site stats
बाह्रखरी :: Baahrakhari
देश
विमानस्थलमा सेटिङ नहुने भए काठमाडौंबाट उड्ने एक लाख युएई पुग्ने चार लाख कसरी हुन्छन् ?

काठमाडौं । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले गत बुधबार गृह मन्त्रालयका सहसचिव तीर्थराज भट्टराईलाई नियन्त्रणमा लियो । 

सेटिङमा भिजिट भिसामार्फत नेपाली युवा–युवतीलाई युनाइटेड अरब इमिरेट्सलगायतका देश पठाउने कार्यमा संलग्न रहेको भेटिएपछि अख्तियारले भट्टराईलाई नियन्त्रणमा लिएको थियो । अख्तियारले भट्टराईसँगै अन्य तीन जनालाई पनि नियन्त्रणमा लिएको थियो । 

उनीहरुमा खगेन्द्र सुवेदी, कविता पौडेल र बालकृष्ण बस्नेत छन् ।  अख्तियारले नियन्त्रणमा लिइएकामध्ये भट्टराईलाई भोलिपल्ट छोडेको थियो । बाँकी तीनजना अझै अख्तियारको नियन्त्रणमा रहेका छन् । 

Argakhachi Cement Island Ad

यो घटनाले फेरि एक–पटक नेपालको गृह प्रशासन र त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा मानव तस्करको जालोले कति मजबुद तरिकाले जरा गाडेको छ भन्ने छर्लङ्ग पारेको छ । यसले मानव तस्करहरुको सेटिङमा ‘भिजिट भिसा’ मार्फत कसरी नेपालबाट विभिन्न मुलुकमा मानव तस्करी भइरहेको छ र कर्मचारी कुन हदसम्म संलग्न हुन्छन् भन्ने बाहिर ल्याएको छ । 

भिजिट भिसामा नेपालीलाई विदेश पठाउने मानव तस्करको सेटिङमा गृहमन्त्री रमेश लेखक र उनको सचिवालयसमेत जोडिएको भन्दै आलोचना भएपछि सर्वसाधारणले अहिले सामाजिक सञ्जालमा गृहमन्त्रीको राजीनामा मागिरहेका छन् । 

यसअघि नक्कली कागजात बनाइ भिजिट भिसामा नेपालीलाई विदेश पठाउने कार्यमा मुद्दा खेपेका व्यक्ति विमल पौडेल अहिले गृहमन्त्री लेखकको सचिवालयमै कार्यरत छन् ।  त्यसबाहेक नक्कली लाइसेन्स प्रकरणदेखि विभिन्न प्रकरणमा मुछिएका सहसचिवलाई पनि लेखकले विशेष जिम्मेवारी दिएका छन् ।

“नक्कली लाइसेन्स प्रकरणमा कारबाही हुनुपर्ने व्यक्तिहरु गृहमा कसरी हालिमुहाली गरिरहेका छन्,” एक अधिकारीले भने, “सेटिङमा पोख्त कर्मचारीलाई लेखकले विशेष भूमिका दिएको पाइन्छ ।”

यसैलाई आधार बनाई गृहमन्त्री लेखकमाथि प्रहार भइरहेको छ । पौडेलले भने अदालतबाट उक्त घटनामा सफाइ पाइसकेका छन् । यस घटनामा गृहमन्त्री लेखक संलग्न छन् वा छैनन् त्यो पछि अनुसन्धानले देखाउला । तर अहिले सामाजिक सञ्जालमा उनीप्रति आक्रोश बढ्दो छ । 

यही घटनालाई इङ्गित गर्दै नेकपा एमालेका नेता विष्णु रिजालले सामाजिक सञ्जाल एक्समा लेखेका छन्, “गृहमन्त्रीहरूको विगत त्यति सुखद् देखिँदैन । खुमबहादुर, गोविन्दराज, विजय गच्छदार, महरा, रवि...।” 

गृह मन्त्रालय स्रोतका अनुसार अख्तियारले भट्टराई माथि निगरानी गरेको थाहा पाएपछि गृहमन्त्री लेखकले गत मंगलबार उनलाई विमानस्थल अध्यागमन कार्यालयबाट मन्त्रालयमा तानेका थिए । 

गृहमन्त्री लेखकले नै भट्टराई विमानस्थलस्थित अध्यागमन कार्यालयमा प्रमुख बनाइ पठाएका थिए ।  गृह मन्त्रालय तानेको भोलिपल्ट बुधबार अख्तियारको टोलीले भट्टराईलाई नियन्त्रणमा लिएको थियो ।  भट्टराई २०८१ असोज २३ गते मात्र त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलस्थित अध्यागमन कार्यालयमा प्रमुख अध्यागमन अधिकृतको रुपमा हाजिर भएका थिए । 

विमानस्थलस्थित कार्यालयमा हाजिर भएको आठ महिना नबित्दै उनलाई मन्त्रालयमा तानिएको थियो । गृहमन्त्रीको निर्देशनमा गृहले मानव तस्करको सेटिङ्मा संलग्न रहेको शंका गरिएका भट्टराईसहित नौ जनालाई सरुवा गरेको छ । 

नायब सुब्बाहरु नरबहादुर थापा, प्रेमप्रसाद पौडेल र वीरभद्र जोशी, कम्प्युटर अप्रेटरहरु धनराज उपाध्याय, कमला श्रेष्ठ, पवन गुरुङ, उदेन सुवेदी, प्रदीपकुमार यादवलाई सरुवा गरिएको छ । 

त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा मानव तस्करको सेटिङमा भिजिट भिसामार्फत नेपाली युवा–युवती विदेश पठाएका घटना बेलाबखत बाहिरिने गर्छन् । डेढ वर्ष अघि पनि यस्तै एउटा घटना सार्वजनिक भएको थियो ।

२०८० कात्तिक १४ गते शंकास्पद कागजातसहित दुई जना महिला कौशिला मगर र लक्ष्मी राईलाई नियन्त्रणमा लिइएको थियो ।  त्यसपछि मानव तस्करको सेटिङमा भिजिट भिसामार्फत भइरहेको मानव तस्करी र अध्यागमन कार्यालयका कर्मचारीको संलग्नता खुलेको थियो । 

उक्त घटनामा संलग्न रहेको आरोपमा अध्यागमन कार्यालयका तत्कालीन अधिकृतहरु नरविर खड्का, सुजन फागो, विमल पौडेल, पिताम्बर रिमाल, ताराबहादुर कुँवर, विकास डंगोल, कुशल बराल शैलेन्द्र ढकालसहित २२ जना विरुद्ध प्रहरीले २०८० माघ १८ गते काठमाडौं जिल्ला अदालतमा मुद्दा दायर गरेको थियो । 

त्यतिबेला प्रहरीसँगको बयानका क्रममा नरविर खड्काले विमानस्थलमा मानव तस्करको सेटिङ कति डरलाग्दो हुने गर्छ बताएका थिए । 

उनले बयानका क्रममा प्रहरीले भनेका थिए, “भिजिट भिसामा सेटिङ मिलाउने एजेन्ट होलिडेज् एन्ड ट्राभल्सका सञ्चालक सरोज यादब, लाल बहादुर भगत, मनोज लामा, रामेछाप घर हुने पदम लामा, प्रकाश चौधरी समेतसँग २०८० साल असार महिनादेखि मिलेमतो गरी पुरुषको १० देखि १५ हजार, महिलाको ४० देखि ५० हजार सम्म १ पटकमा १० देखि २० जना कहिले काही १०० देखि १५० जना सम्मको रकम लिई भिजिट भिसामा सेटिङ मिलाउने एजेन्टहरुमार्फत लिने गरेको हो ।” 

नरविरको बयानअनुसार भिसा सहजीकरणको लागि एउटा समिति बनाइएको थियो ।  समितिमा कुशल बराल, शैलेन्द्र ढकाल, विमल पौडेल, विष्णु अर्याल, विकास डंगोल, पिताम्वर रिमाल, सुजन फागोसमेत रहेको बयान उनले दिएका थिए । 

“औसतमा प्रत्येक कर्मचारीको भागमा मेरोबाट गएको ४०/५० हजार हुन्छ,” प्रहरीसँगको बयानमा नरविरले भनेका थिए । 

के उनीहरुले बयानमा भनेजस्तो त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट मानव तस्करी हुन्छ ? के ठूलो संख्यामा नेपाली भिजिट भिसामा विदेश जान्छन् ? जान्छन् भने कहाँ जान्छन् ? कि त्यसै अनुमानका भरमा आरोप मात्र लगाइएको हो ?

यी प्रश्नको जवाफ गृह मन्त्रालय अन्तर्गगतको अध्यागमन विभाग र युएईको अबुधाबिस्थित नेपाली दूतावासको तथ्याङ्कले पनि दिन्छ ।  अध्यागमन विभागबाट बाह्रखरीलाई प्राप्त विवरणअनुसार सन् २०२४ मा विभिन्न उद्देश्यले १६ लाख ७४ हजार २२५ जना नेपाली विदेश गएका थिए । 

यीमध्ये ‘भिजिट भिसा’ मा सन् २०२४ को जनवरी १ देखि डिसेम्बर ३१ सम्म विश्वका डेढ सयभन्दा बढी देशमा जाने नेपालीको संख्या २ लाख ७४ हजार ४२८ रहेको थियो । 

यत्तिसम्म त ठिक छ । यूएईस्थित नेपाली दूतावासले बाह्रखरीलाई उपलब्ध गरेको तथ्याङ्क भने तर्साउने खालको छ । दूतावासका अनुसार सन् २०२४ मा भिजिट भिसामा चार लाख ३७ हजार नेपाली यूएई पुगेका छन् । यो तथ्याङ् यूएईको गृह मन्त्रालयले नेपाली दूतावासलाई दिएको हो । 

अध्यागमनको तथ्याङ्कले भने सन् २०२४ मा ९९ हजार ८८६ जना नेपाली मात्र भिजिट भिसामा यूएई गएको देखिन्छ । उक्त वर्ष भिजिट भिसामा सबैभन्दा बढी नेपाली यूएई गएका थिए ।

काठमाडौंको त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट जति संख्यामा नेपाली भिजिट भिसामा विश्वका डेढ सयभन्दा बढी देशको लागि उडेका छन् त्योभन्दा १.५९ गुणाभन्दा बढी नेपाली यूएई पुगेको देखिन्छ ।  नेपालको अध्यागमन विभागको तथ्याङ्कले जति संख्यामा नेपाली भिजिट भिसामा यूएई गएको देखाएको छ त्यसको ४.३७ गुणाभन्दा बढी नेपाली सोही भिसामा यूएई पुगेको यूएईको सरकारी तथ्याङ्कले देखाउँछ ।

नेपालबाट भिजिट भिसामा उड्नेकोभन्दा यूएई पुग्नेको संख्या निकै बढी किन हुन्छ ? 

“सेटिङ यस्तो हुन्छ कि एउटा उद्देश्यले जानेको रेकर्ड अर्कै उद्देश्यले गएको भन्नेमा राखिन्छ । जसका कारण भिजिट भिसामा जानेको संख्या अध्यागमनको रेकर्डमा कम देखिएको हो,” गृह मन्त्रालय उच्च स्रोतले बाह्रखरीसँग भन्यो, “विमानस्थलमा सेटिङ नहुने हो भने यस्तो कसरी सम्भव हुन्छ ?”

सन् २०२४ मा यूएईको लागि नेपालबाट भिजिट भिसामा उड्ने नेपालीको संख्याभन्दा सोही भिसामा यूएई पुग्ने नेपालीको संख्या तीन लाख ३७ हजार ११४ ले बढी देखिन्छ । 

अध्यागमन विभागका अनुसार भिजिट भिसामा सन् २०२४ मा ९९ हजार ८८६ जना यूएई, ६४ हजार ६७८ जना भारत, ३२ हजार ५६४ जना थाइल्यान्ड, १२ हजार ३५५ जना चीन, ९ हजार ६३६ जना अष्ट्रेलिया, ५ हजार ४२४ जना मलेसिया, ५ हजार ३२५ जना सिंगापुर, ५ हजार २७० जना ओमान, ५ हजार २४४ जना अमेरिका, ४ हजार ८६१ जना जापान, २ हजार ५७९ जना बेलायत, १ हजार ५९१ जना कतार र १ हजार ४५३ जना साउदी अरेबिया गएका थिए । बाँकी २३ हजार ५६२ जना नेपाली भिजिट भिसामा अन्य देश गएका थिए । 

पछिल्ला वर्षहरुको तथ्याङ्कले वैदेशिक रोजगारीको सिलसिलामा नेपालीहरु सबैभन्दा ठूलो संख्यामा जाने देश हो– यूएई । प्रत्येक वर्ष दुई लाखभन्दा बढी नेपाली श्रम स्वीकृति लिएर यूएई जाने गरेको वैदेशिक रोजगार विभागको तथ्याङ्कले देखाउँछ । 

तर पछिल्ला वर्षहरुमा ‘वर्किङ् भिसा’मा वैदेशिक रोजगारीको लागि भन्दा पनि भिजिट भिसामा यूएई जाने नेपालीको संख्या ठूलो भएको छ ।  यूएईस्थित नेपाली दूतावासका अनुसार सन् २०२४ मा वर्किङ भिसा (श्रम भिसा)मा यूएईमा ४ लाख ७८ हजार नेपाली रहेका थिए । 

यीमध्ये आधा जस्तो सोही वर्ष पुगेका हुन् भने बाँकी अघिल्ला वर्षहरुमा ।  तथ्याङ्कले वर्किङ भिसामा यूएई जानेभन्दा दुईगुणा बढी नेपाली भिजिट भिसामा यूएई पुगेको देखाउँछ ।  के यस्तो सन् २०२४ मात्र भएको हो ? अघिल्ला वर्षहरुको तथ्याङ्कले के भन्छ ? 

अध्यागमन विभागको तथ्याङ्कअनुसार सन् २०२३ मा २ लाख ४ हजार ५१८ जना नेपाली भिजिट भिसामा विदेश गएका थिए ।  सन् २०२३ को तुलनामा २०२४ मा ६९ हजार ९१० जना बढी नेपाली भिजिट भिसामा काठमाडौंबाट विदेश गएको देखिन्छ । 

सन् २०२३ को तुलनामा २०२४ मा काठमाडौंबाट भिजिट भिसामा यूएई जाने नेपालीको संख्या झन्डै दुई गुणाले वृद्धि भएको छ ।  सन् २०२३ मा ५५ हजार ६१८ जना नेपाली भिजिट भिसामा यूएई गएका थिए ।  अघिल्लो वर्षको तुलनामा सन् २०२४ मा ४४ हजार २६८ जना बढी नेपाली भिजिट भिसामा यूएई गएको विभागको तथ्याङ्कले देखाउँछ । 

सन् २०२३ मा पनि काठमाडौंबाट भिजिट भिसामा यूएई उड्ने र भिजिट भिसामा यूएई पुग्ने नेपालीको संख्यामा ठूलो अन्तर थियो ।  सन् २०२३ मा त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट भिजिट भिसामा दुई लाख चार हजार ५१८ जना विभिन्न देश गएका थिए । 

यीमध्ये ५५ हजार ६१८ जना यूएई जान भनि उडेका थिए ।  यूएई सरकारले अबुधाबिस्थित नेपाली दूतावासलाई दिएको जानकारीअनुसार सन् २०२३ मा एक लाख ७५ हजार नेपाली भिजिट भिसामा यूएई पुगेका थिए । 

सन् २०२३ मा नेपालबाट यूएई जान भनी भिजिट भिसामा उडेका भन्दा यूएईमा भिजिट भिसामा पुग्ने नेपालीको संख्या एक लाख १९ हजार ३८२ ले बढी रहेको थियो ।  अध्यागमन विभागका अनुसार सन् २०२२ मा भिजिट भिसामा विभिन्न देश जाने नेपालीको संख्या १ लाख ७७ हजार ३१० थियो । 

तर उक्त वर्ष भिजिट भिसामा २ लाख ५५ हजार नेपाली यूएई पुगेका थिए ।  उक्त वर्ष त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट भिजिट भिसामा जति नेपाली विदेश गएका थिए त्यो संख्याभन्दा बढी भिजिट भिसामा यूएई पुग्नेको थियो । 
विभिन्न कारणले गर्दा पछिल्ला वर्षहरुमा भिजिट भिसामा यूएई जानेको संख्या ह्वात्तै बढेको देखिन्छ ।  अध्यागमन बिभागको तथ्याङ्क अनुसार सन् २०२० को अगष्टदेखि डिसेम्बरसम्म त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट भिजिट भिसामा यूएई जानेको संख्या मात्र ७ हजार ७४९ रहेको थियो । 

सन् २०२१ मा आउँदा काठमाडौंबाट भिजिट भिसामा यूएई जानेको संख्या बढेर ७२ हजार ९४ पुगेको थियो ।  मानवतस्करहरुले केही नेपालीलाई विभिन्न प्रलोभन देखाई भिजिट भिसामा यूएई पुर्याउने गरेका छन् । 

कसैलाई अमेरिका पुर्‍याउने र कसैलाई युरोपका विभिन्न देश, पछिल्लो समय रुसी सेनामा भर्ती गराउने प्रलोभन देखाई नेपालीलाई भिजिट भिसामा यूएई पुर्‍याउने गरेको पाइन्छ ।  पछिल्लो समय मानव तस्करले भिजिट भिसामा नेपालीलाई थाइल्यान्ड, म्यानमार, लाओस, कम्बोडियामा अवैध धन्दामा लगाउने गरेको समेत पाइएको छ । 

खाडी राष्ट्रहरुमा घरेलु कामदारको रुपमा नेपाली महिलालाई पठाउन सरकारले रोक लगाएको छ ।  तर मानव तस्करहरुले ठूलो संख्यामा नेपाली महिलालाई भिजिट भिसामा खाडी राष्ट्र पुर्‍याइ घरेलु कामदार बनाउने गरेका छन् ।  
 

प्रकाशित मिति: शुक्रबार, जेठ ९, २०८२  २०:२४
प्रतिक्रिया दिनुहोस्