
इस्लामाबाद । पाकिस्तानको पूर्वी पन्जाब प्रान्तमा भीषण हावाहुरीका कारण १९ जनाको ज्यान गएको छ भने ९० भन्दा बढी मानिस घाइते भएका छन् ।
प्रान्तीय विपद् व्यवस्थापन प्राधिकरण (पीडीएमए)ले आइतबार सार्वजनिक गरेको विवरणमा यसबारे जानकारी दिइएको हो ।
पीडीएमएका अनुसार मृतक प्रायः माटो वा कमजोर संरचनाका घरमा रहेका थिए । ती घरको गारो तथा छाना ढलेर मानिसहरूलाई पुरेको थियो ।
हावाहुरी र असिनाका कारण रुखहरू ढलेकाका छन् भने पर्खालहरू भत्किएकाका छन् । यातायात र हवाई सेवा अवरुद्ध भएको छ ।
प्रान्तभर यातायातमा व्यापक असर परेको छ । मौसमको खराबीका कारण धेरै सडक बन्द गरिएको छ । प्रहरीका अनुसार हावाहुरीको जोखिमले मुख्य सडकहरू बन्द गर्नुपरेको हो ।
पन्जाबको राजधानी लाहोरस्थित विमानस्थलमा उडान सञ्चालनमा पनि समस्या आएको छ । कराँचीबाट लाहोर आउँदै गरेको एक निजी जहाजलाई अवतरणको क्रममा हावाहुरीले अत्यधिक हल्लाएपछि यात्रु आतंकित बनेका थिए ।
हावाको तीव्रताले जहाजका चालकले विमानस्थलमा अवतरण नगरी पुनः कराँची फर्काउने निर्णय गरेका थिए । अन्य धेरै उडानमा पनि ढिलाइ भएको खबर छ ।
पीडीएमएले अझै केही दिन मौसम खराब रहने सम्भावना रहेकोले नागरिकलाई सतर्क रहन आग्रह गरेको छ । प्राधिकरणका प्रमुख इरफान अली कथियाले सबै जिल्ला प्रशासक र उद्धार टोलीहरूलाई उच्च सतर्कताका साथ तयारी अवस्थामा बस्न निर्देशन दिएका छन् ।
स्थानीय प्रशासनलाई आपसमा समन्वय गरेर सम्भावित विपद् न्यूनीकरण तथा उद्धार कार्यमा सक्रिय रहन भनिएको छ ।
सरकारले नागरिकहरूलाई आवश्यक नपरी बाहिर ननिस्कन, कमजोर संरचनाबाट टाढा रहन र सम्भव भएसम्म सुरक्षित स्थानमा बस्न सुझाव दिएको छ ।रासस/सिन्ह्वा