
काठमाडौं । वीरगञ्ज युनाइटेडले सहिद स्मारक ‘बी’ डिजिजन लिगको अन्तिम खेलमा ३–१ को जित निकालेको छ ।
बिहीबार सातदोबाटोस्थित एन्फा मुख्यालयमा सम्पन्न खेलको पहिलो हाफमा ब्रिगेडले अग्रता लिए पनि जोगाउन सकेन ।
खेलको २०औँ मिनेटमा रोमन श्रेष्ठले ब्रिगेडलाई अग्रता दिलाएका थिए । तर रोमनले दिलाएको यो अग्रता ब्रिगेडले लामो समय जोगााउन सकेन । वीरगञ्जले पाँच मिनेटको अन्तरालमा खेलमा पुनरागमन गर्यो । २५औँ मिनेटमा कृपकान्त महतो थारुले गोल गर्दै वीरगञ्जलाई खेलमा फर्काए ।
दोस्रो हाफमा वीरगञ्जले थप दुई गोलको अग्रता बनायो । खेलको ६१औँ मिनेटमा टोलीका सागर बन्था थारुले गोल गर्दै टोलीलाई २–१ को अवस्थामा राखे । ७८औँ मिनेटमा अमर डंगोलले एक गोल थपे ।
जितसँगै वीरगञ्जले लिगको चौथो स्थानमा रही लिग टुंग्याएको छ । जितबाट चौथो स्थानमा उक्लिएको वीरगञ्जले १३ खेलमा २० अंक बनाएको छ । वीरगञ्जले पाँच जित, पाँच बराबरी र तीन हारबाट २० अंक जोडेको हो ।
लिग चरणमा वीरगञ्जले श्री कुमारीविरुद्ध २–०, बाँसबारी क्लबविरुद्ध २–१, नयाँबस्ती युथ क्लबविरुद्ध १–०, श्री टुसाल युवा क्लबविरुद्ध ४–१, मध्यपुर युथ एसोसियसनविरुद्ध १–० र ब्रिगेडसँग १–३ को जित निकालेको हो ।
हार व्यहोरेको ब्रिगेडले भने १५ अंकका साथ लिग टुंग्याएको छ । ब्रिगेडले १३ खेलमा चार जित, तीन बराबरी र ६ हारसहित १५ अंक जोडेको हो ।
लिग चरणमा ब्रिगेडले श्री कुमारी क्लबविरुद्ध २–१, श्री टुसाल युवा क्लबविरुद्ध १–०, मध्यपुर युथ एसोसियसनविरुद्ध १–० र च्यासल युथ क्लबविरुद्ध ४–१ को जित निकालेको हो ।