
काठमाडौं । अमेरिकामा राष्ट्रपति डोनाल्ड ट्रम्प प्रशासनले अमेरिकाको सबैभन्दा पुरानो विश्वविद्यालय हार्वर्डसँगको द्वन्द्व थप बढाएको छ । ट्रम्प प्रशासनले हार्वर्डलाई अन्तर्राष्ट्रिय विद्यार्थी भर्ना गर्न नदिने कदम चालेको बीबीसीले जनाएको छ ।
अमेरिकी गृह सुरक्षामन्त्री क्रिस्टी नोएमले एक्समा पोष्ट गर्दै प्रशासनले हार्वर्डले विद्यमान कानुन पालना गर्न असफल भएको बताएकी छन् । उनले विश्वविद्यालयको विद्यार्थी भर्ना र एक्सचेन्ज भिजिटर कार्यक्रम प्रमाणीकरण रद्द गरेको बताएकी छिन् ।
“यो देशभरिका सबै विश्वविद्यालय र शैक्षिक संस्थानहरूका लागि चेतावनी होस्,” उनले बिहीबार पोष्टमा लेखेकी छिन् ।
हार्वर्डले यो कदमलाई गैरकानुनी भनेको छ । “हामी १४० भन्दा बढी देशबाट आएका हाम्रा अन्तर्राष्ट्रिय विद्यार्थी र विद्वानहरूलाई आतिथ्य गर्ने क्षमता (अधिकार) कायम राख्न पूर्ण रूपमा प्रतिबद्ध छौँ,” विश्वविद्यालयले विज्ञप्तिमार्फत जवाफ दिएको छ, “जसले यो विश्वविद्यालय र यो राष्ट्रलाई अतुलनीय रूपमा समृद्ध बनाउँन योगदान दिन्छ ।”
ट्रम्प प्रशासनको निर्णयले यो विश्वविद्यालयमा पढ्ने हजारौँ अन्तर्राष्ट्रिय विद्यार्थीलाई प्रभावित गर्नसक्ने बताइएको छ ।
“हामी हाम्रो समुदायका सदस्यहरूलाई मार्गदर्शन र समर्थन प्रदान गर्न छिटो काम गरिरहेका छौँ । यो प्रतिशोधात्मक कार्यले हार्वर्ड समुदाय र हाम्रो देशलाई गम्भीर क्षति पुर्याउने चेतावनी दिएको छ,” हार्वडले भनेको छ, “हार्वर्डको शैक्षिक र अनुसन्धान मिसनलाई कमजोर बनाएको छ ।”
विश्वविद्यालयको तथ्यांकअनुसार गत शैक्षिक वर्षमा यो विश्वविद्यालयमा ६ हजार ७०० भन्दा बढी अन्तर्राष्ट्रिय विद्यार्थी भर्ना भएका थिए । यो कुल विद्यार्थी संख्याको २७ प्रतिशत थियो ।
ह्वाइट हाउसले हार्वर्डलाई विश्वविद्यालयमा यहूदीविरोधी भावना कम गर्न भर्ना र शिक्षण तरिकाहरूमा परिवर्तन गर्न माग गरेको छ । यसले विश्वविद्यालयको करमुक्त अवस्था रद्द गर्न र सरकारी अनुदानको अरबौँ डलर रकम फ्रिज गर्ने धम्की दिएको छ ।
हार्वर्डले यस वर्षको सुरुमा यहूदीविरोधी भावनालाई सम्बोधन गर्न धेरै कदमहरू चालेको तर सरकारको माग विश्वविद्यालयको बौद्धिक अवस्था नियमन गर्ने प्रयास भएको टिप्पणी गरेको थियो ।
गत अप्रिलमा नोएमले विश्वविद्यालयलाई अन्तर्राष्ट्रिय विद्यार्थीसँग सम्बन्धित प्रशासनको विस्तृत रेकर्ड उपलब्ध गराउने माग पूरा नगरेमा विद्यार्थी भिसा कार्यक्रमहरूमा पहुँच रद्द गर्न धम्की दिएकी थिइन् ।
बिहीबार पठाएको पत्रमा नोएमले हार्वर्डले अन्तर्राष्ट्रिय विद्यार्थी भर्ना गर्ने अवस्था फिर्ता पाउने अवसर प्राप्त गर्न हो भने विश्वविद्यालयले विभिन्न मागहरूको सूची पूरा गर्नुपर्ने बताएकी छिन् ।
यसमा गत पाँच वर्षमा हार्वर्डमा भर्ना भएका गैरआप्रवासी विद्यार्थीका सबै अनुशासन सम्बन्धी रेकर्डहरू उपलब्ध गराउनुपर्ने माग पनि समावेश छ ।
नोएमले हार्वर्डलाई क्याम्पसमा गैरआप्रवासी विद्यार्थीको गैरकानुनी र खतरनाक वा हिंसात्मक गतिविधिहरूको इलेक्ट्रोनिक रेकर्ड, भिडियो वा अडियोहरू पनि उपलब्ध गराउन माग गरेकी छिन् ।
सूचनामा हार्वर्डलाई ७२ घण्टाभित्र ती मागहरू पूरा गर्न भनिएको छ ।
यसैबीच, बिहीबारको एउटा फरक अदालती मुद्दामा क्यालिफोर्नियाका एक संघीय न्यायाधीशले ट्रम्प प्रशासनलाई सम्पूर्ण अमेरिकामा अन्तर्राष्ट्रिय विद्यार्थीको कानुनी स्ट्याटस रद्द गर्नबाट रोकेका छन् । बीबीसी