
काठमाडौं । जापानका कृषिमन्त्री ताकु इटोले चामलमा भइरहेको मूल्यवृद्धिको प्रसंगमा एउटा ठट्टा गर्दा आफ्नो पद नै गुमाएका छन् ।
जापानले धेरै दशकयता पहिलोपटक धेरै महँगीको सामना गरिरहेको छ । यसले मुख्य खाद्यान्न चामललाई प्रभावित गरेको छ । गत वर्ष चामलको मूल्य दोब्बरभन्दा धेरैले बढेको छ ।
कृषिमन्त्री ताकु इटोले आइतबार स्थानीय ‘फन्डरेजिङ’ कार्यक्रममा बोल्दै भनेका थिए, “मलाई कहिल्यै चामल किन्नुपर्दैन किनभने भने मलाई मेरा समर्थकले उपहारमा धेरै चामल दिन्छन् ।”
यो उनले ठट्टा गर्दै भनेका थिए । तर मन्त्री ताकु इटोको यो ठट्टाले हाँसो होइन, उल्टो आक्रोश पैदा ग¥यो र उनी पदबाटै राजीनामा दिन बाध्य भए ।
इटोले आफूले सीमा नाघेकोमा माफी मागेका थिए । विपक्षी दलहरूले अविश्वास प्रस्ताव ल्याउने धम्की दिएपछि उनले राजीनामा दिएका हुन् ।
उनको राजीनामाले अल्पमत सरकारका प्रधानमन्त्री शिगेरु इशिबालाई नयाँ झट्का दिएको छ । उनको सरकारप्रति यसअघि नै जनताको समर्थन घटिरहेको बताइएको छ ।
जापानमा चामल संवेदनशील मुद्दा हो । यसको अभावले यसअघि पनि राजनीतिक उथलपुथल ल्याएको थियो । सन् १९१८ मा चामलको बढ्दो मूल्यका कारण भड्किएको दंगाले सरकार नै ढालेको थियो ।
अहिले पनि चामलको मूल्यवृद्धिका कारण नै इशिबाको लोकप्रियतामा गिरावट ल्याउन भूमिका खेलेकोमा दुईमत छैन ।
“राजनीतिज्ञहरू सामान किन्न सुपरमार्केट जाँदैनन्, त्यसैले उनीहरूले बुझ्दैनन्,” बीबीसीसँग कुरा गर्दै ३१ वर्षीया मेमोरी हिगुचीले भनिन् ।
हिगुची सात महिनाकी एक नवजात शिशुकी आमा हुन् । प्रसूतिपछिको स्वास्थ्यलाई मद्दत गर्ने राम्रो खाना उनको लागि महत्त्वपूर्ण छ । उनकी छोरी चाँडै नै ठोस खाना खान थाल्ने हुँदै छिन् ।
“म उनलाई राम्रो खुवाउन चाहन्छु, त्यसैले यदि मूल्य बढ्दै गयो भने, हामीले आफैँले खाने चामलको मात्रा घटाउनुपर्छ,” उनले भनिन् ।