
विराटनगर । मोरङको सुन्दरहरैँचा नगरपालिकाले उत्कृष्ट दम्पतीलाई ‘ढुकुर जोडी’ सम्मान कार्यक्रम अघि सारेको छ । नगरपालिकाले बुधबार सूचना प्रकाशन गरी कार्यक्रममा सहभागी हुन नगर क्षेत्रका दम्पतीलाई आह्वान गरेको छ ।
ढुकुर चरालाई प्रेमको प्रतीक मानिने भएकोले त्यही चराको जोडीलाई सम्झाउने दम्पती छनोट गर्न कार्यक्रम अघि सारिएको मेयर केदारप्रसाद गुरागाईंले बताए । उनले भने, “प्रेम, पारिवारिक सम्बन्ध र आपसी समझदारी कायम गरेका दम्पतीलाई प्रोत्साहन गर्ने उद्देश्यले कार्यक्रम ल्याएका हौँ ।” सुन्दरहरैँचामा १२ वटा वडाबाट उत्कृष्ट हुने ढुकुर जोडीको तस्बिर वडा कार्यालयमा एक वर्षसम्म राखिने गुरागाईंले बताए ।
ढुकुर जोडी छनोटका लागि नगरपालिकाले मापदण्ड बनाएको छ । मापदण्डमा पर्नेहरूले आवेदन दिनसक्ने सूचनामा उल्लेख छ । विवाह गरेको १० वर्ष पूरा भएका नेपाली नागरिकले आवेदन दिन सक्ने छन् ।
विवाह दर्ता, स्थायी बासिन्दा, छोराछोरीका जन्मदर्ता, उमेर पुगेको भए छोराछोरीको नागरिकता बनाएको, बुवा–आमा वा सासू–ससुरासँग बसेको हुनुपर्ने, उनीहरूलाई राम्रो हेरचाह गरेको हुनुपर्ने, अदालत, प्रहरी चौकी, न्यायिक समिति गायत निकायमा श्रीमान्–श्रीमतीको झगडा परी निवेदन दर्ता नगराएको हुनुपर्ने, नेपालमै बसेको र विवाह भएको १० वर्षमा वैदेशिक रोजगारमा दुई वर्षभन्दा बढी नबसेका दम्पतीले दरखास्त दिन सक्ने नगरपालिकाले जनाएको छ ।