site stats
बाह्रखरी :: Baahrakhari
खेल
दिल्लीलाई हराउँदै मुम्बई अन्तिम चारमा, यी हुन् प्लेअफ पुग्ने टिम

काठमाडौं । इन्डियन प्रिमियर लिग (आईपीएल)मा मुम्बई इन्डियन्स प्लेअफमा पुग्ने चौथो टोली बनेको छ । बुधबार राति भएको खेलमा दिल्ली क्यापिटल्सविरुद्ध ५९ रनको जित निकालेसँगै मुम्बईले प्लेअफमा स्थान सुनिश्चित गरेको हो ।

जितसँगै १३ खेलबाट १६ अंक जोडेको मुम्बई तालिकाको चौथो स्थानमा छ । यता, यो हारसँगै दिल्लीको भने प्लेअफ सम्भावना समाप्त भएको छ । प्लेअफ यात्रा कायम राख्न दिल्लीलाई मुम्बईविरुद्ध जित्नैपर्ने दबाब थियो । हारसँगै पाँचौँ स्थानको दिल्लीले १३ खेलबाट १३ अंक जोडेको छ ।

खेलमा मुम्बईले प्रस्तुत गरेको १८१ रनको लक्ष्य पछ्याउने क्रमा दिल्लीले १८.२ ओभरमा सबै विकेट गुमाएर १२१ रनको योगफल खडा गरेको थियो ।

दिल्लीको शीर्ष क्रम सस्तैमा पभेलियन फर्किंदा समीर रिज्भीले सर्वाधिक ३९ रन बनाए । यस्तै, भिपराज निगले २०, आशुतोष शर्माले १८ र केएल राहुलले ११ रन थपे । यसबाहेक, दिल्लीका अन्य ब्याटर दोहोरो अंकसम्म पुग्न सकेनन् । 

दिल्लीलाई सस्तैमा समेट्न मिचेल स्यान्टनर र जसप्रित बुमराहले समान तीन विकेट लिए । ट्रेन्ट बोल्ट, दीपक चहर, विल ज्याक र कर्ण शर्माले समान एक विकेट लिए । 

त्यसअघि वान्खडेमा टस हारेर ब्याटिङमा आएको मुम्बईले निर्धारित २० ओभरमा पाँच विकेट गुमाएर १८० रनको योगफल खडा गरेको थियो ।

मुम्बईका सूर्यकुमार यादवले अविजित ७३ रन बनाए । उनले ४३ बलमा सात चौका र चार छक्का प्रहार गरे । यस्तै, तिलक बर्माले २७, ¥यान रिकेलटनले २५, नमन धिरले २४ र विल ज्याकले २१ रन थपे ।

दिल्लीका मुकेश कुमारले दुई विकेट लिए । दुस्मन्था चमिरा, मुस्ताफिजुर रहमान र कुलदीप यादवले समान एक विकेट लिए ।

यो नतिजासँगै आईपीएल–२०२५ को शीर्ष चारमा रहँदै प्लेअफ पुग्ने सबै टोलीको टुंगो लागेको छ । प्रतियोगिताबाट शीर्ष स्थानको गुजरात, दोस्रो स्थानको रोयल च्यालेन्जर्स बेंगलुरु र तेस्रो स्थानको पञ्जाव किंग्सले यसअघि नै प्लेअफ यात्रा तय गरिसकेका थिए ।
 

प्रकाशित मिति: बिहीबार, जेठ ८, २०८२  ०९:४१
प्रतिक्रिया दिनुहोस्