको १७ करोड रुपैयाँ बराबरको १७ लाख कित्ता आईपीओको प्रत्याभूति गरेको जनाएको छ । 

Argakhachi Cement Island Ad

कान्तिपुर फर्मास्युटिकल्सले आईपीओ निष्कासन गर्न नियामक निकाय नेपाल धितोपत्र बोर्डमा निवेदन दिएको छ । आईपीओ बिक्री प्रबन्धक मुक्तिनाथ क्यापिटल लिमिटेड छ ।

६३ करोड रुपैयाँ चुक्ता पुँजी भएको कान्तिपुरले १०० रुपैयाँ अंकित मूल्यमा १७ लाख कित्ता आईपीओ निष्कासन गर्न लागेको हो । कम्पनीले कुल १७ करोड रुपैयाँ बराबरको आईपीओ निष्कासन गर्ने भएको छ ।

सन् २०१८ सालमा स्थापित भएको कम्पनीले भेटेरिनरीसम्बन्धी औषधिको अनुसन्धान तथा पशुपन्छीका लागि आहारपूरक सप्लिमेन्ट्स उत्पादन तथा बिक्री वितरण गरिरहेको छ ।

कम्पनीले हाल औषधि व्यवस्था विभागबाट ६१ प्रकारका औषधिको उत्पादन स्वीकृति प्राप्त गरिसकेको छ । जसमध्ये १३ वटा औषधिको बिक्रीवितरण प्रमाणपत्र प्राप्त गरी नेपाली बजारमा बिक्री वितरण गर्दै आएको छ ।

अन्य औषधिको बिक्रीवितरण प्रमाणपत्र प्राप्त गर्ने प्रक्रियामा रहेको कम्पनीले जनाएको छ । कम्पनीले २१ वटा अन्य आहारपूरक सप्लिमेन्टससमेत उत्पादन तथा बिक्री वितरण गर्दै आएको छ ।

पछिल्लो समय औषधि कम्पनीले धमाधम आईपीओ निष्कासन गर्न थालेका छन् । ओमेगाश्री फर्मास्युटिकल्स लिमिटेडले आईपीओ निष्कासन गरिसकेको छ । यस्तै, टाइम फर्मास्युटिकल्सले पनि आईपीओ ल्याउने तयारीमा छ ।

प्रकाशित मिति: मंगलबार, जेठ १३, २०८२  १७:१६
प्रतिक्रिया दिनुहोस्