
काठमाडौं । इजरायल–इरानबीचको द्वन्द्व नवौँ दिनमा पुगेको छ । यसबीचमा महत्त्वपूर्ण सैन्य र कूटनीतिक घटनाक्रम पनि तीव्र भएको बीबीसीले जनाएको छ ।
इजरायली सेनाले मध्य इरानको इस्फहानस्थित आणविक केन्द्रमा आक्रमण गरेको छ । त्यो मिसाइल भण्डारण र प्रक्षेपण पूर्वाधारका रूपमा थियो ।
इजरायली रक्षा बल (आईडीएफ)ले रातभर धेरै इरानी ड्रोन र मिसाइललाई रोकेको जनाएको छ । यसले इरानको कडा प्रत्याक्रमणलाई संकेत गर्छ ।
इरानले इजरायलतर्फ ३५ मिसाइल र पाँच ब्यालिस्टिक क्षेप्यास्त्र प्रक्षेपण गरेको पनि जनाइएको छ ।
इजरायलले आफ्नो हवाई कारबाहीका कारण इरानको आणविक कार्यक्रमलाई दुई वर्ष पछि पार्न सफल भएको दाबी गरेको छ ।
यसैबीच, इजरायली आक्रमणमा इरानी सशस्त्र समूहसँग समन्वय गर्ने आईआरजीसी कुर्द्स फोर्सको प्यालेस्टाइन कोरका वरिष्ठ कमान्डर मोहम्मद सईद इजादीको मृत्यु भएको छ । आईडीएफले यो आक्रमणलाई लामो गुप्तचर ‘अपरेसन’को परिणामका रूपमा व्याख्या गरेको छ ।
यता, इरानका वरिष्ठ राजनीतिक व्यक्तित्व एवं सर्वोच्च नेता अयातोल्लाह अली खामेनीका सल्लाहकार अली शमखानी जुन १३ मा तेहरानमा गरिएको इजरायली आक्रमणमा बाँच्न सफल भएका जनाइएको छ । सुरुमा उनको मृत्युको खबर सार्वजनिक भएको थियो । इरानी सरकारी मिडिया आईआरएनएले शमखानी स्थिर अवस्थामा स्वास्थ्यलाभ गरिरहेका पुष्टि गरेको छ ।
कूटनीतिक रूपमा इरानी विदेशमन्त्री अब्बास अराघचीले वार्ताका निम्ति खुला रहेको संकेत गरेका छन् । उनले यसअघि त्यसनिम्ति आक्रमण बन्द गर्नुपर्ने अडान राखेका थिए ।
जेनेभामा युरोपेली प्रतिनिधिसँगको भेटपछि अराघची अरब र मुस्लिम नेतासँग इजरायलको कारबाहीबारे छलफल गर्न हाल इस्तानबुल पुगेका छन् ।