
काठमाडौं । सूर्य नेपाल गल्फ टुर २०२४–२५ अन्तर्गतको सातौँ प्रतियोगिता सूर्य नेपाल च्यालेन्जको दोस्रो दिन पूर्वनम्बर एक गल्फर शुक्रबहादुर राई शीर्ष स्थानमा रहेका छन् । समग्रमा ६–अन्डर १३० को स्कोरमा उनले दिनेश प्रजापतिलाई एक स्ट्रोकले पछि पारेका छन् ।
बुधबार शुक्रले १–ओभर ६९ को स्कोर गरे । समग्रमा ५–अन्डर १३१ को स्कोरमा दिनेश प्रजापति दोस्रो स्थानमा उक्लिएका छन् । उनले १–अन्डर ६७ को कार्ड बनाए । भेट्रान प्रो रामे मगर र पहिलो दिनका संयुक्त लिडर भुवनकुमार रोक्का समग्रमा ३–अन्डर १३३ को स्कोरमा तेस्रो स्थानमा छन् । रामेले १–अन्डर ६७ को स्कोर दर्ज गरे ।
भुवनले खराब प्रदर्शन गर्दै ४–अन्डर ७२ मा दोस्रो दिनको खेल सकाए । समग्रमा १–अन्डर १३५ को स्कोरमा सञ्जय लामा, नीरज तामाङ र प्रदीपकुमार लामाले पाँचौँ स्थान बाँडे । सञ्जयले २–अन्डर ६६ स्कोर गर्दा नीरज र प्रदीपले इभन–पार ६८ को स्कोर बनाए ।
यस्तै, समग्रमा १–ओभर १३७ को स्कोरमा तोरणविक्रम शाही, वसन्तराज गुरूङ र साविक विजेता रवि खड्का संयुक्त रूपमा आठौँ स्थानमा रहे । तोरणले १–अन्डर ६७ स्कोर गर्दा वसन्तले इभन–पार ६८ र रविले २–ओभर ७० स्कोर गरे ।
पहिलो दिन ७–अन्डर खेलेका शुक्रले आज सो लयलाई निरन्तरता दिन सकेनन् । पहिलो होलको बर्डीका विरूद्ध नवौँ होलको बोगीले फ्रन्टनाइन इभन–पार ३४ मा सकाए । यसपछि १३औँ होलमा एक सट बचाए पनि १५औँ र १८औँ होलमा बोगीको सामना गरे । ब्याक नाइन १–ओभर ३५ मा पूरा गरे ।
दिनेशले तेस्रो होलमा एक सट खेर फाले । छैटौँ होलको बर्डीले फ्रन्टनाइन इभन–पार ३४ खेले । यसपछि १०औँ र १३औँ होलमा बर्डी प्रहार गरे । अन्तिम होलको बोगीले ब्याक नाइन १–अन्डर ३३ मा सकाए । रामे मगरले नवौँ होलको बोगीले फ्रन्ट नाइनमा १–ओभर ३५ को स्कोर गरे । १०औँ र १५औँ होलमा बर्डीको सफलता प्राप्त गरे । उनले ब्याकनाइनमा २–अन्डर ३२ को नतिजा निकाले ।
पहिलो दिनका लिडर भुवनले खराब प्रदर्शन गर्दा तेस्रो स्थानमा झरे । उनले फ्रन्ट नाइन र ब्याक नाइन दुवै २–ओभर ३६ मा पूरा गरे । उनले छैटौँ नवौँ, १४औँ र १८औँ होलमा बोगी प्रहार गरे ।
एमेच्योरतर्फ राहुल विश्वकर्मा समग्रमा १–ओभर १३७ को स्कोरमा शीर्षस्थानमा रहेका छन् । उनले आज १–ओभर ६९ को स्कोर जोड्दै निश्चयजंग रायमाझीलाई एक स्ट्रोकले पछि पारेका छन् । निश्चयले १–ओभर ६९ स्कोर गर्दे समग्रमा २–ओभर १३८ स्कोर बनाएका छन् ।
३६ होलको समाप्तिमा ९–ओभर १४५ सम्म स्कोर गरेका २३ प्रोफेसनल र दुई एमेच्योर गरी २५ गल्फरले कट बनाएका छन् । प्रोफेसनलतर्फ जयराम श्रेष्ठ, भुवन नगरकोटी, रामकृष्ण श्रेष्ठ, राजेन्द्र श्रेष्ठ प्रधान, रमेश अधिकारी, दीपक मगर, धनबहादुर थापा, सुनिल केसी, टंकबहादुर कार्की, किशन कालीराज सुनार, शिवराम पौडेल, राजेन राई र सुमन परियारले कट बनाएका छन् ।
७२ होलको चारदिने प्रतियोगितामा ३६ प्रोफेसनल र ११ एमेच्योर गरी कुल ४७ खेलाडीको सहभागिता रहेको छ । प्रतियोगिताको कुल पुरस्कार राशी ६ लाख रुपैयाँ रहेको छ । विजेताले एक लाख १० हजार रुपैयाँ प्राप्त गर्नेछन् । दोस्रो र तेस्रो हुनेले क्रमशः ७० हजार र ५० हजार हात पार्नेछन् । साथै, शीर्ष २१ भित्र पर्ने प्रोफेसनल गल्फरहरूले पनि नगद प्राप्त गर्नेछन् । चार दिनको मुख्य स्पर्धापश्चात् शनिबार प्रो–एम प्रतिस्पर्धा हुनेछ ।